Comments Add Comment

कोरोना खोप प्रभावकारी देखिएसँगै इजरायलमा लकडाउन खुकुलो

Photo Credit : REUTERS

९ फागुन, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रभावकारी देखिएसँगै इजरायलले लकडाउन हटाउन थालेको छ । आइतबारदेखि इजरायलमा बन्द रहेका पसल, लाइब्रेरी र संग्रहालयहरु खुल्न थालेका हुन् । यद्यपि अझै पनि भौतिक दुरी कायम राख्ने र मास्क लगाउनेजस्ता मापदण्ड भने कायम राखिएको छ । यसअघि इजरायलमा गरिएको अध्ययनले फाइजर र बायोएनटेकले विकास गरेको खोप संक्रमण नियन्त्रणको लागि ९५.८ प्रतिशत प्रभावकारी रहेको देखाएको थियो ।

इजरायलको स्वास्थ्य मन्त्रालयले मानिसहरुको जनजीवन सामान्य बनाउने यो पहिलो चरणको कदम भएको बताएको छ । इजरायल विश्वमा जनसंख्याको आधारमा सबैभन्दा धेरै मानिसलाई खोप लगाउने मुलुक हो । अहिलेसम्म इजरायलका ४९ प्रतिशतभन्दा धेरै मानिसले कोरोनाको कम्तीमा एक डोज खोप लगाइसकेका छन् ।

गत डिसेम्बरमा इजरायलले कोरोना संक्रमण बढेसँगै नियन्त्रणका लागि तेस्रो लकडाउन सुरु गरेको थियो । आइतबार हटाइएको प्रतिबन्धसँगै अब मानिसहरुले मल र चिडियाखानाजस्ता पर्यटकीय क्षेत्रमा भ्रमण गर्न सक्नेछन् । त्यसका साथै जिम, होटल र सभास्थलहरु खुलेका छन् । यद्यपि यस्ता स्थानमा कोरोना खोप लगाएका वा कोरोना संक्रमणबाट निको भएका मानिसहरु मात्र जान पाउनेछन् ।

आइतबारदेखि धेरै क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाइएपनि थप दुई साताका लागि विमानस्थल भने अझै बन्द रहनेछ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अबको दुईसाताभित्र इजरायलका ५० भन्दा बढी उमेर समुहका ९५ प्रतिशत मानिसले कोरोना खोप पाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment