+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने चीनको योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते ७:४९

२६ फागुन, काठमाडौं । चीनले नेपालसँग सिमाना जोडिएको स्वशासित क्षेत्र तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने योजना सार्वजनिक गरेको छ ।

चीनले सार्वजनिक गरेको १४औँ पञ्चवर्षीय (२०२१-२०२५) योजना र सन् २०२५ सम्मको दीर्घकालीन योजनामा सो विषय उल्लेख गरिएको छ ।

चीनको सरकारी संचारमाध्यम सिन्ह्वाका अनुसार चीनको केन्द्र सरकारले तिब्बत र दक्षिण एसियाली जोड्ने ‘एक महत्वपूर्ण प्यासेजवे’को रुपमा विकास गर्न सहयोग गर्नेछ ।

सो योजना चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेसमा प्रस्तुत गरिएको हो ।

तर, यो मार्ग कसरी विकास गर्ने भन्ने सम्बन्धमा भने चीनले केही पनि बताएको छैन् । दक्षिण एसियामा तिब्बतको सिमाना नेपाल, भारत र भुटानसँग जोडिएको छ । चीनले लामो समयदेखि तिब्बत र नेपाल हुँदै दक्षिण एसियामा आफ्नो मार्केट विस्तार गर्ने नीति लिएको छ ।

नेपाल र चीनको विचमा बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गत सिमापार बहुआयामिक कनेक्टिभिटी परियोजनाको बारेमा कुराकानी भइरहेको छ । दुवै मुलुकले रेलमार्ग निर्माणको कामलाई समेत अगाडि बढाएका छन् । नेपाल र चीनको विचमा सन् २०१६ मा पारवहन र व्यापार सम्झौतामा हस्ताक्षर भई सन् २०१९ मा त्यसको प्रोटोकलमा समेत हस्ताक्षर भएको छ ।

केही महिनायता चीनले दक्षिण एसियाली मुलुकहरु नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेशसँग विभिन्न विषयमा कुराकानी गरिरहेको छ । चीनले केही महिनायता यी मुलुकहरुसँग बिआरआईमा सहकार्य गर्ने विषयमा छलफल गरेको छ । विश्लेषकहरुले बीसीआईएम (बंगलादेश, चीन, भारत र म्यानमार) मार्ग बनाउने पूर्व प्रतिवद्धताबाट पछाडि हटेर नयाँ मार्ग निर्माणमा लागेको बताएका छन् ।

नेपाल इन्स्टिच्युट अफ फर इन्टरनेसनल कोअपरेसन एण्ड इनगेजमेन्टका अनुसन्धान निर्देशक डा. प्रमोद जैसवाल चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतको विकासलाई विशेष जोड दिएको बताउँछन् ।

जैसवालले भने, ‘चीनका अन्य प्रान्तभन्दा तिब्बत कम विकसित छ त्यसैले त्यहाँको विकासका लागि चीन दक्षिण एसियाका नेपालसहित सबै मुलुकसँग राम्रो सम्बन्ध राख्नुका साथै सहकार्य पनि गर्न चाहन्छ ।’

जैसवालका अनुसार तिब्बत विकासका लागि एक रणनीतिक ठाउँ पनि हो, त्यसैले त्यहाँ विकासमा पछाडि पर्दा आफ्नो सुरक्षा चासोमा असर गर्न सक्ने चीनको विश्लेषण छ । पछिल्लो समयमा चीनले तिब्बतको विकासमा विशेष जोड दिएको छ ।

चीनले अगाडि सारेको योजनाको केन्द्रमा नेपाल र भारत रहेका छन् । जैसवाल भन्छन्, ‘चीनको गेटवे भनेको नै नेपाल र भारत हो र केही पाकिस्तान पनि हो । चीनको भारतसँगको सम्बन्ध त्यति राम्रो छैन त्यसैले चीनलाई दक्षिण एसियामा प्रवेश गर्नका लागि नेपाल एउटा विकल्प हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?