Comments Add Comment

क्वाड बैठकमा भाग लिन अमेरिकी विदेशमन्त्री जापानमा

तस्वीर : बीबीसी

२० असोज, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वाड बैठकमा भाग लिन जापान पुगेका छन् । अमेरिका, अष्ट्रेलिया, भारत र जापान बीच हुने यो बैठकमा चीनलाई कसरी रोक्ने भन्ने विषयमा छलफल हुने बीबीसीले उल्लेख गरेको छ । मंगलबार चारै मुलुकका विदेशमन्त्रीको बीचमा भेटवार्ताको कार्यक्रम पनि तय भएको छ । पछिल्लो समय चीनले आफ्नो प्रभाव निरन्तर विस्तार गरिरहेको कारण उसलाई रोक्न चार मुलुकहरु एक भएका हुन् ।

जापान प्रस्थान गर्नुअघि पोम्पेओले यो बैठक चार मुलुकले लामो समयदेखि गर्दै आएको कामको निरन्तरता रहेको बताएका थिए । पछिल्लो केही समययता चीन र अमेरिकाको सम्बन्ध निकै तनावपूर्ण बनेको छ । चीनसँगको सम्बन्ध कमजोर बनेसँगै अमेरिकाले आफ्ना क्षेत्रीय सहयोगी मुलुकसँगको सहकार्य बढाएको छ ।

क्वाडको स्थापना सन् २००७ मा फिलिपिन्सको मनिलामा गरिएको थियो । यो क्वाड स्थापनाको विषयमा त्यतिबेला चीनले आपत्ति जनाएपछि क्वाडको स्थापना कुनै विशेष मुलुकलाई लक्षित गर्न नभई रणनीतिक सहकार्यको लागि गरिएको क्वाडका सदस्य मुलुकहरुले बताएका थिए । त्यसपछि केही सुस्ताएको क्वाड पछिल्लो केही वर्षयता भने पुनः सक्रिय देखिएको छ ।

अहिले अमेरिका, भारत र अष्ट्रेलियाको चीनसँगको सम्बन्ध बिग्रिरहेको अवस्थामा क्वाडको बैठक बसेको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment