+
+

‘छक्का पन्जा’ टिमबाट बाहिरिएका हुन् जितु ?

दिपक भन्छन्–‘टिम पुर्ननिर्माण हुन्छ’

विजय ‘आवाज विजय ‘आवाज
२०७७ कात्तिक १६ गते १७:२१

हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’बाट निर्देशक दीपाश्री निरौला बाहिरिइन् । दीपाश्रीले नायक राजेश हमालको बिषयमा दिएको एक अभिव्यक्तिपछि उत्पन्न विवादसँगै उनी शोबाट बारिएकी थिइन् । उनी शोबाट बाहिरिएपछि नायिका करिश्मा मानन्धर अध्यक्षको रुपमा शोमा भित्रिएकी छिन् ।

दीपाश्री जितुले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएसँगै चलचित्र बजारमा ‘छक्का पन्जा’ टिमबाट जितु नेपाल पनि बाहिरिएको चर्चा सुरु भएको छ ।

‘मुन्द्रेको कमेडी क्लब’ नै मुख्य कारण
उसो त, ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री बाहिरिनुको कारण संचालक जितु नेपालले विज्ञापनदाता र निर्माण कम्पनीलाई देखाएका थिए । जितुले केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै भनेका थिए–‘विवादपछि विज्ञापनदाताले समस्या उत्पन्न भएको बताएपछि निर्माण कम्पनीले यो बिषयमा कुरा गरेको थियो । दिपाजीले पनि यो कुरालाई सहर्ष स्विकार गर्नुभयो ।’

तर, जितुले विज्ञापनदाता र निर्माण कम्पनीको असन्तुष्टीका कारण दीपाश्री शोबाट बाहिरिएको बताएपनि ‘छक्का पन्जा’ टिमलाई भने उनकै कारण दीपाश्री बाहिरिएको भन्ने परेको छ । श्रोतले अनलाइनखबरसँग भन्यो–‘विज्ञापनदाता र निर्माण कम्पनीको भन्दा पनि जितु नै राजेश हमाल विवादपछि दीपाश्रीलाई राखेर शोमाथि जोखिम मोल्न नचाहेको भन्ने वुझाई ‘छक्का पन्जा’ टिमको छ । अहिले टिमबाट जितु अलग हुनुको कारणको सुरुवात पनि यही नै हो ।’

जितुको स्विकार
यो बिषयमा अनलाइनखबरसँग कुरा गर्दै जितुले भने–‘मैले पनि टिम टुटेको भन्ने खबर समाचार आएपछि मात्र थाहा पाएँ । तर, हाम्रो टिम टुटेको छैन । मेरो सबैसँग सम्बन्ध राम्रो छ । एउटा कुरा के हो भने, अहिले हाम्रो कम्यूनिकेशन टुटेको भने छ । दीपाश्री दिदीसँग मेरो च्याटमा कुरा हुन्छ । एक दुइवटा चलचित्रमा जितु नेपाल भएन भने पनि सम्बन्ध टुटेको भन्न मिल्दैन । हरेक चलचित्रमा म हुनैपर्छ भन्ने पनि छैन ।’

जितुले आफूले दीपाश्री नराख्ने भए कार्यक्रम नै चलाउँदिन भनेर अडान राख्न नसकेको स्विकार गरे । उनले भने–‘म खुलेर यो कुरा स्विकार गर्न सक्छु कि, मैले दीपा दिदीबिना कार्यक्रम चलाउँदिन भनेर कार्यक्रमको निर्माण कम्पनीसँग अडान नराखेकै हो । तर, मलाई टिमबाट निकालेको भन्ने कुरा दिपकराज गिरी दाइको मुखबाट नसुनेसम्म मलाई विश्वास लाग्दैन ।’

ठूलो बन्दै ‘छक्का पन्जा’ टिम
जितु नेपाल बाहिरिएको बिषयमा यो टिमका सदस्य दिपकराज गिरीले केही पनि बताएनन् । उनले भने–‘जितु नेपालको शो पूर्ननिर्माण हुन सक्छ भने, छक्का पन्जा टिम पनि पूर्ननिर्माण हुन सक्छ ।’

दिपकका अनुसार, यो टिममा शिवहरि पौडेल, विल्सन विक्रम राइको प्रवेश भएको छ । उसो त, यो टिमसँग केही चलचित्रमा शिवहरि र विल्सनले काम गरिसकेका छन् । किरण केसी, निर्मल शर्मा पनि यो टिमसँग मिलेर अगाडि बढ्ने तयारीमा छन् । यसरी हेर्दा, ‘छक्का पन्जा’ टिमलाई झनै बलियो र ठूलो बनाउने तयारी दिपकराज र दीपाश्रीको छ ।

जितु नेपाल र दिपकराज गिरीले यो बिषयमा खुलेरै कुरा गर्न नचाहेपनि ‘मुन्द्रेको कमेडी क्लब’पछि उत्पन्न विवादले दिपक–दीपा र जितु नेपालविच सम्बन्ध भने चिसिएको वुझ्न सकिन्छ । जितुले संचालन गर्दै आएको शो केदार घिमिरेले संचालन गरेको ‘आमा अग्नी कुमारी मिडिया’ नामक युटुब च्यानलबाट अपलोड हुँदै आएको थियो । तर, अहिले जितुले आफ्नै युटुब च्यानल संचालन गरेर शो अपलोड गर्न थालेका छन् ।

जितुले यो बिषयमा भने–‘मलाई कि एड्भरटाइजिङले युटुबको हकमा कि तपाई आफ्नै च्यानलबाट अपलोड गर्नुहोस् कि हामी अपलोड गर्छौ भनेपछि मैले आफ्नै च्यानल खोलेर अपलोड गर्न थालेको हुँ । मेरो र केदार घिमिरेविच पनि कुनै खालको सम्बन्ध विग्रिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?