Comments Add Comment

म्यानमारको सेनाले कम्तीमा ७० जनाको ‘हत्या’ गर्‍यो : राष्ट्रसंघ

Photo Credit : Reuters

२८ फागुन, काठमाडौं । म्यानमारका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत थोमस एन्ड्र्युजले म्यानमारको सेनाले मुलुकमा प्रदर्शन सुरु भएयता कम्तीमा ७० जनाको हत्या गरेको आरोप लगाएका छन् । गत फेब्रुअरी १ मा सेनाले सत्ता आफ्नो हातमा लिएसँगै म्यानमारमा निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ । यसै क्रममा पछिल्लो समय म्यानमारमा मानवताविरुद्धको अपराधका प्रमाणहरु पनि बढिरहेको उनको भनाइ छ । सेनाले पछिल्लो समय प्रदर्शनमा सहभागी हुनेको हत्या गर्ने, यातना दिने र ज्यादती गर्ने गरेको एन्ड्र्युजको भनाइ छ ।

मानव अधिकार अनुसन्धानकर्ता एन्ड्र्युजले बिहीबार संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदमा बोल्दै भने, ‘अहिले म्यानमार हत्यारा र अवैध शासकको नियन्त्रणमा छ ।’

म्यानमारको प्रदर्शनमा मारिएकामध्ये आधाभन्दा धेरै २५ वर्षभन्दा कम उमेरका छन् । अहिलेसम्म प्रदर्शनको क्रममा दुई हजारभन्दा धेरै मानिसहरु पक्राउ परिसकेको एन्ड्र्युजको भनाइ छ । साथै म्यानमारमा निरन्तर हिंसा पनि बढिरहेको छ ।

एन्ड्र्युजका अनुसार पछिल्लो समय सार्वजनिक भएको भिडियोमा सुरक्षाकर्मीहरुले प्रदर्शनकारी, उपचार सेवा दिइरहेका मानिसहरु र उद्धारका लागि तयारी अवस्थामा रहेका मानिसहरुलाई निर्मम तरिकाले कुटपिट गरेको देखिएको छ । त्यस्तै मानिसहरुको घरघरमा छिर्दै प्रहरीले गोली चलाउने गरेको पनि एन्ड्र्युजले बताएका छन् ।

म्यानमारको सेनाले भने एन्ड्र्युजले लगाएको आरोप खण्डन गरेको छ । सेनाले हिंसात्मक प्रदर्शनकारीहरुलाई शान्त गराउने प्रयास मात्र गरेको दाबी गरेको छ । सैनिक सरकारको विदेशमन्त्रालयले पठाएको एक भिडियो सन्देशमा अहिले म्यानमार निकै जटिल चुनौतीको सामना गरिरहेको उल्लेख छ । साथै सेनाले कहिले पनि प्रजातान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्न नचाहेको उल्लेख छ । सेनाले अहिले म्यानमारमा मुलुकको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र सामाजिक स्थायित्व कायम राख्ने प्रयास गरिरहेको बताएको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment