+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
सन्दर्भ : भूपी जयन्ती :

कवि भूपीसँग नारायण गोपालले लिएको अन्तर्वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ११ गते ९:२९

नारायण गोपाल अध्ययनशील व्यक्ति भएको प्रमाण उनले लेखेका निबन्धहरूले दिन्छ । संगीत, साहित्य र कलामाथि लेखिएका नारायण गोपालका आधा दर्जन निबन्ध विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनै नारायण गोपालले सांगीतिक क्षेत्रलाई केन्द्रमा राखेर ३० को दशकमा सालमा ‘बागीना’ नामक पत्रिका प्रकाशन/सम्पादन गर्थे । जसमा संगीत-दर्शनदेखि सांगीतिक खुराक समावेश गरिएको हुन्थ्यो ।

उक्त पत्रिकाको ‘पूर्णाङ्क- १२’ मा नारायण गोपालले चर्चित कवि एवं आफ्ना अनन्य मित्र भूपी शेरचनसँग अन्तरवार्ता लिएका थिए । त्यतिबेला भूपी कविताका क्षेत्रमा निकै चर्चा कमाएर कलम बन्द गरेर बसेका थिए । त्यसै मेसोमा गीतकारसमेत रहेका भूपीसँग नारायण गोपालले अन्तरवार्ता लिएको देखिन्छ ।

अन्तरवार्तामा भूपीले नेपाली संगीतमा कालजयी अर्थ राख्ने आफ्ना धारणाहरू व्यक्त गरेका छन् । उनले नेपाली गीतको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् भने लोकगीतमा बढेको अश्लीलताको खण्डन गरेका छन् । सो अन्तरवार्ताबाट कवि भूपीसँग विश्व संगीतको गहन ज्ञान रहेको पुष्टि हुन्छ ।

भूपीलाई नारायण गोपालले दाइ भनेर बोलाउने गरेको बताउँछन् गीतकार नगेन्द्र थापा । उनका अनुसार नारायण गोपालले अन्तरजातीय विवाह गरेर पेमला लामालाई ल्याएपछि एक वर्षसम्म पोखरामा भूपीकै घरमा बसेका थिए । यसरी हेर्दा भूपी र नारायण गोपालबीच पारिवारिक घनिष्टतासहितको मित्रता कायम थियो भन्न सकिन्छ ।

भूपीको शब्दमा नारायण गोपालले आधा दर्जन गीत रेकर्ड गराएका छन् । तीमध्ये ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’ र ‘सानै हुरीमा बैंसको सपना’ चर्चित छ । यसो त भूपी शेरचनका ‘यो नेपाली शीर उचाली’जस्ता गीत र ‘हामी’, ‘मैनबत्तीको शिखा’, ‘यो हल्लैहल्लाको देश हो’जस्ता कविता पनि जनमानसमा लोकप्रिय छ ।

१९९२ पुष १२ गते मुस्ताङ थाकटुकुचेमा जन्मेका भूपी शेरचनको द्द०४६ जेठ १ गते काठमाडौंमा निधन भयो । प्रसिद्ध जनवादी कविको परिचय बनाएका कवि भूपी शेरचनसँग गायक नारायण गोपालले आफू पत्रकारका रुपमा लिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

कलाकारको प्रतिभा देश निमार्णका लागि कत्तिको उपयोगी हुन्छ ? अनि कलाकारको प्रतिभा ‘एक्सप्लोर’ र सदुपयोग गर्न कुन-कुन उपायहरू अपनाउन सकिन्छ ?

कलाबिना मुलुकको सर्वाङ्गीण विकास हुन सक्दैन । यसले श्ााश्वतको योगदान दिन्छ । जसको प्रतिभा छ, तिनीहरूलाई राज्यबाट सक्दो सुविधा र लघुताभास नहुने गरी जागिरको व्यवस्था तथा उनीहरूको देनअनुसार रोयल्टीको व्यवस्था हुनुपर्छ तथा कलाका क्षेत्रका कला मर्मज्ञलाई नै राख्नुपर्छ ।

अन्य मुलुकका कलाकारहरूको तुलनामा हाम्रा कलाकार प्रत्येक दृष्टिले पीडित छन् । उच्च पदमा आसिन सम्बन्धित व्यक्तिहरूको कलाकार र कलाप्रतिको उदासिनता, अज्ञानताले गर्दा अथवा यसरी भनौं, कतै उहाँहरूको हेय र सस्तो दृष्टीले यस्तो भएको हैन ?

प्रश्नको जवाफ प्रश्नभित्र नै छ । कलाकारसँग उत्साह र उमंग छ । तर, कलाकारलाई मात्र मनोरञ्जनको साधन मान्दछन् । अरू राष्ट्रले कलाकारलाई राष्ट्रिय सम्पत्ति मान्दछन् । तर, अझै पनि उहाँ उनीहरूलाई हेय दृष्टीले हेरिएको छ ।

कलाकारप्रति हाम्रा बुद्धिजीवीले कस्तो दृष्टिकोण लिएको पाउनुहुन्छ ?

हाम्रा बुद्धिजीविहरू आ-आफ्ना अहंको स-साना द्विपमा बसेको छन्, बाइसे, चौबिसे राज्यजस्तै । उनीहरूलाई जस्तै विदेशी चिज पनि उत्कृष्ट हुन्छ, जब कि नेपाली शब्दसँग जोडिएको कुनै पनि बौद्धिक र कलात्मक प्रयोग र उपलब्धीलाई सह्रानी गर्नु त कता हो कता, त्यसको अध्ययन गर्नु पनि आफ्नो बौद्धिकताको स्तर घटेको अनुभव गर्छन् ।

हाम्रो समाजका कलाकारको कुन स्थान छ र उनीहरूको स्थान यहाँको विचारमा कस्तो हुनुपर्ने हो ?

जहाँसम्म जनताको प्रश्न उठ्छ, उनीहरूका लागि अत्यन्तै दरिद्रपूर्ण जीवन बिताएका बेला पनि हाम्रो कलाले केहीछिन भए पनि बाँच्नुको सार्थकता बोध गराएको छ । यस सन्दर्भमा हाम्रा कलाकारहरूको नैतिक स्थान हाम्रो समाजमा राम्रो छ ।

तपाईं कवि र गीतकार दुवै हुनुहुन्छ । त्यसैले यदि गीत र कवितामा केही भिन्नता छन् भने प्रष्ट्याइदिनुहुन्छ कि !

मेरो विचारमा मूलतः गीत र कविता एउटै हो । तर, गीतको रसस्वादन रसिकहरूले बढी मात्रामा रूचाउने हुनाले गीतलाई कविताजस्तो अति जटिल र क्लिष्ट तरिकाले लेख्न सकिन्न र हुँदैन पनि ।

हिजोआज रेडियो नेपालबाट प्रसारित विशेष गरी लोकगीत सुन्दा अनि आधुनिक गीतको स्तर विचार गर्दा साथै काठमाडौंमा प्रदर्शित हुने लानेनाच हेर्दा कस्तो अनुभव हुन्छ ?

२००७ सालदेखि नेपाली संगीतको क्षेत्रमा जुन किसिमको ठूलो उत्साहको लहर आएको थियो अचेल रेडियो नेपालको गीत सुन्दा व्यक्तिगत रूपबाट केही कलात्मक व्यक्तिहरूको उपलब्धी भएको अनुभव गरेता पनि समग्ररूपमा हेर्दा गीतहरूमा ह्रासोन्मुख प्रवृत्ति नै देखिन्छ ।

विशेष गरी लोकगीतप्रति लोकगीतलाई नसुहाउँदा पश्चिमी वाद्यहरूको प्रयोग तथा लोकगीतसँग नितान्त अपरिचित गायकहरूले लोकगीत गाएर त्यसको भलो गर्नुको सट्टा कुभलो नै गरेका छन् । एउटा राम्रो गीत सुन्न पाइन्छ कि भने र दिनभरी रेडियो नेपाल खोल्दा असला माछा समात्न सकिन्छ कि भनेर तालको पानीमा बल्छी हाल्दा बल्छीमा असंख्य भ्यागुताहरू बल्छिन्छन् र लोकगीतको नाममा अत्यन्तै छाडा गीतहरू, विभिन्न जातिहरूको बीचमा साम्प्रदायिक आघात पुर्याउने शब्दहरू भएका गीतहरू मात्रै प्रसारण गरिन्छ ।

जहाँसम्म आधुनिक गीतको प्रश्न उठ्दछ- छोटो समयमा नै सीमित साधनहरूले हाम्रा आधुनिक संगीतकारहरूले निःसन्देह निकै प्रगति गरेका छन् । अचेल केही वर्षदेखि हिन्दी सिनेमाका लागू भइसकेका दर्शकमा नेपाली लोकनाचहरू, गीतिनाचहरू तथा नाटक इत्यादी हेर्ने अभिरूचि निकै बढेको छ ।

तर रेडियोबाट प्रसारित अधिकांश लोकगीत र प्रदर्शीत हुने प्रायः लोकनाचहरूमा शुद्धता, मौलिकताको नितान्त कमी छ । ती लोकगीत र लोकनाचमा हुनुपर्ने आत्मा मरेको हुन्छ ।

यहाँलाई कुन देशको संगीत मन पर्छ अनि त्यसको तुलनामा नेपाली संगीत कस्तो लाग्छ ?

संगीत एउटा यस्तो ठूलो देन हो कि कुनै पनि देशको संगीत मन पर्छ । विशेष गरी जर्मनीको र रूसको संगीत, अमेरिकाको ज्याज, भारतको शास्त्रीय संगीत र यी सबभन्दा अपरिमार्जित भएपनि मलाई एउटा नेपालीको हैसियतले आफ्नै नेपाली संगीत मन पर्छ ।

आफैंले लेखेको गीतहरूमा कुन बढी मन पर्छ ?

तपाईंले (नारायणगोपाल) संगीत भरी गाएको ‘सानै हुरीमा बैंसको सपना…।’

हिजोआजका गीतकारको रचना सुन्दा कस्तो लाग्छ ?

अचेल अक्षरमा त्रै लेख्न जान्ने र त्यसलाई तोडमोड गरेर गीत ललेख्न सक्ने गीतकारहरू डढेलोपछि च्याउ सल्केजस्तै छ्याछ्याप्ती संख्यामा देखिएका छन् । तर उत्तम गीतकारका रूपमा केही कवित्वपूर्ण व्यक्तित्वहरूको रचनाले गीतकार प्रतिको मेरो नैराश्यलाई आशामा परिणत गरिदिन्छन्न् ।

बा+गी+नाको कुन पक्षले यहाँलाई बढी आनन्दको अनुभूति दिन्छ ?

बा+गी+नाको तीन वटै पक्षले उत्तिकै आनन्दको अनुभूति दिन्छ ।

लोकगीत, शास्त्रीय गीत र आधुनिक गीतमा कुनचाहिँ बढी मन पराउनुहुन्छ ?

पहिले लोकगीत अनि शास्त्रीय र त्यसपछि आधुनिक गीत ।

यहाँलाई मनपर्ने संगीतकार, गीतकार, गायक-गायिका कोको हुन् ?

संगीतकारमा अम्बर गुरूङ, गीतकारमा माधव भिमिरे, गायकमा नारायणगोपाल र गायिकामा अरूणा र तारा मन पर्छ ।

तपाईंको विचारमा नेपाली आधुनिक संगीतको विकास कहाँबाट सुरु भएको हो ?

नेृपाली आधुनिक संगीतको थालनी दार्जीलिङका नेपाली कलाकारबाट भएको हो ।

(बागीना -बाजा, गीत, नाच) पूर्णाङ्क १२ बाट साभार/ तस्वीर : सामाजिक सञ्जालबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?