२८ साउन, काठमाडौं । मछिन्द्र क्लबले मुख्य प्रशिक्षक प्रवेश कटुवालसँगको सम्झौता नवीकरण गरेको छ । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्लबसँग कटुवालले बिहीबार सम्झौता नवीकरण गरेका हुन् ।
४१ वर्षीय प्रवेशले आगामी सिजनका लागि सम्झौता नवीकरण गरेको मछिन्द्र क्लबले जनाएको छ । ‘हाम्रो मुख्य प्रशिक्षक प्रवेश कटुवालले २०२१–२२ सिजनका लागि सम्झौता नवीकरण गरेका छन्,’ क्लबले भनेको छ ।
मछिन्द्रलाई पहिलो पटक लिग उपाधि जिताउँदा प्रवेश नै प्रशिक्षक थिए । २०७६ मा भएको ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी लगायत विभिन्न क्लबबाट स्टार खेलाडी भित्र्याएर मछिन्द्र च्याम्पियन बनेको थियो ।
यस पटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित मछिन्द्रले टिम बनाइरहेको छ । नेपाली घरेलु फुटबलका ‘अनसङ हिरोज’का रुपमा रहेका प्रवेशले उमेर समूहको राष्ट्रिय टिममा खेले पनि सिनियर टिममा भने कहिल्यै खेल्न पाएनन् ।
२०५७ सालमा थ्री स्टारबाट ए डिभिजन लिग खेल्न थालेका प्रवेशले खेलाडी जीवन टुंगाएपछि प्रशिक्षकको भूमिका सम्हाल्न थालेका हुन् । उनले सन् २०१७ मा एएफसी ए लाइसेन्स कोर्स गरेका थिए ।
प्रवेशले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा लिग जितेका छन् । उनले २०६१ सालमा थ्री स्टारबाट खेलाडीको रुपमा लिग जितेका थिए भने पछिल्लो पटक २०७६ सालमा उनले मछिन्द्रलाई प्रशिक्षकको रुपमा च्याम्पियन बनाए । प्रवेशले २०६८ सालमा मछिन्द्रबाटै लिग खेलेका थिए ।
प्रतिक्रिया 4