Comments Add Comment

कविता : स्वाभिमान (स्वागता छन्दमा )

दुःख कष्ट तनमा जति भोगुँ

छैन शान्ति मनमा कति खोजुँ ?

स्वावलम्बन कता छ इमान ?

राख्न दिन्नँ अब बन्धक शान ।

 

जिन्दगी कति चलोस् भर छैन ?

किन्न न्याय, नसके धर छैन

छैन लोभ मनमा किन झुक्नु

स्वाभिमान धन हो किन चुक्नु ?

 

बन्द ओठ नखुले अझ हेप्छन्

सास फेर्न नदिई अझ चेप्छन् ।

देख्छु दुख्छु सपना म नजाती

थप्छ चोट सरकार ममाथि ।

 

खेल्छ छर्छ भ्रम नाटक आज

उड्छ चालकविना कि जहाज ?

चल्छ घट्ट नहुँदा कि मदानी ?

हुन्छ दाइँ कि मियो नहुँदा नि ?

 

हात पाउ रहँदा बल टम्म

देशभित्र नसकी अझ जम्न ।

पोख्न बाध्य पसिना परदेश

बालवृद्ध जन छन् घरदेश ।

 

रोग शोक तनमा बल छैन

उठ्छ देश कसरी गल छैन ।

रुन्छ रात निदरी पर भाग्छ

देख्छु जीर्ण धरती भय जाग्छ ।

 

गर्न क्रान्ति म हिँडें अब साथी

चन्द्रसूर्य छ ध्वजा शिरमाथि ।

बोक्छु देश शिरमा म सजाई

आँट आज भरिदे तँ मलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment