
४ असोज, चितवन । चितवनमा आइतबार एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा घर भएकी एक महिला र चितवनका एक पुरुषको मृत्यु भएको हो ।
मेडिकल कलेजले दिएको जानकारी अनुसार उपचारको क्रममा हेटौंडा उपमहानगरपालिका-१० की १७ वर्षीया युवतीको मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि गत भदौ २२ गते उनी अस्पताल भर्ना भएकी थिइन् । भदौ २४ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि सघन उपचार कक्षमा राखेर उनको उपचार गरिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
यसअघि, आइतबार बिहान मात्रै साेही कलेजमा चितवनको कालिका नगरपालिका–५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । भदौ २६ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भई भर्ना भएका उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको मेडिकल कलेजले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उच्च रक्तचापको समस्या समेत रहेका उनलाई सघन कक्षमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको मेडिकल कलेजले जनाएको छ ।
चितवन मेडिकल कलेजमा हालसम्म १४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । जसमध्ये १८ जना चितवनका हुन् ।
प्रतिक्रिया 4