२७ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिड र सेभियाले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा भएको खेलमा एडेन हाजार्डले इन्जुरी टाइममा गोल गरेपछि रियलले खेल बराबरी गर्दै हार टारेको थियो ।
यस बराबरीले शीर्ष स्थानको एट्लेटिको मड्रिडलाई फाइदा पुगेको छ । तीन चरणको खेल बाँकी हुँदा एट्लेटिकोले २ अंकको अग्रता कायम राखेको छ ।
सेभियाले खेलमा दुई पटक अग्रता बनाएपनि जोगाउन सकेन । खेलको २२ औं मिनेटमा फर्नान्डोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा रियलका लागि मार्को एसेन्सियोले बराबरी गोल फर्काए ।
७८औं मिनेटमा इभान राकिटिकले पेनाल्टीमा गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए ।
सेभिया जिततर्फ अग्रसर भइरहेको बेला इन्जुरी टाइमकोको चौंथो मिनेटमा हाजार्डले गोल गर्दै खेल २-२ को बराबरी गरे ।
बराबरीपछि ३५ खेलबाट ७५ अंक जोड्दै रियल दोस्रो स्थानमा उक्लेको छ। समान अंक भएपनि बार्सिलोना हेड टु हेडमा पछि छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ३५ खेलबाट ७७ अंक रहेको छ ।
सेभिया ३५ खेलबाट ७१ अंकसहित चौथो स्थानमा छ ।
प्रतिक्रिया 4