Comments Add Comment

नक्कली कागजातसहित चारजना पक्राउ

१७ पुस, जनकपुरधाम । जनकपुरधामबाट नक्कली कागजातसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत अररीया जिल्ला फारबिसगंज घर भइ विराटनगर महानगरपालिका १ बस्ने २७ वर्षीय समीर साह, महोत्तरीको भंगहा नगरपालिका-९ बस्ने २१ वर्षीय आदित्यकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय चन्दन साह र वडा नम्बर २ का ५० वर्षीय रामचन्द्र साह छन् ।

सरकारी कागज दस्तखत छाप कीर्ते गरी तयार पारिएको नक्कली कागजातसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-९ स्थित ससिटी प्यालेस गेष्ट हाउस एण्ड फेमिली रेष्टुरेन्ट एण्ड होटलमा बसेर उनीहरुले नक्कली कागजात तयार पार्ने गरेको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट विभिन्न बैंक तथा कार्यालयको १० थान स्ट्याम्प, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो लेखिएको प्रमाण पत्र एक थान, समीर साहको नाममा विभिन्न बैंकमा नगद जम्मा गरेको भौचर ४ थान, प्रभु बैंकको नगद जम्मा गर्ने खाली भौचर १ थान, नबिल बैंकको नगद जम्मा गर्ने भौचर १ थान बरामद भएको छ ।

यस्तै, नेपाल रेल्वे कम्पनी लिमिटेड जनकपुरधाम धनुषाको आवेदन फारम ३ थान, मेगा, सिद्धार्थ, गरिमा विकास र प्रभु बैंकको समीर साहको नामा रहेको चेकबुक, सुनिल राउतको नाममा जारी भएको सवारी चालक अनुमति पत्रको प्रतिलिपी १ थान, सीआईबीबाट अंकित रमन पासवानको नाममा जारी भएका बधाई लेटर १ थान, सादा कागजमा आदित्य साहको नाममा समीर साहले सही गरेको कागजको पाना १ थान, प्लाष्टिकको पेस्तोल ३ थान बरामद भएको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

होटलको १०६ नम्बर कोठामा समीर साह शंकास्पद रुपमा फेला परेपछि ती कोठाको खानतलासी गरिएको थियो । उक्त कोठाभित्र कपडा राख्ने सुटकेस व्याग हेर्दा ती सामग्रीहरु फेला परेको मिश्रले बताए ।

यी सामान बरामद भएपछि समीरसँग सोधपुछ गर्दा उनले आफूसहित ती व्यक्ति पनि यो कार्यमा संलग्न रहेको बताएपछि उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाविरुद्व अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment