Comments Add Comment

प्रचण्ड, माधव र रावलमाथि ओलीको घोचपेच

२४ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेममा विभाजित भएपछि राजधानी बाहिर पहिलो कार्यक्रमका रुपमा धनगढीलाई रोजे ।

नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको आमसभामा सहभागी धनगढी पुगेका उनले करिब ४५ मिनेट सम्बोधन गरे । सुदूरपश्चिमको दुःख पीडाबारे मलाई थाहा छ भन्दै सम्बोधन सुरु गरेका उनले विकास निर्माण र सरकारका कामकारबाहीको लामै फेहरिस्ता सुनाए ।

सम्बोधनका क्रममा पार्टीभित्र देखिएको विवादमा प्रवेश गरेका उनले तीन नेतामाथि निशाना साँधे । प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै उनले भीम रावलमाथि समेत खरो टिप्पणि गरे ।

रावलमाथि आरोपको वर्षा

‘अछामको एउटा केटो म जेलमा बस्दा बस्दै बाटोमा हिँड्दै गर्दा ल्याएको थियो । मैले राजनीति गर्न सिकाए’ रावललाई सङ्केत गर्दै ओलीले भने, ‘अहिले त कुरा साना तिना छैनन् । ‘नानी भन्दा नाना ठुलो, मान्छे भन्दा कुरा ठुलो ।’

उनले रावललाई विकास विरोधीको संज्ञा दिए । ‘यस प्रदेशका विकासको समस्या हुन् ती मान्छे । अब त्यो समस्या समाधान भएको छ’ आफ्नो समूहका अध्यक्ष समेत रहेका कामचलाउ सरकारका प्राधनमन्त्री ओलीले भनेका छन् ।

पदको लागि मरिहत्ते गर्ने र नक्कली राष्ट्रवादीको आरोप समेत प्रधानमन्त्री ओलीले लगाए । ‘मैले मन्त्री बनाएको बेला केपी ओली ठीक थियो भन्ने अरू बेला विरोध गर्ने ? मैले एक जनालाई सँधै मन्त्री बनाउन मानिन, आज सुदूरपश्चिम प्रदेशले केन्द्रमा ४ जना मन्त्री पाएको छ । सायद यो पहिलो पटक हो’ ओलीले भने, ‘मन्त्री पाउँदा उहाँ खुसी हुनुपर्ने तर, दुखी हुनुहुन्छ ।’

रावलले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन फाँड्ने योजना बनाएको समेत उनको आरोप छ ।

माधव नेपाललाई आफूले राजनीतिमा लगाएको दाबी

ओलीले प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालप्रति पनि कटाक्ष गरे । ‘०२९ सालमा महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गरेको भेटेर राजनीतिमा लाग्न उत्साहित गरेपछि उहाँ ०३२ सालदेखि लाग्नुभयो’ प्रधानमन्त्री ओलीले भने, ‘म ०२२ सालदेखि लागेको । अहिले त म त केपी ओली भन्दा सिनियर भन्नुहुन्छ ।’

आफू जेलमा रहेको बेला नेपाल पोलिटब्यूरो भएपछि आफूभन्दा सिनियर भन्न थालेको उनले बताए । ‘म लोकतन्त्रका लागि लड्दा जेल परेँ, उहाँ बाहिर हुनुहुनुहुन्त्थ्यो, केन्द्रीय कमिटीमा पर्नुभयो’ ओलीले भने, ‘म पार्टीको प्रमुख थिए झापा आन्दोलन कालमै म पार्टी प्रमुख थिएँ । यो उहाँले बिर्सनु हुँदैन ।’

१५ वर्ष पार्टीको नेतृत्वमा बसेका नेपालले पार्टीमा कहिल्यै निर्वाचन नगराएको तर, आफू चुनाव जितेर आएपछि फेरि नेतृत्वमा आउने दौडमा लागेको उनको आरोप छ ।

प्रचण्डलाई प्रश्न : २०२५ साल कहिले हो, थाहा छ ?

