Comments Add Comment

अगष्टको अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक, सातामा ६७ उडान 

१८ साउन, काठमाडौं । अगष्ट २०२१ भर सातामा कुल ६७ उडान गर्ने गरी अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले सातामा १५ र हिमालय एयरलाइन्सले सातामा १३ उडान गर्ने गरि उडान तालीका तय भएको छ ।

यो तालिका ३१ अगष्ट २०२१ भर लागू हुने छ । सरकारले पहिलो चरणमा खुला गरेका मुलुकमा अनुमति पाएका कम्पनीहरुले काठमाडौं गन्तब्य बनाएर उडान गर्नेछन् ।

प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले दोहाको कतारमा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ । नेवानिले दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई -सोमबार र बुधबार), मलेसियाको क्वालालाम्पुरमा साताको दुई (मंगलबार र शुक्रबार), भारतको नयाँ दिल्लीमा साताको तीन (सोमबार, बुधबार र शनिबार) र जापानको नारितामा हरेक बिहीबार उडान गर्ने गरी अनुमति पाएको छ ।

हिमालय एयरलाइन्सको जहाज मलेसियाको क्वालालाम्पुरमा आइतबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार गरी पाँच उडान गर्ने भएको छ । दुबई इन्टरनेशनल एयरर्पोटमा समेत हिमालयले साताको तीन (सोमबार, बुधबार र शनिबार) उडान गर्नेछ । हिमालयले कतारको राजधानी दोहामा भने साताको पाँच -सोमबार-शुक्रबारसम्म) उडान गर्न अनुमति पाएको प्राधिकरणले जनाएको छ ।

एयर इण्डियाले भारतको राजधानी नयाँ दिल्लीबाट हरेक आइतबार, मंगलबार र शुक्रबार नेपाल उडान गर्नेछ । फ्लाई दुबईले भने दुबईबाट मंगलबार, बुधबार र शुक्रबार गरि सातामा तीन उडान गर्न अनुमति पाएको छ ।

जजिरा एयरवेजले कुवेतबाट हरेक दिन नेपाल उडान गर्नेछ । कोरियन एयरले हरेक बुधबार काठमाडौं उडान गर्ने भएको छ । मालिन्दो एयरको जहाज क्वालालाम्पुरबाट सोमबार, बुधबार र शनिबार काठमाडौं आउनेछ । मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौंमा उडान गर्ने गरि अनुमति पाएको छ ।

कतार एयरवेजले कतारको दोहाबाट काठमाडौंमा दैनिक २ उडान गर्ने गरि अनुमति पाएको छ । सलाम एयरले ओमानको मस्कटबाट आइतबार, मंगलबार र बिहीबार नेपालमा जहाज ल्याउने छ । टर्किस एयरलाइन्सले सोमबार, बिहीबार र शनिबार नेपाल उडान गर्ने भएको छ । सिंगापुर एयरलाइन्सले भने हरेक आइतबार नेपाल उडानको अनुमति पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment