Comments Add Comment

विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको निधन

Chandra-Bahadur-Dandi

१८ भदौ, काठमाडौं । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीको निधन भएको छ ।

अमेरिका भ्रमणमा रहेको उनको उपचारका क्रममा निधन भएको हो । अमेरिकाको ल्याण्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा उपचारका क्रममा उनको शुक्रबार निधन भएको हो । गिनिज बुकले पनि डाँगीको निधन भएको पुष्टि गर्दै श्रद्धान्जली दिएको छ ।

डाँगीको म्यानेजरको भूमिका समेत निभाइरहेका गिनिज बुक अफ दि रेकर्ड होल्डर थानेश्वर गुरागाईँले अनलाइनखबरसँग भने-‘उहाँको भतिजा दोलख डाँगीले यो दुःखद खबरबारे जानकारी दिनु भएको हो ।’

Chandra-Bdr-Dangi

तस्वीरः थानेश्वर गुरागार्इँको फेसबुक पेजबाट

थानेश्वरका अनुसार चन्द्रबहादुर र दोलख ६ महिनाका लागि अमेरिका गएका थिए । तर, पछिल्लो समय निमानिया देखिएपछि अस्पताल भर्ना भएका थिए ।

थानेश्वरका अनुसार चन्द्रबहादुर डाँगीको निधन भएको गिनिज बुक अफ दि वल्र्ड रेकर्डको कार्यालयमा समेत जानकारी गराइसकिएको छ ।
उनले डाँगीको शव नेपाल ल्याइने बताए । उनले भने-‘प्रोसस केही थाहा छैन । सरकारले के सहयोग गर्छ हेरौं, तर, जसरी पनि उहाँको शव नेपाल ल्याउँछौं ।’

अमेरिकामा अहिले रात परेको छ । र, त्यहिँ कारण थप जानकारी प्राप्त भएको छैन । यद्यपी एक जना नेपालीसँग कुरा गरेको उनले बताए ।

को हुन् चन्द्रबहादुर ?

बुवा बेलबहादुर डाँगी र आमा मोतीकला डाँगीको कोखबाट १९९६ मंसिर १५ मा सल्यानमा जन्मिएका चन्द्रबहादुर हाल दाङको पुरन्धारा ९ रिमखोलामा भतिज दोलख डाँगीसँग बस्दै आएका थिए ।

सामान्य लेखपढ गर्न मात्र जान्ने चन्द्रबहादुर मादल र बाँसुरी बजाउन शौखिन थिए । उनी दोहोरी गाउन पनि खप्पिस थिए ।

कसरी भए सार्वजनिक ?

२०६५ माघमा दाङको तुलसीपुरमा सञ्चालित व्यापार महोत्सवमा उनलाई पहिलोपटक सार्वजनिक गरिएको थियो । त्यतिबेला स्टल नै खडा गरेर उनलाई राखिएको थियो ।

तुलसीपुरमा आयोजित महोत्सवमा हापुरे उद्योग वाणिज्य संघको पहलमा उनलाई पहिलोपटक सार्वजनिक गरिएको थियो । त्यतिबेला उनलाई गिनिज बुकमा नाम लेखाउने भन्दा विभिन्न संस्थाले पैसा कमाउने स्रोतको रुपमा मात्र प्रयोग गरिएपछि डाँगीको चर्चा त्यसै सेलाएको थियो ।

तीन बर्षपछि २०६८ सालमा डाँगी बन्धु ट्रष्टको कार्यक्रममा झापामा पुगेको बेला उनको एकाएक चर्चा शुरु भएको थियो ।

डाँगीले २०६८ फागुन १४ गते विश्वकै होचा व्यक्तिको प्रमाण पत्र पाए । लन्डनबाट आएका गिनिज बुकका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेमी भएको प्रमाणित गरेका थिए ।

उनको उचाई १ फिट साढे नौं इन्च अर्थात ५४. ६ सेन्टिमिटर थियो । उनको तौल १५ किलो मात्र थियो ।

मृत्युपछि पनि रेकर्ड रहनेछ 

मृत्युपछि पनि चन्द्रबहादुरको नाम अहिलेसम्म भेटिएका होचा व्यक्तिको रुपमा गिनिज बुकमा रहेछ ।

चन्द्रबहादुरले कीर्तिमान राख्नु अघि अहिलेसम्म भेटिएका होचा व्यक्तिको रेकर्ड भारतका गुह मोहम्मदको नाममा थियो । यस्तै जिवित व्यक्तिको रेकर्ड भने फिलिपिन्सका वालाविङको नाममा थियो ।

यो पनि पढ्नुस् 

विश्वकै होचा चन्द्रबहादुर र अग्ला सुल्तानबीच यसरी भयो भेट (फोटो फिचरसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment