Comments Add Comment

बिमा रकमले केरा किसान उत्साहित

२० साउन,  चितवन । हावाहुरीका कारण केरा ढलेर चितवनको जुटपानीका किसान गोविन्द दाहाललाई विगतमा लाखौँ रकमको केरा क्षति भएको थियो । तर उहाँ यसपाली भने पीडित बन्नुपरेन ।

चार हजार ६०० बोट केरा ढलेर करिब रु १० लाखको केरा क्षति बेहोर्न पुग्नुभएका दाहालले यसपाली रु नौ लाख २७ हजार बिमा गरेबापत केराको क्षतीपुर्ती पाए । यसअघि प्रतिबोट क्षतिको ५० पैसादेखि एक रुपैयाँसम्म क्षतिपूर्ति पाउँदै आएका किसान अहिले प्रतिबोट रु २०० पाउँदा खुसी भएका छन् । यो भनेको क्षतिको ९० प्रतिशत क्षतिपूर्ति हो ।

दाहालले २६ बिगाहामध्ये नौ बिगाहामा केराको बिमा गर्नुभएको थियो । अहिले चार बिगाहा केरामा क्षति पुगेको छ । बिमाका कारण यसपाली घाटा खानु नपर्ने भएको केरा किसान यज्ञ सुवेदीले बताउनुभयो । यो वर्ष ३३ जना किसानले केराको बिमा गरेका छन् । उनीहरुमध्ये धेरैले क्षतिपूर्ति पाए भने कति पाउने प्रक्रियामा रहेका छन् । केरा किसान गोविन्द दाहाल क्षतिपूर्ति पाउने भएपछि केरा खेतीमा हौसिएको बताउछन ।

उनीसँगै केरा किसान कृष्ण भट्टराई, सञ्चर तामाङ, खेम भट्ट, खड्ग ढुङ्गाना, रेवती भट्ट र हिमनिधी तिवारीको पनि यसपालि आएको हावाहुरीले केरा क्षति भएको थियो । उनीहरुले पनि हालैमात्र क्षतिपूर्ति पाउनुभएको केरा व्यवसायी सङ्घ चितवनका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए ।

बिमाबापतको रकममध्ये सात किसानले समग्रमा  साँढे ११ लाख बढीको बिमा राहत बुझिसकेको सङ्घले जनाएको छ । अन्यको पनि प्रक्रियामा छ । यस वर्ष जिल्लाका किसानले हावाहुरीका कारण पाँच करोडको केरा क्षति व्यहोरेका थिए । केरामा क्षति बेहोर्नु नपर्ने भन्दै अब सबै किसान बिमामा लाग्नुपर्नेमा संघले जोड दिएको छ ।

सरकारले कृषि बिमा गर्न चाहने किसानका लागि अघिल्लो वर्ष कुल बिमाको पाँच प्रतिशत प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको थियो । तर यो वर्ष बढाएर ७५ प्रतिशत पुर्याइएको र त्यसमा पनि समूह या सहकारीमार्फत बिमा गरिए प्रिमियम शुल्कमा १५ प्रतिशत कमिशनबापत छुटको व्यवस्था गरेको छ । जिल्लामा एक हजार ९०७ बिगाहामा केराखेती हुन्छ । छ सय २० जना किसान केरा खेतीमा संलग्न छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment