Comments Add Comment

नेपाल ‘सन्धी अनुवन्धित’ राष्ट्र हो, छिमेकीलाई सन्तुष्ट पारौं

Damannath-Dhungana

दमननाथ ढुंगाना

संविधान आइसकेका बेलामा पनि यो राष्ट्र गतिहीनताको अवस्थामा छ । हामीले संविधान ल्याउने बेलामा कस्तो वातावरणमा संविधान ल्यायौं ? थारुहरु आन्दालने गर्दै थिए । मधेसमा आन्दोलन चलिसकेको थियो । मधेसका केही दलहरु असन्तुष्टि जनाएर बाहिर गइसकेका थिए । तर, हामीले हेर्न सकेनौं । यसमा म कुनै एउटा दल जिम्मेवार भन्दिँन । हामी सबै सामुहिकरुपले जिम्मेवार छौं ।

निरंकुशता लादेर संविधान ल्याइयो

मधेसका दलहरु किन बाहिर गए, कसैले सम्झिएन । १२ बुँदे सहमति भारतीय अग्रसरतामा भएको हो । त्यसमा लुकाउनुपर्ने कुरा छैन । जवसम्म हामीले यसलाई स्वीकार गर्दैनौं । तबसम्म द्वन्द्वको तार्किक अवतरण हुन सक्दैन ।

अहिले मुलुक १२ बुँदे र १६ बुँदेको समानान्तर द्वन्द्वमा यहाँ पुगिराखेको छ । किन भनेदेखि हामी हिंसात्मक माओवादी द्वन्द्वपपछि संविधानसभाको बाटोबाट फेरि नदोहोरिने र सबैले संविधानसभामार्फत् उत्साहका साथ हिँड्ने एउटा संकल्प सहितको, युद्धपछिको शान्तिकाल हो । तर, भैदियो के भने झन् हिंसा र द्वन्द्व बढाउने पृष्ठभूमिमा संविधान आयो ।

किन थारुमाथि गोली चलाउनुपर्‍यो ? तिनीहरु सत्याग्रही थिए । आन्दोलनकारी थिए । किन मधेसमा बर्बर सरकारी शक्ति प्रदर्शन गुर्नपरेको थियो ? तिनीहरुले त अधिकार मागिराखेका थिए । अधिकारको आन्दोलन थियो । मधेसले कहिल्यै यो राज्यबाट समानताको बोध गर्न सकेन । बराबरीको बोध गर्न सकेन । यो अभिव्यक्त हुन्छ भने त त्यसलाई हामीले सकारात्मकरुपमा लिनु पर्दथ्यो । त्यसलाई हामीले सामाजिक पुँजीका रुपमा लिनुपर्दथ्यो । त्यो हाम्रो राष्ट्रको भुभाग हो । त्यसमा केही चित्त नबुझेको छ भने उनीहरुले बोल्नुपर्छ ।

तर, हामीले त्यसलाई यसरुपमा नलिएर राज्यशक्तिको प्रयोग गर्‍यौं । त्यसले गर्दा जुन सीमान्तीकृत समुदाय थियो, मधेस भनौं, जनजाति भनौं या दलित भनौं, संविधान आउनुभन्दा अगाडि जनजाति र दलितमाथि लाठी चार्ज भयो । यसरी निरंकुश वातावरणमा संविधान आयो ।

यसले गर्दा सीमान्तीकृत समुदाय, खासगरी मधेसलाई जहाँ थियो, त्यहाँभन्दा धेरै पर धकेल्ने काम भयो । मलाई लाग्छ, असन्तुष्टिको जडै यहीँ छ । १२ बुँदेको तार्किक अवतरण गर्नलाई अवरोध गरिएको छ । ठूलो ढुंगा ल्याएर खडा गरिएको छ । त्यसले चाहेबमोजिमको संविधान नआओस् भन्ने परिपञ्च रचिएको छ । यसलाई हामीले सम्बोधन गर्न सकेनौं ।

बहुआयामिक द्वन्द्व सुरु भयो

अब जस्तो कि अहिले भन्नुहोस् । द्वन्द्वको दृष्टिकोणले म एक दुईवटा पोइन्ट भन्न चाहन्छु । हामीले ००७ सालदेखि ०६२/०६३ को आन्दोलनमा पनि हामीले द्वन्द्वको निरुपण गरेनौं । थामथुममात्रै गर्‍यौं । यस्तो अवस्थामा हामीले किन संविधान ल्यायौं ? यसको उत्तर हामीलाई चाहिन्छ ।

अहिले हामी बहुआयामिक द्वन्द्वको चरणमा आइपुगेका छौं । अहिले काठमाडौंलाई मधेस र थारुको आन्दोलनले छोएको छ कि छैन भन्ने कुरा पनि छ । ग्यास छैन, पेट्रोल छैन भनेर मात्रै थाहा भएको हो कि जस्तो लाग्छ, यो राजनीतिक समस्याले छोएको जस्तो लाग्दैन ।

जसरी ०६२/०६३ को आन्दोलनमा माओवादीलाई राज्यको शक्तिको रुपमा नलिने भन्ने भएको थियो, त्यसैगरी अहिले हामी अब फेरि नयाँ द्वन्द्वमा ‘इन्गेज’ भइसक्यौं । यसले गर्दा अब हाम्रो द्वन्द्व बहुआयामिक भइसकेको छ । अब वार्ता गर्ने भनेको छ, वार्ता कोसँग गर्ने ? संविधान छाडेर जाने मधेसका दलहरुसँग गर्ने कि आन्दोलनकारी युवा जमातसँग गर्ने कि कोसँग गर्ने ? के अहिले आन्दोलनमा रहेका मधेसका दलहरुले आन्दोलन छाडेर वार्ता गरेर केही आश्वासन दिन सक्छन् ? अब धेरै जटिल भइसकेको छ ।

हामी ‘सन्धी अनुवन्धित’ छौं

घरेलु नीतिको विस्तार नै विदेश नीति हुन्छ । नेपालमा देखिन्छ के भने कहाँबाट आन्तरिक नीति सुरु हुन्छ, कहाँबाट बाह्य नीति शुरु हुन्छ, त्यसको बोर्डर लाइन नै हामीले पत्ता लाउन सक्दैनौं ।

यहाँ हाम्रा हरेक आन्तरिक नीति चाँहि बाह्य नीतिसँग अन्योन्याश्रति छन् । त्यसकारण मैले भन्नुपर्दाखेरि हामी नेपालीले हाम्रो ‘स्ट्राटेजिक लोकेसन’ बुझेकै छैनौं । कुनै राष्ट्रले हामी कहाँ छौं भन्ने रणनीतिक अवस्थिति चिन्नुपर्छ । हामी राष्ट्र को हौं भनेर चिन्नुपर्छ । हाम्रो राष्ट्र कहाँ छ ? कहाँ बसेको छ ? हाम्रो अवस्थिति कहाँ बसेको छ ? हाम्रो लोकेसन कहाँ छ ? त्यसलाई हामीले बुझ्नुपर्छ । अनिमात्रै हाम्रो आन्तरिक राजनीति अगाडि बढ्न सक्छ । मलाई लाग्छ, यो हामीले कहिल्यै गर्न सकेनौं । हामीले ‘स्ट्राटेजिक लोकेसन’ अनुसार हामी जहाँ बसेका छौं, त्यसको अनुकूल राजनीति गर्न सकेनौं ।

यसको मतलव भारतीय प्रभावको हाम्रो राजनीति होस, हामी स्वतन्त्र भएर राजनीति गर्न सक्दैनौं भन्ने होइन । तर, केही चित्त बुझाउने कुराहरु हुन्छन् । सन्तुष्टि गर्नुपर्ने पक्षहरु हुन्छन् ।

आन्दोलनकालमा हामी बाहिरबाट सहयोग लिन्छौं, त्यसपछि हामी निष्ठावान हुन सक्दैनौं र फेरि अर्को द्वन्द्वमा प्रवेश गर्छौं । ००७ सालदेखि हामीले त्यही गरेर आयाैं । नेपाल यसरी नै द्वन्द्वको विभिन्न चरणबाट गुज्रेर गइरहेको छ ।

त्यसकारण पनि मलाई लाग्छ, यसको निश्कर्ष के हुन्छ भनेदेखि हामीले ‘स्ट्राटेजिक लोकेसन’ लाई विचार गरेर, तपाईहरुले ‘स्ट्राटेजिक लोकेसन’ भनेको इण्डियामात्रै हो भनेर नबझ्नुहो्स् । हाम्रो उत्तरपट्टी चीन पनि छ । त्यसैले हामीले समझदारी गरेर अघि बढ्नुपर्छ ।

यसो गरिएन भने हाम्रो आन्तरिक राजनीति जति सुधार्न खाजे पनि हाम्रो स्टेट पोलिसी केही पनि हुँदैन । स्टेट पोलिसी नै हुँदैन, जबसम्म हामी छिमेकीहरुलाई सन्तुष्ट गर्न सक्दैनौं । अथवा उनीहरुलाई विश्वासमा लिन सक्दैनौं । अथवा उनीहरुसँग कन्सल्टेसनमा आउने नीति बनाउन सक्दैनौं । हामी अगाडि बढ्न सक्दैनौं । हाम्रो इतिहासले यही भन्छ । यो कटुसत्य हामीले स्वीकार गर्न सक्यौं भने हाम्रो भविश्य छ, स्वीकार गर्न सकेनौं भने हाम्रो धेरै द्वन्द्वपछि द्वन्द्वमै गइरहन्छौं । हामी सधैं संविधानको द्वन्द्वमा हुनेछौं र कार्यान्वयनमा हामीलाई गाह्रो पर्नेछ ।

हाम्रो देश ‘ट्रिटी बाउण्ड’ (सन्धीबाट अनुवन्धित राष्ट्र) हो । जस्तो १९५० को सन्धी । मेरो सेक्युरिटी इन्ट्रेस्ट छ भनेर इण्डियाले भनिराखेको छ, त्यो के हो ? ००७ सालदेखि हामीले त्यसको जवाफ कहिल्यै खोजेनौं । पटकपटक हामीले १९५० को सन्धी रिभ्यु गर्नुपर्छ भन्यौं । कहिल्यै हामीले रिभ्यु गर्‍यौं ? त्यसकारण के छ भने हामी सन्धीबाट निर्देशित राष्ट्र पनि हौं । एउटा ‘ट्रिटी बाउण्ड’ राष्ट्रले त्यसका प्रावधानहरु पूरा पनि गर्नुपर्छ ।

यसको मतलव हस्तक्षेप हुँदैन, स्वतन्त्रता गुमाउने भन्ने हुँदैन । यसको मतलव छिमेकीहरुको कसरी सदभाव लिने भन्ने कुरा हुन्छ । त्यो हामीले कहिल्यै पनि गरेनौं । त्यसकारणले मलाई लाग्छ, यो इण्डियासँग मात्रै होइन, चीनसँग पनि हामीले बहुपक्षीय समझदारीको विकास गर्न सकेनौं भने त्यो हाम्रो लागि दूरगामी र अग्रगामी परिवर्तनको चरण हुनेछैन । फेरि पनि द्वन्द्व र हिंसाकै चरण हुनेछ ।

(आइतबार राजधानीमा डा. बाबुराम भट्टराईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ढुंगानाले व्यक्त गरेको विचार । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment