News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेक लगायत भारतसँगको सीमा समस्या संवादबाट समाधान गर्ने दिशातर्फ दुवै देश उन्मुख रहेको बताएका छन्।
- नेपाल र भारतबीच सीमा समस्यामा टेक्निकल कमिटीले काम गरिरहेको र कूटनीतिक पहलबाट समाधान खोज्ने प्रक्रिया सक्रिय रहेको मन्त्री खनालले उल्लेख गर्नुभयो।
- मन्त्री खनालले मनसुन समयमा सीमा वार्ता नहुने तर विगतदेखि रोकिएको प्रक्रिया विंटर ड्राई सिजनमा पुनः सुरु भएको जानकारी दिनुभयो।
६ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संवादबाटै लिपुलेक लगायत भारतसँगको सीमा समस्या समस्या समाधान गर्ने दिशातर्फ दुवै देश उन्मुख रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्धत तथा पर्यटन समितिको बैठकमा यो विषय उठेको थियो । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश कुमार हमालले यो विषयमा सरकारको धारणा मागेका थिए ।
‘लिपुलेकको बारेमा हामीले नोट लेख्यौ । त्यसको रेसपोन्स के भयो ?’ सांसद हमालले सोधे ।
जवाफमा मन्त्री खनालले मानसरोवरको यात्राको इस्यु निस्किसकेपछि नेपालले कूटनीतिक नोट पठाएको स्मरण गराए ।
‘हामीले स्वभाविक हाम्रो आफ्नो दाबा क्लेमसहित नोट पठायौं । त्यो सीमाको विषयमा उहाँहरूले आफ्नो पनि क्लेम राखेकै विषय रह्यो । तर कूटनैतिक पहलद्वारा हल गर्ने भनेर उहाँहरुको पोजिसन आएको छ, उहाँको रिस्पोन्स आएको छ’ परराष्ट्रमन्त्री खनालले भने ।
उनका अनुसार नेपाल पनि सीमा समस्याको समाधान कूटनीतिक संवादमार्फत गर्न तयार छ । उनले भने, ‘हामीले पनि स्वभाविक रुपमा यो सीमा जस्ता विवादहरु कूटनीतिक छलफलबाट हुनुपर्छ भनेका छौं ।’ सीमामा दुवै देशले मिलेर काम गरिरहेको पनि उनले स्मरण गरे ।
उनले भनेका छन्, ‘तर आजको दिनमा पनि नेपाल र भारतको टेक्निकल कमिटीले यतिबेला पनि काम गरिराखेका छन् । लामो सीमा छ । त्यो सीमाका विषयलाई छुट्याउने क्रममा कमिटीले काम गर्ने कुरा आज पनि भइराखेको छ । यतिनै बेला पनि भइराखेको छ ।’
यो मनसुन समयमा हुन नसक्ने उल्लेख गर्दै उनले थपे, ‘मोस्टली विन्टर ड्राई सिजनमा हुन्छ । लामो समय रोकिएको थियो, गत वर्ष देखि त्यो प्रक्रिया सुरु भएर बोर्डर वर्किंग ग्रुपको टेक्निकल कमिटीले एक्टिभली काम गरिराखेको छ ।’
नेपाल र भारतका बीचमा लामो समयदेखि सीमाका विषयमा छलफल चलिरहेको भन्दै उनले रहेका समस्या संवादमार्फत समाधान गर्नेतर्फ दुवै देश रहेको बताएका हुन् ।
मन्त्री खनालले भनेका छन्, ‘मलाई लाग्छ लामो समयपछि नेपाल-भारत त्यो सीमाका विषयहरुमा पनि विस्तारै कूटनीतिक पहल र संवादबाट हामी उठेका विषयहरुलाई समाधान गर्ने दिशातर्फ उन्मुख छौं ।’
प्रतिक्रिया 4