Comments Add Comment

युरोकपको पहिलो खेलमा बनेको एक कीर्तिमान जुन अहिलेसम्म तोडिएको छैन

२८ जेठ, काठमाडौं । ६ दशकअघि चार टिमबाट सुरु भएको युरोकपको १६ औं संस्करण आजदेखि सुरु हुँदैछ । अहिले युरोकपमा सहभागी देशको संख्या बढेर २४ पुगिसकेको छ । १५ वटा संस्करण भइसक्दा १० देश बिजेता बनेका छन् ।

युरोकप सुरु भएको ६० वर्ष पुगेको अवसरमा यस पटक युरोकप ११ देशका विभिन्न शहरमा संयुक्त रुपमा आयोजना हुँदैछ । यसबीचमा विभिन्न कीर्तिमानहरु समेत बनेका छन् । जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक उपाधि जितेको छ । स्पेनले २००८ र २०१२ मा गरी लगातार दुई पटक उपाधि जित्यो र यस्तो उपलब्धी हासिल गर्ने पहिलो टिम बन्यो ।

सन् १९६० मा फ्रान्समा आयोजना भएको युरोकपमा आयोजक फ्रान्ससहित तात्कालिन सोभियत संघ, युगोस्लाभिया र चेकोस्लोभाकियाले खेलेका थिए । त्यसबेला सिधै सेमिफाइनल र फाइनल खेलाइएको थियो । त्यतिबेला तेस्रो स्थानको खेलसहित जम्मा ४ खेल भएको थियो । पहिलो संस्करणमा सोभियत संघले युगोस्लाभियालाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फ्रान्स र युगोस्लाभिया भिडेका थिए । त्यसमा युगोस्लाभियाले ५-४ ले खेल जितेको थियो । त्यसपछि युरोकपको एकै खेलमा ९ गोल हुन सकेको छैन । त्यसपछि तीन खेलमा ७ गोल भएको छ भने ६ पटक ६ गोल भएको छ ।

सन् २००० को युरो कपको समूह चरणमा स्पेनले युगोस्लाभियालाई ४-३ ले पराजित गरेको थियो । यस्तै २००० कै क्वार्टरफाइनलमा नेदरल्याण्ड्सले युगोस्लाभियालाई नै ६-१ ले हराएको थियो । एकै खेलमा सबैभन्दा धेरै गोल हानेर जित्ने टिम नेदरल्याण्ड्स हो । पछिल्लो पटक २०१६ मा फ्रान्सले आइसल्याण्डलाई ५-२ ले पराजित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment