
२१ फागुन, काठमाडौं । अफगानिस्तानको जलालबाद सहरमा भएको दुई छुट्टाछुट्टै आक्रमणमा एक महिला डाक्टरसहित ८ जनाको मृत्यु भएको छ । महिला डाक्टरको एक बम आक्रमणमा मृत्यु भएको हो भने अन्य जनाको हतियारधारीले गरेको गोली आक्रमणमा मृत्यु भएको हो ।
अफगानिस्तानको नांगारहार प्रान्तका गभर्नरको प्रवक्ताले दिएको जानकारीअनुसार महिला डाक्टर चढेको सवारीसाधनमा राखिएको चुम्बकीय बम विष्फोट हुँदा उनको मृत्यु भएको हो । उनी आफ्नो काममा गइरहेको समयमा यो आक्रमण भएको हो । विष्फोटमा एक बालक पनि घाइते भएका छन् ।
नांगारहारका प्रहरी प्रमुखका अनुसार गोली आक्रमणमा मृत्यु हुनेहरु भने प्लास्टर कारखानामा काम गर्ने कर्मचारीहरु छन् । यो आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । आक्रमणमा ज्यान गुमाएका सबै सिया हजारा समुदायका मानिसहरु थिए ।
अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन । तर, आईएसले सिया समुदायमाथि आक्रमण गर्दै आएको छ । यसअघि तीन सञ्चारकर्मी युवतीको हत्याको जिम्मेवारी भने आईएसले लिएको छ । यद्यपि अफगानिस्तानका धेरै हिंसात्मक घटनामा कुनै पनि संगठनले जिम्मेवारी लिएका छैनन् । तर, सरकारले भने अधिकांश घटनामा तालिबानको हात रहेको बताउँदै आएको छ । यो चरमपन्थी संगठनको उपस्थिति मुलुकको अधिकांश स्थानमा छ ।
-एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4