+
+

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते ९:४४

६ जेठ, काठमाडौं । ‘नो भोट’को व्यवस्था नगरिएको भन्दै विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएको छ ।

उपनिर्वाचनका उम्मेदवारबाट राष्ट्रिय सभामा अपेक्षाकृत भूमिका निर्वाह हुनेमा आश्वस्त पनि नभएको भन्दै विवेकशील साझा पार्टीले भोट नहाल्ने निर्णय गरेको हो ।

‘चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ,’ विवेकशील साझा पार्टीको बागमती प्रदेशसभा संसदीय दलका नेता रमेश पौड्यालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बागमती प्रदेशसभामा विवेकशील साझा पार्टीका तीन जना सांसद छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफू निर्वाचित भएको दल माओवादी केन्द्र त्याग गरी नेकपा एमालेमा प्रवेश गरेका कारण राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम राष्ट्रिय सभामा रिक्त हुन आएको बागमती प्रदेशबाट निर्वाचित हुने एक स्थानका लागि आज उपनिर्वाचन गरिएको हो ।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट गृहमन्त्री थापा, विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव नेपाल समूहका नेता खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् । प्राविधिक रूपमा देवकोटाको ‘स्वतन्त्र’ उम्मेदवारी रहे पनि सत्तारुढ नेकपा एमालेकै एउटा खेमाको तर्फबाट उनको उम्मेदवारी आएको भन्दै विवेकशील साझाले तीनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा अपेक्षा गरेको भूमिका निर्वाह हुन नसक्ने ठहर गरेको छ ।

विवेकशील साझाले नो भोट लागु गर्न सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न मागसमेत गरेको छ ।

सर्वोच्च अदालतले २०७० पुस २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो । सात वर्ष भन्दा बढी भइसक्दा पनि नो भोटको व्यवस्था नगरिएको भन्दै उसले खेद व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?