२ फागुन, काठमाडौं । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले शनिबार दिल्लीको मुख्यमन्त्रीको सपथ लिएका छन् ।
उनले ऐतिहासिक रामलिला मैदानमा उपराज्यपाल नवीब जंगसमक्ष दिल्लीको आठौं मुख्यमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएका हुन् । आपका ६ मन्त्रीले पनि सपथ लिएका छन् ।
सपथका लागि केजरीवाल मेट्रो बजारबाट कारमा गएका थिए । केजरीवाल दोस्रो पटक दिल्लीको मुख्यमन्त्री बनेका हुन् ।
यसअघि २०१३ मा भएको निर्वाचनमा आप दोस्रो ठूलो पार्टी बनेपछि कांग्रेसको समर्थनमा केजरीवाल ४९ दिन मुख्यमन्त्री भएका थिए ।
ठिक एक वर्ष पहिले उनले १४ फेब्रुअरीका दिन जनलोकपालको मुद्दामा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
दिल्लीलाई भ्रष्टाचार मुक्त शहर बनाउने
सपथपछि केजरीवालले छिट्टै लोकपाल विधेयक पास गर्न प्रयास गर्ने र पाँच वर्षमा दिल्लीलाई भ्रष्टाचार मुक्त शहर बनाउने बताएका छन् ।
दिल्ली विधानसभा चुनावमा भाजपाका मुख्यमन्त्री उम्मेदवार किरण बेदीको नाम लिँदै उनले उनको सम्मान गर्ने र उनीसँगै मार्गदर्शन लिएर सरकार चलाउने बताएका छन् ।
साथै उनले आफ्ना मन्त्री, विधायक र कार्यकर्तालाई अहंकारबाट बच्न सुझाव दिए । दिल्लीमा भइरहेको साम्प्रदायिक हिंसा उल्लेख गर्दै मुख्यमन्त्री केजरीवालले यस्तो राजनीति स्वीकार्य नहुने बताएका छन् ।
हालै भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ऐतिहासिक जित हात पार्ने क्रममा ७० मध्ये ६७ जित जितेको छ । ३ सिट भारतीय जनता पार्टीले जितेको छ ।
प्रतिक्रिया 4