Comments Add Comment

प्रदेशस्तरीय बास्केटबल क्लोज क्याम्प

२६ फागुन,बुटवल । लुम्बिनी प्रदेशका १७ वर्षमाथिका बास्केटबलका खेलाडीहरुलाई बुटवलमा तीन हप्ते प्रशिक्षण दिइएको छ ।

रुपन्देही बास्केटबल संघको आयोजनामा ‘क्लोज क्याम्प’ नाममा भएको प्रतियोगितात्मक प्रशिक्षणमा प्रदेशका विभिन्न जिल्लाबाट ५६ जना खेलाडी र १७ जना प्रशिक्षक सहभागी भएका थिए ।

प्रतियोगितामा पुरुषतर्फ सचिन भण्डारी, अंकित सुनाम र सिमान्त थापा प्रथम, सौरभ श्रीसमगर, नवीन थापा र निलेश थापा दोस्रो भएका छन् । महिलातर्फ पवित्रा खनाल, कृति थापा र इच्छा कार्की प्रथम तथा खुशी खाँण, एभ्रिल गाहा, समीक्षा शेरचन र मिनाक्षी भण्डारी तेस्रो भएका छन् ।

प्रतियोगितामा सर्वाधिक स्कोरमा इच्छा कार्की र अंकित सुनाम भए । यस्तै क्लोज क्याम्पमा महिलातर्फ विष्णु क्षेत्री र खुशी खाँण तथा पुरुषतर्फ सौरभ श्रीस र कुमार थापा उत्कृष्ट खेलाडी घोषित हुँदै जनही २५ सय रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् ।

खेलाडीहरुलाई प्रमुख प्रशिक्षक दिनेश नकर्मी, सेनानी झपेन्द्र चौधरी, सम्राट भट्टचनलगायतका प्रशिक्षकले खेलका सैद्धान्तिक र प्राविधिक पक्ष सिकाएका थिए ।

क्लोज क्याम्प समापन समारोहमा नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष होम दोङले राज्यले खेलकुद क्षेत्रलाई अझै प्राथमिकतामा राख्न नसकेको उल्लेख गर्दै बास्केट बल खेललाई झनै उपेक्षा गरिएको बताए ।

नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दीर्घबहादुर केसीले सरकारको खेलकुद नीति अवैज्ञानिक रहेको भन्दै पर्याप्त खेलाडी भएको ठाउँमा पूर्वाधार बनाउनुपर्नेमा खेलाडी नै नभएका स्थानमा पर्वाधार बनाएर बजेट दुरुपयोग भइरहेको गुनासो गरे ।

बुटवल देवीनगरस्थित एन्फा एकेडेमी आसपासको क्षेत्रलाई खेलकुद ग्राम बनाउन आफूहरुले गरेको प्रयासमा स्थानीय, प्रदेश र संघीय सरकारले साथ नदिएको उनले बताए ।

रुपन्देही बास्केट बल संघका अध्यक्ष मनिषकुमार ह्योंजूले रुपन्देहीमा बास्केटबल खेलप्रति युवा पुस्ताको आकर्षण भए पनि सरकारीस्तरको एउटा पनि कोर्ट नहुँदा निजी क्षेत्रको कोर्ट भाडामा लिएर प्रशिक्षण र खेलहरु खेलाउनुपर्ने बाध्यता रहेको बताए ।

क्लोज क्याम्प समापनमा एकहप्ते प्रशिक्षणमा सहभागी १७ जना प्रशिक्षकहरुलाई सम्मान गरिएको संघका सचिव रोहिन भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment