+
+

नेपाली फिल्मको माहोल बनाउन हिन्दी फिल्म कुर्नु लाजमर्दो बिषयः निश्चल बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २७ गते १६:४२

निर्देशक, निर्माता तथा कलाकार निश्चल बस्नेतले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सरकारले के गर्ला भनेर बस्नु भन्दा पनि चलचित्रकर्मीहरु आफै अगाडि सर्नुपर्ने बताएका छन् । काठमाण्डौमा आयोजना गरिएको चलचित्र ‘लप्पन छप्पन २’को पत्रकार सम्मेलनमा बोल्दै निश्चलले भने–‘यहाँ कसैले त जोखिम मोल्नै पर्छ । अहिले धेरै मेकरले एउटा हिन्दी चलचित्र आओस् अनी वातावरण बनाइदियोस् भनेर सोच्नुभएको छ । हाम्रो क्षेत्र चलायमान बनाउन हिन्दी चलचित्रको मुख ताक्नु लाजमर्दो कुरा हो ।’

निश्चलले निर्माताहरुलाई चलचित्र रिलिजका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले भने–‘यो बिषयमा सबैभन्दा बढी चलचित्र विकास बोर्डले सोच्नुपर्छ । स्टूडियो बनाउने बिषयमा केही समय पर्खिदा पनि हुन्छ । यो क्षेत्र अगाडि बढ्यो भने स्टूडियोमा गएर खिचौंला । तर, यो क्षेत्र नै चलायमान भएन भने कसरी चलचित्र क्षेत्र अगाडि बढ्छ । यसका लागि चलचित्र विकास बोर्डले संचार मन्त्रालयसँग् समन्वय गरेर चलचित्र रिलिजको वातावरण बनाउनुपर्छ ।’

निश्चलले प्रदर्शक तथा वितरकले पनि निर्मातालाई सुरक्षित बनाउनेतर्फ सोच्नुपर्ने बताए । उनले चलचित्र रिलिज गर्न नसक्ने हो भने दर्शकले पनि विश्वास गर्ने तर्क गरे ।

उनले, यो समय चलचित्र क्षेत्रमा रहेका तिक्तता विर्सिएर सबैले एक अर्कालाई साथ दिनुपर्ने बताएका छन् । निश्चलले पत्रकार सम्मेलनमा भने–‘यो समयमा पनि हामी एक हुन सकेनौं भने अरु बेलामा सक्दैनौ । खडेरी लागेको बेलामा पनि नभएको यूनिटी अरु बेलामा हुन्छ भन्ने मलाई लाग्दैनँ । एक बर्षसम्म जती पनि चलचित्र रिलिज हुन्छन्, ती चलचित्रको बिषयमा सबै चलचित्रकर्मीले सोच्नुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?