
२ फागुन, काठमाडौं । अफ्रिकी देश गिनीको दक्षिणपूर्वी प्रान्त जेरेकोरेमा इबोलाबाट चार जनाको मृत्यु भएको छ ।
सन् २०१६ पछि पहिलोपटक इबोलाबाट मानिसको मृत्यु भएको हो । पछिल्लो पाँच वर्षमा पहिलोपटक गिनीमा इबोलाको संक्रमण देखिएको हो ।
गिनीमा इबोलाबाट मृत्यु भएका चारमध्ये एक स्वास्थ्यकर्मी पनि छिन् । गिनीको राष्ट्रिय स्वास्थ्य सुरक्षा नियोगका प्रमुख साकोटा केइटाले गत जनवरीको अन्तिममा बिरामी परेकी उनको फेब्रुअरी १ मा मृत्यु भएको थियो ।
उनको अन्त्येष्टिमा सहभागीमध्ये आठ जनालाई पखाला लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएको छ । स्वास्थ्यकर्मीबाहेक अन्य तीनजनाको पनि मृत्यु भइसकेको र चारजना अहिले अस्पतालमा उपचार गराइरहेको केइटाले बताए ।
गिनीका स्वास्थ्यमन्त्रीले इबोलाबाट भएको मृत्युप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । यसअघि सन् २०१३ मा यो भाइरस गिनीबाटै सुरु भएको थियो । यो भाइरसको कारण ११ हजार तीनसयको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4