Comments Add Comment

म्यानमारमा सेनामाथि छापामार आक्रमण गर्ने चेतावनी

२० चैत, काठमाडौं । म्यानमारमा सैन्य कदमको विरोधमा आन्दोलन गरिरहेका प्रदर्शनकारीले छापामार आक्रमणको चेतावनी दिएका छन् ।

हाल चलिरहेको नागरिक आन्दोलनका एक नेता खिन साडारले छापामार आक्रमणका लागि नागरिकलाई आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले मानिसहरुलाई एक अर्कासँग जोडिन, फोन तथा अन्य डिभाइस प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

म्यानमारको सेनाले अहिले केवल फिक्स–लाइनका ग्राहकलाई मात्र इन्टरनेट दिएको छ, मोबाइल इन्टरनेट पूर्णरुपमा बन्द छ । इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएसँगै म्यानमारका प्रदर्शनकारीले एकआपसमा सम्पर्क बढाउन अन्य उपाय खोजी गर्न थालेका छन् । उनीहरुले रेडियो फ्रिक्वेन्सी, अफलाइन इन्टरनेटका स्रोतलगायतका उपकरणको प्रयोग बढाएका छन् ।

म्यानमारको सेनाले अहिलेसम्म इन्टरनेटमा प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण दिएको छैन । सेनाविरुद्ध मानिसहरु इन्टरनेटको माध्यमबाट संगठित भएसँगै इन्टरनेटमा प्रतिबन्ध लगाइएको हो । सेनाले शासन हातमा लिएको विरोधमा भइरहेको आन्दोलनमा सेनाले निर्मम ढंगले दमन गरेको छ । अहिलेसम्म सेनाको आक्रमणमा पाँच सयभन्दा धेरै प्रदर्शनकारी मारिएका छन् ।

दमनका बाबजुद आन्दोलन भने अझै चर्किरहेको छ । बिहीबार प्रदर्शनकारीले सन् २००८ को सैन्य संविधान जलाउँदै विरोध प्रदर्शन गरेका थिए । बिहीबार म्यानमारको केही सहरी क्षेत्रमा प्रदर्शनकारीले सडकमा निस्केर प्रदर्शन गरेका थिए । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार म्यानमारको मान्डले सहरमा शुक्रबार सुरक्षाकर्मीले चलाएको गोली लागेर चार प्रदर्शनकारीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

म्यानमारका अल्पसंख्यक समुदायका सशस्त्र समूहले पनि म्यानमारको सेनाविरुद्ध आक्रमण गर्ने चेतावनी दिइसकेका छन् । यसले म्यानमारमा अझै हिंसा बढ्न सक्ने आशंका बढाएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment