२४ असोज, काठमाडौं । सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाकिस्तानकी मलाला यूसुफजई र भारतका कैलाश सत्यार्थीलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ ।
स्टकहोममा केहीबेर अघि पुरस्कार विजेताको घोषणा भएको हो । मलाला १७ वर्षकी किशोरी हुन् ।उनी सबैभन्दा कम उमेरमा नै नोबेल शान्ति पुरस्कार पाउने व्यक्ति बनेकी छन् ।
६० वर्षका कैलाश बाल अधिकारका अभियन्ता हुन् ।
को हुन् मलाला ?
महिला शिक्षाका लागि अभियान चलाएकी पाकिस्तानी किशोरी मलालामाथि चरपमन्थीले आक्रमण गरेको थियो । घटनापछि उनको जिन्दगी नै पूर्ण रुपमा बदलियो ।
संसारलाई नै स्तब्ध पारेको उक्त घटनामा मलाला बाँचिन् र साथसाथै उनको अन्तराष्ट्रिय ख्याती भयो ।
उनीले गत वर्ष अन्तराष्ट्रिय बाल शान्ति पुरस्कार जितेकी थिइन् । उनले इयुको प्रतिष्ठित शाकारोभ मानवअधिकार पुरस्कार पनि पाइसकेकी छन् ।
२०१२ अक्टोबर ९ मा स्वात घाटीमा स्कुलबाट र्फकने क्रममा तालिबानले उनीको टाउकोमा गोली हानिएको थियो । केही समय पाकिस्तानमा उपचार गरेर उनलाई बेलायत लगिएको थियो ।
उनी अहिले पनि बर्मिङग्घमा बस्छिन् । उनलाई टाइम म्यागजिनले २०१३ को प्रभावशाली व्यक्तिको सूचीमा समेत राखेको थियो । उनको आत्मकथा समेत प्रकाशित भएको छ । उनले संयुक्त राष्ट्रसंघलाई समेत सम्बोधन गरिसकेकी छन् ।
कैलाश : बाल अधिकारका अभियन्ता
नोबेल शान्ति पुरस्कार पाउने भारतका ६० वर्षीय कैलाश सत्यार्थी बालअधिकारकर्मी हुन् । कैलाशले सन् १९८० देखि भारतमा बालश्रम विरुद्ध अभियान सञ्चालन गर्दै आएका छन् ।
कैलाशको ‘बचपन बचाओ आन्दोलन’बाट ८० हजार वालवालिका लाभाविन्त भइसकेका छन् । उनको अभियान भारतमा मात्रै नभई युरोप र अमेरिकासम्म विस्तारित भइसकेको छ ।
‘ग्लोबल पार्टनरसीप फर एजुकेशन’ मार्फत कैलाश युनेस्कोसँग पनि जोडिएका छन् । उनले वालवालिकाकाका लागि ‘सबैका लागि शिक्षा’ अभियानमा जोड दिँदै आएका छन् ।
प्रतिक्रिया 4