+

ढाकामा नेपाली फुटबल टोलीको प्रशिक्षण सुरु

२०७७ कात्तिक  २३ गते १९:४७ २०७७ कात्तिक २३ गते १९:४७
ढाकामा नेपाली फुटबल टोलीको प्रशिक्षण सुरु

२२ कात्तिक, काठमाडौं । बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलका लागि हाल ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबारदेखि प्रशिक्षण सुरु गरेको छ । नेपाली खेलाडीले ढाका पुगेको तीन दिनपछि शेख धनमुण्डी क्लबको मदानमा आइतबारदेखि प्रशिक्षण सुरु गरेको हो ।

बंगलादेश पुगेर बिहीबार नेपाली टोलीको कोरोना परीक्षण गरिएको थियो र शनिबार २५ खेलाडी र ११ अफिसियल गरी २६ जनाको रिपोर्ट नेगेटिभ आएपछि नेपालले आइतबारदेखि प्रशिक्षण गर्न थालेको हो ।

नेपाली टोली मैत्रीपूर्ण खेलका लागि बिहीबार बंगलादेशको ढाका पुगेको थियो । बंगलादेश पुगेलगत्तै नेपाली टोलीका सबैको होटलमा स्वाब संकलन गरिएको थियो । शनिबार सबैको नेगेटिभ रिपोर्ट आएको हो ।

रिपोर्ट आउनुअघि होटल क्वारेन्टिनमा बसेका नेपाली टोली होटलमै हल्का स्ट्रेचिङ गरेको थियो ।

नेपालले यही नोभेम्बर १३ र १७ मा बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । गोलकिपर किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीमा केही सिनियर खेलाडी अनुपस्थित हुँदा ८ नयाँ खेलाडीले पहिलो पटक स्थान बनाएका छन् ।

बंगलादेश फुटबल फेडेरेसनले एन्फालाई मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेपछि राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय टिमलाई प्रशिक्षणको अनुमति दिएपछि नेपाली टोलीले केही समय दशरथ रंगशालमा प्रशिक्षण गरेको थियो । मुख्य परशिक्षक योहान कालिन हाल स्वीडेनमै रहेकोले यस पटक एन्फाले राष्ट्रिय टोलीको प्रशिक्षणको जिम्मा बालगोपाल महर्जनलाई दिएको छ । उनलाई किरण श्रेष्ठ सहायक र विकास मल्ले सहयोग गर्नेछन् ।

नेपालले पछिल्लो पटक सन् २०१८ मा साफ च्याम्पियनसिपमा बंगलादेशसँग खेलेपछि पहिलो पटक खेल्न लागेको हो । बंगलादेशमै भएको च्याम्पियनसिपमा नेपालले घरेलु टोलीलाई २-० ले पराजित गरेको थियो ।

नेपालले बंगलादेशसँग खेल्दा विश्वकप छनोट अन्तर्गतका खेल र फिफा वरीयतालाई ध्यानमा राख्नेछ । नेपालले गत नोभेम्बरमा भुटानको थिम्पुमा कुवेतसँग विश्वकप छनोटको खेल खेलेपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

नेपाली टिम :

अजित भण्डारी, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, विकास खवास, बिक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रंजित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।

ढाका फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय