Comments Add Comment

कस्तो घर बनाउने ? वर्षा लाग्न आँट्यो !

२८ वैशाख, काठमाडौं । राजधानीमा भूकम्प प्रभावितलाई कस्तो घर बनाइदिने भन्ने बहस चलिरहेको छ । सरकार त्रिपाल बाँड्न लागिपरेको छ भने भूकम्प पीडितहरु चाहिँ वर्षा कट्ने छानो माग गरिरहेका छन् ।

Home sweed home (11)
इन्जिनियरिङका विद्यार्थीहरुले भूकम्प प्रभावितहरुको अस्थायी आवासका लागि विकल्प अघि सारेका छन् । पुल्चोकमा नमुना टनेल घर बनेको छ भने बुङ्गमतीमा नमूना घर अन्तिम चरणमा पुगेको छ ।

विभिन्न कलेजमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुको समूह ‘हामी सक्छौं’ ले स्थानीय सूर्यलाल तुलाधरका लागि घर बनाइरहेका छन् ।

Home sweed home (1)

अनलाइनखबरको टोली बुङमती पुग्दा भुवन गुरुङ र प्रतीक पोखरेलको टीम बाँस ओसार्दै थिए । ‘भूकम्पमा उद्धार र राहतपछि पुनःस्थापना महत्वपूर्ण हुन्छ’ पोखरेलले भने-‘हाम्रो तर्फबाट के गर्न सक्छौं भनेर छलफल गरेर यो प्रयास सुरु गरेका हौं ।’

यो अभियानमा पुल्चोक क्याम्पसका साथै नेपाल इन्जिनिरिङ कलेज र हिमालय कजेलका विद्यार्थीहरु पनि संलग्न छन् । उनीहरुले स्थानीय स्रोत साधन र भूकम्पले भत्किएको घरको सामाग्री प्रयोग गरेर घर बनाएका छन् ।

नेपाल इन्जिनियरिङ कलेजमा सिलिभ तथा ग्रामीण इन्जिनियरिङको अध्ययन गरिरहेका चित्रकुमार केसीले भने-‘हाम्रो उद्देश्य भनेको प्रभावितलाई पुरानै जीवनमा फर्काउने हो ।’ आफूहरुले बनाएको अस्थायी आवास समाजले स्वीकार गर्ने गरी बनाएको उनले बताए ।

विद्यार्थीहरुले घर बनाइनसक्दै सूर्यलालको परिवार भने सरिसकेका छन् । बस्ने घर भत्किएपछि बस्ने ठाउँ नभएकाले सरेको उनीहरुले बताए
विद्यार्थीहरुले घर बनाइनसक्दै सूर्यलालको परिवार भने सरिसकेका छन् । बस्ने घर भत्किएपछि बस्ने ठाउँ नभएकाले सरेको उनीहरुले बताए

उनीहरुले बनाएको घरमा भत्किएको घरको माटोलाई बोरामा राखेर एकमाथि अर्को खापिएको छ र चारैतिर भित्ता बनाइएको छ । एक मिटरभन्दा अग्लो भएपछि बाँकी भागमा बाँसले बारिने बताइएको छ । यसलाई बाहिरबाट भुँस, गोबर लगायतले लिपिनेछ ।

नमूना घरमा १२ वटा खाँबा गाडिएका छन् र त्यसमाथि जस्ताको छाना हालिएको छ । सूर्यलालको १० जनाको परिवारका लागि बनाइएको घरमा ४०० वटा बोरा, १२ फुटको जस्ता १२ पाता, झण्डै ३५० मिटर तार, १२ वटा खाँबो र ३० वटा बाँस प्रयोग भएको छ । जस्ता नभएको स्थानमा स्थानीय खर वा छ्वाली प्रयोग गर्न सकिनेछ ।

भूकम्पपछिका तीन प्रकारका जोखिम बाढी, आगो र पराकम्पनबाट बच्ने गरी घर बनाइएको भुवन गुरुङले दाबी गरे । हिमालय कजेल इन्जिनियरिङका विद्यार्थी भुवनले भने-यो बस्नका लागि सहज छ, स्थायी आवास बनेपछि यसलाई अर्को प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।’
यस्ता घरहरु बनाउन थोरै पैसा लाग्ने र २५ जनाको एक दिनको श्रमले पुग्नेछ । इन्जिनिरिङका विद्यार्थीहरुले बनाएको घर हेर्न विभिन्न संघ संस्था र स्थानीयासीहरु पनि पुग्ने गरेका छन् ।

विद्यार्थीहरुले बनाएको घरको स्केच
विद्यार्थीहरुले बनाएको घरको स्केच

यदि यस्ता घरहरु बनाउने हो भने आफूहरुले सहयोग गर्ने विद्यार्थीले बताएका छन् । ‘यसलाई संस्थागत रुपमा अघि बढाइयो भने सहज हुन्छ’ रोहित बास्तोलाले भने-‘यदि कुनै गाउँमा बनाउने हो भने हामी त्यहाँ गएर सुरुमा सहयोग गर्न तयार छौं ।’

पुल्चोकमा अर्को घर बन्यो

Home sweed home (2)

पुल्चोक इन्जिनियरिङ कजेलका आर्किटेक्चरका पासआउट भइसकेका विद्यार्थीहरुले मिलेर भूकम्प प्रभावितका लागि नमूना टनेल घर बनाएका छन् ।

अल्पकालीन सेल्टरका रुपमा बनाएका यो घरमा जस्ता र रडको प्रयोग गरिएको छ । साथै स्थानीय स्तरमा उपलब्ध हुने माटो वा ईंटा पनि प्रयोग गरिनेछ ।

तस्वीरमा देखिएको यो घर चारजनाको परिवारलाई लक्षित गरेर बनाइएको हो । यसमा तीनवटा फलामका रड र १२ फुटका तीन जस्ता प्रयोग भएको छ । यहाँ ईंटा प्रयोग गरिएको छ । गाउँहरुमा बनाउँदा ढुंगा वा बाँसलाई पनि प्रयोग गर्न सकिनेछ ।

गर्मी र सित छल्न जस्तामाथि प्लास्टिक राखेर स्याउलाहरु राखिएको छ । यो जस्ताहरु पुनः प्रयोग गर्न सकियोस् भनेर काँटी राखिएको छैन, तारले बाँधिएको छ । दृष्टि मानन्धरले भनिन्-पाँचजनाको समूहले एक दिनमा १० बटासम्म यस्ता घर बनाउन सक्छन् र उसको लागत पनि झण्डै १५ हजार मात्र छ ।’

Home sweed home (14)

विद्यार्थीहरुले पहिलो चरणमा सिन्धुपाल्चोकको लिसंखुमा १०० घर बनाइदिने योजना बनाएका छन् । ‘हाम्रो १० जनाको टीम जान्छ र स्थाानीयलाई सहयोग गर्छन्’ मानन्धरले अनलाइनखबरसँग भनिन्- ‘त्यो टिम फर्किएपछि अर्को टीम जान्छ ।’

टनेल घर बनाउन विद्यार्थीहरुले डण्डी र जस्ता भने काठमाडौंबाट लैजानेछन् । लिसंखुमा भूकम्पले अधिकांश घर भत्किएका छन् । भत्किएका मध्ये ३/४ बटा मात्र टिनको छाना भएका थिए ।

 Home sweed home (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment