Comments Add Comment

सुशीलमाथि देउवा पक्षको आशंका-फेरि महाधिवेशन सार्न खोजेको त होइन ?

Nepali-Congress

१६ साउन, काठमाडौं । नेपाली कांग्रेस बैठकमा महामन्त्री कृष्ण सिटौलाले गाउँ, क्षेत्र र जिल्लाको अधिवेशन मिति सार्ने प्रस्ताव गरेपछि देउवा पक्षले बबाल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पालमुनी बसेको संसदीय दल र केन्द्रीय समितिको बैठकमा संविधान प्रारम्भीक मस्यौदाबारे छलफल भइरहेको थियो ।

महामन्त्री सिटौलाले गाउँ, क्षेत्र र जिल्लाको अधिवेशन मिति सार्ने प्रस्ताव गरे । उनले १५ गते गाउँ, २२ गते क्षेत्र र २५ गते जिल्ला अधिवेशन गर्ने प्रस्ताव गरे ।

तर, वरिष्ठ नेता शेरबहादुर पक्षले सिटौलाको प्रस्तावको ठाडै अस्वीकार गरेका छन् । केन्द्रीय सदस्यहरु बालकृष्ण खाँड, प्रकाशशरण महत लगायतका नेताले सिटौलाको प्रस्तावको चर्को विरोध गरेका छन् ।

संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले अधिवेशन सार्ने निर्णय गर्न नसक्ने देउवा पक्षले बताएको छ । साथै संविधानलाई देखाएर अशोसमा गर्ने भनिएको महाधिवेशन नै सार्न खोजेका देउवा पक्षको आशंका छ ।

‘यो केन्द्रीय समितिमा छलफल गर्नु पर्ने विषय हो’ महतले अनलाइनखबरसँग भने-‘अर्को कुुरा संविधान साउन ३१ मा आउँछ भन्ने आधार के ? फेरि केही दिन समय चाहियो भनेर केन्द्रीय महाधिवेशन नै सार्न खोजेको त होइन ?’

यसअघि गाउँ नगर अधिवेशन साउन १४ क्षेत्रीय २२ र जिल्ला अधिवेशन साउन २६ मा तय भएको थियो । साथै केन्द्रीय महाधिवेशन भदौ २४ देखि २८ सम्म गर्ने तय भएको थियो ।

तर, संविधान निर्माणमा केन्दि्रत हुनु पर्ने भन्दै कांग्रेसले केन्द्रीय अधिवेशन असोज २ देखि ५ मा गर्ने निर्णय गरेको छ । गाउँ तथा नगर भदौ १, क्षेत्र ७ र जिल्ला अधिवेशन भदौ १० गतेका लागि तोकिएको छ ।

कांग्रेसको संस्थापन पक्ष असोजको महाधिवेशन सार्ने प्रयासमा छ । सभापति सुशील कोइराला आफ्नो नेतृत्वमा संविधान जारी गरेर फेरि सभापति बन्ने दाउमा छन् । अन्य पदका लागि महत्वकाक्षी धेरै भएकाले पनि मिलाउन निकै गाह्रो परेको छ ।

तर, देउवा पक्ष भने कोइरालालाई अनुकुल परिस्थिति बनाइदिने पक्षमा छैन । देउवा पक्षका एक नेताले भने-‘गाउँ तथा जिल्ला अधिवेशन एक साता अघि पछि गर्न सकिन्छ तर, यो महाधिवेशन सार्ने खेल हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment