+
+

ज्योति समूहमा कचिंगल : दाजुभाइको विज्ञप्ति युद्ध

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ भदौ २९ गते १८:५७

२९ भदौ, काठमाडौं । नेपालको प्रतिष्ठितमध्येको एक औद्योगिक-व्यापारिक घराना ज्योति समूह पारिवारिक किचलोमा फसेको छ ।

स्व. मणिहर्ष ज्योतिले खडा गरेको व्यापारिक समूह उनका दुई छोरा पद्म र रुप ज्योतिले चलाइरहेका छन् । आठ दशकदेखि निरन्तर फैलिएको यो व्यवसायिक साम्राज्य संस्थापकको निधन भएको २७ वर्षमा आन्तरिक विवादमा परेको छ ।

दाजु पद्म ज्योति र भाइ डा. रुप ज्योतिको असमझदारी अहिले विज्ञप्ति युद्धमा छ ।

भाइले सञ्चालन गरेको ग्राण्डी सिटी अस्पताल भवन खाली  गर्न दाजु पदम ज्योतिले २५ भदौमा सार्वजनिक सूचना निकालेका थिए । अस्पताल भवन खाली गर्न पटक-पटक सूचना दिंदा पनि अटेर गरेको पदम ज्योतिको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त अस्पताल सञ्चालनको सरकारबाट अनुमति पनि नलिइएको विज्ञप्तिमा उल्लेख थियो ।

त्यसको तीन दिनपछि डा. रुप ज्योतिले जारी गरेको विज्ञप्तिमा धेरै भाडा खाने लोभमा पद्म ज्योतिले अनर्गल प्रचार गरेको तथा अस्पतालको सेवा प्रभावित बनाएको आरोप लगाएका छन् । सोही दिन पत्रपत्रिकामा  सार्वजनिक अर्को विज्ञप्तिमा ज्योति समूहको अध्यक्षबाट पद्मलाई हटाएको भन्दै डा. रुपलाई बधाइ दिइएको छ । २७ वर्ष अध्यक्ष रहेकोमा पद्मलाई धन्यवाद समेत दिइएको छ ।

भाइको अस्पताल गैर-कानुनी भन्दै उजुरी

पद्म ज्योतिले २५ भदौमा निकालेको सार्वजनिक सूचनामा भाइ रुपले चलाएको ग्राण्डी सिटी हस्पिटल गैर-कानुनी भएको पाइएकोले आफू र छोराहरुले जिल्ला प्रशासन, स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयमा लिखित निवेदन दिएको उल्लेख छ ।

गैरकानुनी रुपमा अस्पताल सञ्चालन हुनुलाई आम जनताको स्वस्थ्यसंग जोडिएको गम्भीर विषय भन्दै सार्वजनिक सूचनामा अगाडि भनिएको छ- अस्पताल, सेवाग्राही, चिकित्साकर्मी र व्यवस्थापनमा संलग्न व्यक्तिहरुले अब सिर्जना हुनसक्ने परिणामबाट सचेत रहन सकुन भनेर सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

डा. रुप ज्योतिले दाजुलाई जवाफ दिँदै भदौ २८ गते आइतबार जारी गरेको सार्वजनिक सूचनामा ग्राण्डी सिटी अस्पतालले घर धनीले गरेको मान मर्दनको कानुनी उपचार खोज्ने बताएका छन् । अस्पतालको सेयर सदस्य स्याकार, जय स्पिनिङ र नेपाल जनरल मार्केटिङ कम्पनी रहेको र ती कम्पनीको सञ्चालक पदम आफै भएको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ- ‘आफै सञ्चालक भएको अस्पतालप्रति गरेको प्रचारबाजीप्रति अस्पताल खेद प्रकट खर्दछ ।’

सूचनामा पद्मको व्यक्तिगत समस्यालाई लिएर अस्पताललाई विवादमा ल्याइएको, पदमका छोराहरुले अस्पतालको ढोकामा फलामको पाता लगाको, प्लाइउड ठोकेर बन्द गरेको, कर्मचारी धम्क्याएको तथा अस्पतालमा पानीको वितरण  रोक्ने जस्ता अमानवीय हर्कत गरेको भनिएको छ ।

डा. ज्योतिले अस्पतालको तर्फबाट जारी गरेको सार्वजनिक सूचनामा पदमको घर भाडामा लिए बापत २०९१ सालसम्मका लागि भुक्तानी गरेको ४ करोड ३६ लाख पेश्की पचाउन अनर्गल प्रचार गरेको आरोप छ ।

जलविद्युत, अटोमोवाइल्स आयात तथा बिक्री, इन्जिनियरिङ लगायत १९ वटा व्यापारिक प्रतिष्ठानको अध्यक्ष रहेका पद्म निष्काशित भएको जनाईएको सूचनामा वैशाख १० र विभिन्न समयमा भएको ज्योति समूहको विशेष साधारण सभाले डा. रुप ज्योतिलाई अध्यक्ष नियुक्त गरेको उल्लेख छ ।

 

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?