
१५ असोज, काठमाडौ । सरकारले मुख्य सचिवमा नियुक्त गरेको केही घन्टामा नै परराष्ट्र सचिव शंकरदास बैरागी परराष्ट्र मन्त्रालयबाट बिदा भएका छन् ।
मन्त्रालयमा आयोजित एक विशेष समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनलाई विदाइ गरेका हुन् । सो कार्यक्रममा मन्त्रालयका अन्य उच्च सरकारी अधिकारीहरुको उपस्थिति थियो । सन् २०१४ देखि २०१५ सम्म कार्यवाहक परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेका बैरागी सन् २०१५ मा सचिवमा नियुक्त भएका थिए ।
बैरागीको विदाइसँगै सिनियर सहसचिव एवं मन्त्रालयका प्रवक्ता भरत पौड्यालले कार्यवाहक परराष्ट्र सचिवको भूमिकामा रहने छन् । सरकारले वरियताक्रम मिचेन भने पौड्याल परराष्ट्र सचिव हुने पक्का रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
पौडेलपछि सेवा लम्साल र अमृत राई सिनियर सहसचिव हुन् । लम्साल भर्खरै पाकिस्तानको लागि राजदूतको कार्यभार सम्हालेर फर्केकी हुन् भने राई अहिले नेपालको स्थायी नियोग न्यूयोर्कमा राजदूत रहेका छन् । सचिवका लागि ३ जनाको सिफारिस हुने र मन्त्रिपरिषदले नियुक्त गर्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया 4