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डमाथि समेत व्यंग्य गर्न छाडेनन् ।

आजभोलि प्रचण्डले मैले भन्दा तीन वटा भोट त बढी फाटेको हो नि भन्दै हिँडेको भन्दै ओलीले भने, ‘मैले तीन वटा भोटा मात्रै फटाएको हो ? ०३८ सालमा गोरखामा मास्टरी गर्दै हुनुहुन्थ्यो उहाँ । म ८ वर्ष जेलमा परिसकेको थिएँ ।’

‘०२५ सालमा सुस्ता महेशपुरको विषयलाई लिएर म गिरफ्तारीमा परेँ लाठी खाएँ’ उनले अघि भने, ‘०२५ साल भनेको कहिले हो थाहा छ पुष्पकमल दाहालजी ?’

आफू राजनीतिमा लाग्दा प्रचण्डलाई यसबारे थाहै नभएको भन्दै उनले भने, ‘कति कक्षामा पढ्दै हुनुहुन्थ्यो ? जति बेला म सङ्घर्षको मैदानमा थिएँ, उहाँले राजनीति सुन्नुभएको थिएन । उमेरमा ३ वर्ष जेठो हुँला, राजनीतिमा १० वर्ष जेठो छु ।’

सुदूरपश्चिममा अब विकासको गति बढ्छ

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमा अब विकासको गति अघि बढ्ने दाबी गरे । प्रदेशमा अहिले थुप्रै विकास निर्माणको काम भइरहेको भन्दै उनले भने, ‘अब सुदूरपश्चिम प्रदेश पछि पर्दैन, पार्न दिइँदैन ।’

प्रदेशका विकास निर्माणका काममा बजेटको पनि अभाव हुन नदिने आश्वासन समेत दिए । ‘वैदेशिक ऋण लिएर पनि विकासका गतिविधिहरू अघि बढ्छन् । विकास निर्माणका काममा बजेटको अभाव हुन दिइने छैन’ उनले भने ।

उद्योगमन्त्री एवं ओली समूहका प्रदेश संयोजक लेखराज भट्टले सङ्घीय सरकारले विकास निर्माणका कामहरू भइरहेको बताए । ‘रासायनिक मल कारखाना बनाउने योजना अघि बढिरहेको छ । प्रदेशका विभिन्न जिल्लाहरूमा विभिन्न खानीहरू पत्ता लागेका छन्, हामी उत्खनन गर्ने छौं’ उनले भने ।

वन तथा वातावरण मन्त्री प्रेम आलेले प्रधानमन्त्री धनगढी आउँदा स्वागत गर्न नआएको भन्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टप्रति आक्रोश व्यक्त गरे । ‘राजनेता आउँदा शिष्टता पनि नभएको तपाईँ कस्तो मुख्यमन्त्री हो ? अब तपाईँका दिन धेरै छैनन्,’ उनले भने, ‘हिजोका भारतमा लामो समय बिताउनु भयो । मुख्यमन्त्री पद गएपछि अब तपाईँ भारत जान पर्दैन । जडीबुटी खेती गरेर यहीँ रोजगारी सिर्जना गरिन्छ ।’

सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले प्रधानमन्त्री ओली भारतले कब्जा गरेको भूमि समेटेर नक्सा तयार गर्नु निकै ठुलो कदम भएको बताए । ‘यो सरकार त्यो भूमिलाई नक्सामा मात्रै राखेको छैन कब्जा गरेको भूमि फिर्ता ल्याउने विषयमा पछि पहल भइरहेको छ ’मन्त्री ठगुन्ना बताए ।

नेकपा ओली समूहका केन्द्रीय सदस्य नारद मुनी रानाले टीकापुर घटना राजनीतिक भएको बताए ।

नेकपा प्रदेश अध्यक्ष कर्ण थापाले पनि भीम रावलको चर्को आलोचना गरे । ‘उहाँ अवसरवादी हो’ थापाले भने ‘मन्त्री नपाएपछि सरकारको विरोध गर्न थाल्नुभएको हो ।’

यो पनि पढ्नुस्

ओलीलाई रावलको जवाफ : भगौडा नम्बर एक तपाईँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment