+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

के अन्तरजातीय विवाह मागी विवाह हुन सक्दैन ?

अस्मी कोइराला अस्मी कोइराला
२०७८ असार २० गते १७:२९

उसको र मेरो भेट नितान्त पारिवारिक सल्लाहअनुरुप भएको थियो। ‘तँलाई मन पर्‍यो भने कुरा अगाडि बढाउँला, हैन भने जिन्दगीमा एउटा साथी थपिन्छ, के बिग्रियो त ! एकपटक भेटेर आइज’ भनेर मेरो परिवारले ऊसँग भेट्न सुझाउनुभएको थियो । मैले पारिवारिक सल्लाहबमोजिम उसलाई भेटेको हुँ पहिलो पटक ।

हामी भेट्यौं । दुवैले आ-आफ्नो कुरा राख्यौं या भनौं त्यो तीन घण्टाको भेटमा काटकुट गरेर दश मिनेटमा उसले आफ्नो कुरा राख्यो । बाँकी समय म एक्लै बोलिराखेकी थिएँ । ऊ मेरो कुरा शान्त भई विना प्रतिक्रिया सुनिरहेको थियो । हामीले एक-अर्कालाई चिन्न कम्तीमा एक महीनाको समय चाहिने निष्कर्ष निकाल्यौं ।

‘चित्त बुझ्यो भने कुरा अगाडि बढाउँला,  होइन भने जीवनमा एक व्यक्तिसँग बढी परिचित भइयो भनेर बुझौंला ।’ यही सहमतिसँगै हामीले पहिलो भेटलाई टुङ्ग्यायौं ।

हुन त एक जिउँदो मानिसलाई पूर्ण रुपमा चिन्न कैयौं वर्ष पनि कमि हुन्छ भन्छन् तर पनि अझ बढी आफ्नो कुरा सुन्ने र सुनाउने मौका दिएर छुटेका थियौं हामी।

त्यसपछि बाक्लै कुराकानी र केही भेट भएको थियो हामीबीच । हामीले एक-अर्कालाई स्वीकार्‍यौं र परिवारलाई कुरा अगाडि बढाउँदा हुन्छ भनेका थियौं । हाम्रो भेट भनौं वा कुराकानी चलेको केही महीना अनि निषेधाज्ञाको बीचमै सम्पूर्ण सुरक्षाको मापदण्डलाई पालना गर्दै हाम्रो विवाह सामान्य ढंगबाट न्यूनतम उपस्थितिमा सम्पन्न भयो । खुशी त यो कुराले मिल्यो कि हाम्रो विवाहमा उपस्थित कसैलाई पनि कुनै किसिमको स्वास्थ्य समस्या देखा परेन ।

हुँदाहुँदा समाजशास्त्रमा स्नातकोत्तर गरेको साथीले ‘यो समाजले नपचाउने काम गरिस् अरु कोही भेटिनस् बिहे गर्न। कि लभ म्यारिज हो भन् हैन भने एरेन्ज म्यारिज हो भनेर तर्क नगर’ भनेर फोन काट्दा यो समाजको डिग्रीधारीको सोच र चिन्तनको बिजोग छताछुल्ल भएको थियो मेरो अगाडि ।

कुरा सामान्य हो । हामी एक-अर्का पारिवारिक तवरबाट भेट भयौं, विवाह भयो, सकियो। तर विवाहपश्चात् यो विषय यति सामान्य बनिरहन सकेन। यहाँ एक उपाध्याय बाहुनकी छोरी अझ पण्डितकी नातिनीले मगरको छोरासँग मागी विवाह वा चलनचल्तीको भाषामा भनौं भने ‘एरेन्ज म्यारिज’ भएको थियो । हामीले जात हेरेर हैन पात्र हेरेर विवाहको लागि राजी भएका थियौं। हाम्रो विवाहको प्रस्ताव मलाई नजिकबाट बुझ्ने र माया गर्ने आफन्तबाट आएको थियो । मलाई उहाँको प्रस्ताव उपयुक्त लागेर राजी भएकी थिएँ ।

उसले कैयौंपटक भनेको थियो- तिमीलाई जातको कारणले समस्या होला सोच, मलाई र मेरो परिवारलाई त केही फरक पर्दैन। यो समाजले म पुरुष भएको कारणले मलाई तिमीभन्दा केही बढी छुट दिएको छ। तिमीले धेरै थरीका कुरा सुन्नुपर्ने हुन सक्छ। तिम्रो बाबा, ममी, दादा अनि केही औंलामा गनिने आफन्तहरूलाई जातले फरक नपर्ने भएर हाम्रो कुरा चल्यो तर हामीसँग जुडेका अरु धेरैलाई स्वीकार्न गाह्रो होला । जीवन यति सीमित मानिसहरूबीचमा मात्र रहेर चल्दैन। अझ तिमी त ठूलो परिवारमा जन्मेको हुर्केको पर्‍यौ, तिमीले धेरैलाई जवाफ दिनुपर्ने हुन सक्छ, धेरैको बचन सुन्नुपर्ने हुन सक्छ । निर्णय लिनु भन्दा अगाडि हजार पटक जिन्दगीको बारेमा सोच, आउन सक्ने सम्भावित बाधा र आफूभन्दा तल्लो भनिने जातसँग विवाह गरेको कारणले सुन्नुपर्ने तानाहरू सबै सबैको बारेमा राम्ररी सोच।

उसले अगाडि भनेको थियो- मागी विवाह अन्तरजातीय विवाहभन्दा बाहुनले जैसीसँग, जैसीले क्षेत्रीसँगसम्म पचाउन सक्लान् तर तिम्रो र मेरो त यो समाजले पचाउन नसक्ने अन्तर हुन सक्छ । म एक सामान्य परिवारमा जन्मेको हुँ, हाम्रो विवाह भयो भने पनि हामी आफैंले आ-आफ्नो जागीरले भएको आम्दानीले मिलेर जिन्दगी चलाउने हो। म तिमीलाई मेरो परिपूरक हुने भन्दा बढी अरु केही आश्वासन दिन असमर्थ हुनेछु । तिमीलाई त्यो केटासँग के देखेर विवाह गरिस् भन्ने खालका प्रश्नहरू उठ्न सक्छन् । तिमी पहिलो केटी होइनौ मैले विवाहको लागि भेटेको । मेरो परिवारको सुझावमा केही पात्रहरूसँग पहिले पनि भेटेको छु । कोहीले जातको कारणले हिचकिचाहटको महसुस गरेकोले र कोहीसँग सहजता महसुस नगरेको कारणले कुरा अगाडि बढेन । तिमीसँग भने सहजता महसुस गरेको छु। तिमीसँग जिन्दगी अगाडि बढाउन पाएँ भने म खुशी हुनेछु । तिम्रो ‘यस अर नो’ दुवै निर्णय म सम्मानपूर्वक स्वीकार गर्नेछु। कुनै ‘प्रेसर फिल’ नगरी राम्ररी सोचेर जवाफ देऊ ।’

यो कुरा उसले मलाई तेस्रो भेटमै भनेको थियो । हामीले एक-अर्कालाई दिएको एक महीनाको समय सकिन अझै केही दिन बाँकी नै थियो ।

अब निर्णय मेरो हातमा थियो। मैले सोचें केही दिन । मैले उसले भनेको जस्तो जातको विषयलाई भन्दा पात्रलाई अनि उसँग जीवन सहज ढंगबाट अगाडि बढ्न सक्छ कि सक्दैन भन्नेबारे सोचें। समाज र अरुले के सोच्छन् र के भन्छन् भन्दा पनि उ मेरो लागि उपयुक्त पात्र हुन सक्छ कि सक्दैन त्यो सोचें।

मैले उसले भने भन्दा अलि फरक ढंगबाट सोचें, तर सोच्न चाहिं राम्ररी नै सोचें। मैले मेरो मनको सुनें या भनौं अन्तरात्माको सुनें र विवाह प्रस्ताव स्वीकार गरेको केही महीनामा हाम्रो विवाह भयो । लकडाउनको समयको विवाह भएकोले एकदम थोरैलाई मात्र विवाहको खबर थियो। विवाहपश्चात् सामाजिक सञ्जालको पहुँचले सबैमाझ एकैपटक खबर पुग्यो । धेरैलाई त सरप्राइज नै भएको थियो । त्यसपछि शुरु भयो मेरो फोनका घण्टीहरू बुझ्न।

मलाई बधाईको ओइरो आउन थाल्यो। केटा के पढेको, के गर्ने, कहाँ घर । सबैको जवाफ दिंदै जाँदा कुन जात भन्ने प्रश्नको जवाफले धेरैलाई मौन र आश्चर्य बनाएको थियो। केहीले त्यसो भए यो ‘लभ म्यारिज’ हो ‘एरेन्ज’ भनेर नढाँट भने । केहीले ‘आफ्नो जातको भेटिनस् के गर्‍या यस्तो’ भने। सबै कुरा त ठीक छ तर जात चै चित्त बुझेन केहीलाई।

कुन जातसँग बिहे गरेको थाहा पाइसकेर फोन गर्नेले ‘कति वर्षको लभ सक्सेस गरिस्, नढाँटी भन्’ भन्दै फोन गरे।

मैले सबैलाई जे हो त्यही भनें । प्रश्नमाथि प्रतिप्रश्न गरे । मैले पनि उत्तर माथि प्रतिउत्तर दिएँ । मैले प्रत्येक ‘फोन कलमा जस्टिफिकेसन’ दिएको देखेर उसले (मेरो पतिले) भने- लभ म्यारिज हो भन्देऊ न । किन यति धेरै सबालको उत्तर दिंदैछौ। तिमीलाई बधाई दिन हैन अपराधी ठहर गर्न फोनको पैसा खर्च गरिराछन् सबैले । लभ म्यारिज हो भन्यो भने यति प्रश्नको सामना गर्नु नपर्ला तिमीले ।’

आजकल ऊ यसो भन्न थालेको छ । ऊ आफैंले पनि चिनेजानेकाको प्रश्नबाट बच्न लभ म्यारिज हो भन्ने गरेको छ । मैले धेरैपटक आपत्ति जनाएकी छु उसको यो जवाफमा ।

मलाई फोन गर्नेमध्ये अधिकांश सबै डिग्रीधारी सर्टिफिकेट होल्डरवाला थिए र बढी आश्चर्य, आपत्तिको भाव पनि तिनीहरूले नै व्यक्त गरेका थिए। हुँदाहुँदा समाजशास्त्रमा स्नातकोत्तर गरेको साथीले ‘यो समाजले नपचाउने काम गरिस् अरु कोही भेटिनस् बिहे गर्न। कि लभ म्यारिज हो भन् हैन भने एरेन्ज म्यारिज हो भनेर तर्क नगर’ भनेर फोन काट्दा यो समाजको डिग्रीधारीको सोच र चिन्तनको बिजोग छताछुल्ल भएको थियो मेरो अगाडि ।

धेरै पटक सामाजिक विभेद र असमानताको विरुद्धको ब्यानर बोकेर सडकमा उत्रिएको फोटो र स्टाटस देखेकी थिएँ सामाजिक सञ्जालमा उसको । त्यही मान्छेसँग लभ म्यारिज हो भन्दा पचाउन सजिलो हुने रे अनि एरेन्ज हुँदा नपचाउने रे। के लजिक रैछ यो बुझ्न सक्या छैन ।

त्यसपछिका केही दिन म लभ म्यारिज र एरेन्ज म्यारिजको भिन्नताको गुदी के हो केलाउन थालेकी छु। आज पात्र खोजेर आजै विवाह गर्नु एरेन्ज अनि केही दिनपछि गर्दा लभ हुने हो ? वा एरेन्ज म्यारिज अन्तरजातीय पनि हुन सक्छ भनेर स्वीकार गर्न नसकेको फ्रस्टेसनले बोल्दा बोल्दै फोन काटेको हो ? अनि म आफैंलाई प्रश्न गर्छु, ‘के अन्तरजातीय विवाह एरेन्ज म्यारिज हुन सक्दैन ? के हामीसँग यो सत्यलाई स्वीकार गर्ने आँट छैन ? के अरुको नितान्त व्यक्तिगत निर्णयलाई हामी सम्मानसम्म पनि गर्न सक्दैनौं ? ‘

कि मेरो श्रीमानले भने जस्तो मलाई अपराधी नै ठहर गराउने मनसाय हो ? अनगिन्ती प्रश्न उठिराछ आफैंभित्र। हुनत अरुले के भन्छन् र सोच्छन् भन्ने कुरालाई प्राथमिकता नदिने म, परिवर्तन चाहने र परिवर्तनलाई स्वीकार गर्छन् भन्ने आश लागेका पात्रहरूबाट मिलेको टिप्पणी प्रतिको मात्र आपत्ति हो मेरो।

मेरो व्यक्तिगत निर्णयमा औंला उठाउने छुट त कसैलाई छैन र मलाई फरक पनि पर्दैन तर पनि यसले हाम्रो सामाजिक विभेदप्रतिको दृष्टान्त प्रतिबिम्बित गर्दछ। यो त एक सामान्य प्रतिनिधिमूलक घटना मात्र हो । यस्ता हजारौं जातीय विभेदका विषयहरू छन् जसले हरपल पोलिरहेछ समाजलाई, जलाइरहेछ, कुनै दिन खरानी नबनाउला भन्न सक्ने स्थिति छैन अनि बचाउने कसले ? यही पढेलेखेका हुन् डिग्रीधारीले ? जवाफ भेट्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?