Comments Add Comment

कांग्रेस प्रतिपक्षमै बस्छ : गगन थापा

फाइल तस्वीर

२० फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदले देशलाई निकास दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । संसदले निकास दिएपनि पाँच वर्ष सरकार चलाउने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाएका कारण कांग्रेस प्रतिपक्षमै बस्ने उनले बताए ।

‘पाँच वर्षसम्म सरकार चलाउने मौका पाएपनि कम्युनिस्टले चलाउन सकेन । उसले पाएको जनादेश खण्डित भयो । हामीले त्यो जिम्मा पाएका छैनौं,’ महोत्तरीको बर्दिवासमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले भने, ‘निकास दिनका निम्ति केही क्षण केही अप्रिय निर्णय गरेतापनि कांग्रेस अब मौका पायो भनेर २ वर्षका लागि सरकार चलाउने ध्येय राख्दैन् । हामीलाई अर्काको भाग पनि चाहिएको छैन् ।”

अब देशलाई सम्हालेर निर्वाचनमा जाने र शानदार बहुमत प्राप्त गरेर आफ्नो भाग कांग्रेसले खाने उनले बताए ।

नेकपाका नेताहरुको मनमा लोभ छ 

नेता थापाले नेकपाका नेताहरुको लोभका कारण देशको महत्वपूर्ण समय खेर गएको बतााए । सुरुदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत काम गर्दै आएपनि केही नबोल्ने ती पार्टीका नेताहरु लोभ पूरा नहुँदा अहिले आएर विरोध गर्न थालेको उनको टिप्पणी छ ।

‘प्रचण्ड र माधव नेपाल पनि त्यही पार्टीमा रहेको र अहिले उनीहरुलाई सडकमा हेरेका छौं,’ थापाले भने, ‘प्राधनमन्त्रीले ३ वर्ष ठूलो बितण्डा मच्चाउँदा पनि उहाँहरु बोल्नुभयो ? कसैले बोलेन् । आज राष्ट्रपतिले यो गर्नुभयो, त्यो गर्नुभयो भनेर बोलिरहनुभएको छ ।”

शेरबहादुर देउवा प्रधानमन्त्री भएको बखत तीन जना सांसदको नाम सिफारिस गर्दा राष्ट्रपतिले त्यो नामलाई सांसदको रुपमा नमानेको स्मरण गर्दै थापाले भने, ‘त्यस बेला संविधानको उल्लंघन भयो भनेर कांग्रेसले बोल्दै गर्दा कांग्रेसलाई हप्काएर ताली पिट्ने प्रचण्ड नेपाल होइनन् ? । अहिले प्रधानमन्त्रीले राष्ट्रपतिलाई सीमा नाघ्ने बनाउँदा खेरी त्यसको जिम्मेवारी उहाँहरुले बोक्नुपर्देन ?”

एउटै पार्टीबाट सभामुख र उपसपभामुख बनाएर संवैधानिक व्यवस्थाको उल्लंघन भएको भनेर कांग्रेसले विरोध गर्दा पनि प्रचण्ड–माधवले सहयोग नगरेको उनको भनाइ छ ।

‘अहिले निर्वाचन आयोगले सूर्य चिन्ह खाइदेला भन्दै रोएर उहाँहरु लाइनमा लाग्नुभएको छ,’ प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले भने, ‘प्रधानमन्त्रीले निर्वाचन आयोगमा आफ्नो पार्टीको कारिन्दा भर्नुभएको छ, भर्न नदिनुस् भनेर संसदमा बोल्दा उहाँहरुले हामीलाई गिज्जयाएर बस्नुभयो ।’

प्रधानमन्त्रीले एकपछि अर्काे संविधान विपरित काम गर्दै गर्दा प्रचण्ड, माधव, झलनाथ नबोल्नुको कारण सबैको मनमा लोभ रहेको उनले बताए । ‘अन्तिम समयसम्म पनि फकाउन पाइन्छ कि, भाग पाइन्छ कि भन्ने लोभ पालियो’ उनले भने, “कसैलाई प्रधानमन्त्री हुने लोभ, कसैलाई कम्युनिष्ट पार्टीको अध्यक्ष हुने लोभ, कसैलाई जुका जसरी मन्त्रीमा टाँसिरहनुपर्ने लोभ । सबैको मनमा लोभ भएका कारण यो अवस्था आएको हो ।”

नारायणकाजी श्रेष्ठ र बामदेव गौतम चुनाव हारेपछि चुप लागेर बस्नुपर्नेमा संविधानको उल्लंघन गर्दै ढोकाबाट छिर्न नपाएपछि झ्यालबाट छिरेको उनले बताए ।

महोत्तरीबाट जितेका गिरिराजमणि पोखरेलप्रति पनि उनले कटाक्ष गरे । ‘यहीँबाट जितेर जानुभएको पोखरेल जी जुका टाँसिए झैं सरकारमा गएर मन्त्रीमा बस्या बस्यै हुनुहुन्छ । कमरेडलाई जहिल्यै पनि मन्त्री हुनुपर्ने ? मन्त्रीबाट बाहिर बस्नै नहुने ?,’ उनले भने, ‘अहिले आएर प्रधानमन्त्रीले यो गर्‍यो, त्यो गर्यो‍ भन्दै गर्दा त्यो ३ वर्ष किन चुइँक्क नबोलेको ? त्यो ३ वर्ष किन मन्त्रीमा टाँसिएर बसेको ? त्यो बेलामा विद्रोह किन नगरेको ? प्रश्न किन नगरेको ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment