२२ साउन, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले क्लबले लिओनल मेसीलाई अनुबन्ध गर्न नसकेको स्वीकार गरेका छन् ।
बिहीबार बार्सिलोनाले विज्ञप्ती जारी गर्दै मेसीले क्लबले छाड्ने जानकारी दिएको थियो । बार्सिलोनासँग यसअघिको सम्झौता सकिएपछि क्लब र मेसीबीच नयाँ सम्झौता गर्ने तयारी थियो । तर अन्तिम समयमा ला लिगाको आर्थिक नियम बाधक बन्दा बार्सिलोनाले मेसीलाई अनुबन्ध गर्न नसकेको जनाएको थियो ।
यस विषयमा शुक्रबार क्लबका अध्यक्ष लापोर्टाले पत्रकार सम्मेलन गर्दै क्लबको धारणा सार्वजनिक गरे । उनले मेसीलाई क्लबमा राख्न चाहेपनि नसकेको प्रष्ट पारे ।
‘लिओ बार्सामा बस्न चाहन्थे, हामी पनि उनी बसोस् भन्ने चाहन्थ्यौँ । लिओले सबै कुरा डिजर्भ गर्छन् । उनले बार्सिलोनालाई माया गर्छन् भन्ने प्रमाणित गरेका छन् ।’ लापोर्टाले मेसीको लेगेसी बारे भने ।
लापोर्टाले मेसीको तलबबारे कुनै गल्ती नगरेको तर ला लिगाको नियमका कारण मेसीलाई अनुबन्ध गर्न नसकको बताए । लापोर्टाले सुरुमा मेसीलाई दुई वर्षको रकम दिने गरी सम्झौता गर्ने तयारी रहेपनि ला लिगाको नियम अनुसार हुन नसकेको बताए ।
यस्तै लापोर्टाले क्लब १०० वर्ष पुरानो भएको र क्लब सबैभन्दा माथि यतिसम्मकी उत्कृष्ट भन्दा पनि माथि रहेको बताए ।
यस्तै उनले मेसीले क्लब, खेलाडी, प्रशिक्षकहरु अध्यक्षहरुप्रति गरेको सहयोगलाई धन्यवाद दिनुपर्ने बताए ।
लापोर्टाले अब मेसी बिनाको नयाँ युग सुरु हुने पनि बताए । ‘एउटा नयाँ युग अब सुरु हुन्छ । अब लिओ अघि र लिओ पछि भन्ने हुन्छ ।’ उनले मेसीलाई राम्रोसँग बिदाई गर्न चाहेपनि कोभिडका कारण गर्न नसकेको दु:ख व्यक्त गरे ।
यस्तै मेसीलाई फेरि क्ललबे अनुबन्भ गर्न सक्छ भन्ने प्रश्नमा लापोर्टाले आफूहरुले भ्रममा नराख्ने बताए । उनले गलत आशा नदेखाउने प्रष्ट पारे ।
मेसी नहुँदा नै क्लबमा तलबको सिमा रहेको र त्यस अवस्थामा समाधान निकाल्न सबैले काम गरिरहेको बताए ।
प्रतिक्रिया 4