
९ फागुन, जनकपुरधाम । धनुषाबाट अपहरणमा परेका एकजना बालकको ७ घण्टाभित्रै सकुशल उद्धार गरिएको छ । अपहरणमा संलग्न बालकका मामा पक्राउ परेका छन् ।
जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो । ‘फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारीमा आयो,’ प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘लगत्तै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामबाटै फेला पारेर उद्धार गरिएको छ ।’
बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ ।
बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा पक्राउ परेका छन् । लक्ष्मेश्वर दास र अर्का एक जनाको नाम खुल्न सकेको छैन । प्रहरीले अपहरित बालकका पिता रमेशलाई छोरो लिन जिल्ला प्रहरी कार्यालयमा बोलाएको छ ।
घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको अपहरण भएको सम्बन्धमा थप जानकारी दिन प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय, धनुषामा पत्रकार सम्मेलन गर्दैछ ।
प्रतिक्रिया 4