Comments Add Comment

डडेलधुरा अस्पतालमा जनशक्ति अभाव

फाइल तस्वीर

१६ वैशाख, काठमाडौं । डडेलधुरा अस्पतालको कोभिड आइसोलेसनमा जनशक्तिको अभाव हुँदा कोरोना संक्रमितको उपचारमा समस्या देखिएको छ ।

तीव्र रुपमा कोरोना संक्रमित थपिँदै जाँदा अस्पतालमा भएका जनशक्ति पनि संक्रमित भएर आइसोलेसनमा बस्नु पर्दा उपचारमा समस्या आएको अस्पतालकी नर्सिङ अधिकृत मनकेशरी महर्जनले अनलाइनखबरलाई जानकारी दिइन् ।

‘प्यारामेडिक्ससहित ५ जना कर्मचारी संक्रमित भइसकेका छन् । जसमध्ये एकजना कोरोना मुक्त भएका छन् । बाँकी आइसोलेसनमा छन्,’ उनले भनिन्, ‘भएको जनशक्ति पनि संक्रमित भइदिँदा २४ सै घण्टा संक्रमितको उपचारमा खटिनु पर्ने अवस्था छ ।’

बेडको सीमितता र जनशक्ति अभावका कारण अस्पतालमा अक्सिजन दिनु पर्ने बिरामीलाई मात्रै भर्ना गरिएको उनको भनाइ छ ।

‘अस्पतालमा एकजना मात्रै एनेस्थेसियोलोजिस्ट हुनुहुन्छ । उहाँ पनि २४ सै घण्टा संक्रमितको उपचारमा खटिरहनु भएको छ,’ उनले भनिन्, ‘उहाँमा पनि संक्रमण देखियो भने उपचारमा थप समस्या आउन सक्छ ।’

अस्पतालमा २० जना स्टाफ नर्सका दरबन्दी रहेको भन्दै उनले अन्य वार्डबाट पनि २/२ जना स्टाफ नर्सलाई तानेर कोभिड आइसोलेसनमा परिचालन गरिएको उनले बताइन् ।

अस्पतालमा भर्ना भएका सबै संक्रमितलाई अक्सिजन दिएर उपचार गराउनु परेका कारण आफूहरु पनि २४ सै घण्टा खट्नु पर्ने बाध्यता रहेको उनले बताइन् ।

आईसीयूमा ४ जना र आइसोलेसन बेडमा ५ जना गरी ९ जना संक्रमितको अहिले उपचार भइरहेको उनले बताइन् । प्रत्येक दिन संक्रमित बढ्दै गएका कारण बिरामीलाई अक्सिजन दिन नपर्ने गरी सुधार आउन साथ डिस्चार्ज गरेर पठाउने गरिएको उनको भनाइ छ । लक्षण नदेखिएका संक्रमितलाई होमआइसोलेसनमा बस्ने गरी पठाउने गरिएको उनले बताए ।

२७ को नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण

डडेलधुराका कोरोना फोकल पर्सन हरि भट्टका अनुसार बुधबार २७ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment