+
+

स्वास्थ्य चौकीको भवनभित्र छाता ओढ्नुपर्ने बाध्यता

रासस रासस
२०७८ असार ३० गते ९:२०

३० असार, म्याग्दी । जिल्लाको बेनी नगरपालिका-३ भकिम्लीस्थित स्वास्थ्यचौकीमा छाता ओढ्नुपर्ने बाध्यता छ । स्वास्थ्यचौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्ने गरेका हुन् । स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताए ।

“आफ्नै भवन नभएको र स्वास्थ्यचौकी सञ्चालन भइरहेको आमा समूहको भवन मर्मत नहुँदा जीर्ण बनेर पानी चुहिन थालेको छ”, उनले भने, “बर्खामा पानी पर्दा भवनभित्रै छाता ओढेर सेवा दिने गरेका छौँ ।” भवन अभावमा करिब एक हजार घरधुरीले सेवा लिने स्वास्थ्यचौकीको कामकाज प्रभावित बनेको हो । जीर्ण, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको छ ।

स्वास्थ्यचौकी सञ्चालन भएको नमूना आमा समूहको भवन मर्मत अभावमा जीर्ण बनेको हो । “छानोबाट पानी चुहिन्छ, प्रसूति गराउने कोठाको शय्यामा पानी चुहिने भएकाले टपेस राखिएको छ । सिङ्गो स्वास्थ्यचौकी दुईवटा कोठामा सीमित छ । पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको छ”, जनस्वास्थ्य निरीक्षक शाहले भने ।

एक कोठामा प्रशासन र औषधि भण्डारण कक्ष बनाइएको छ । बहिरङ्ग, सोधपुछ र प्रसूति कक्ष एउटै कोठामा सञ्चालन भएको छ । गोप्य कक्ष नहुँदा सेवाग्राहीले लाज मानेर आफ्ना समस्या खुलेर स्वास्थ्यकर्मीलाई बताउन सक्दैनन् । दैनिक १० जनाको हाराहारीमा सेवाग्राही आउने गर्छन् ।

स्वास्थ्यचौकीको भवन बनाउन जग्गा प्राप्त भए पनि बजेट अभावमा कार्यान्वयन हुनसकेको छैन । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष पदम पुनले भवन बनाउन नगरपालिकामार्फत प्रदेश र सङ्घीय सरकारमा प्रस्ताव गरिएको बताए ।

स्थानीयवासी पृथीलाल खत्रीको परिवारले आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ । यसअघि तीन रोपनी जग्गा उपलब्ध गराएको खत्री परिवारले नयाँ मापदण्डपछि थप पाँच रोपनी उपलब्ध गराएको हो । नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले विस्तृत परियोजना प्रतिवेदन तयार पारेर साझेदारीमा स्वास्थ्यचौकी भवन बनाउन प्रदेश र सङ्घ सरकारका निकायमा प्रस्ताव गरिने बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?