Comments Add Comment

१२ वर्षपछि मनाएको प्रवासीको दसैं 

डा. लीला राज दाहाल

सन २००४ को अगस्ट महिना अर्थात बि.सं. २०६१ साल भदौमा अमेरिकाको ओहायो बिश्विद्यालय एथेन्समा भौतिक शास्त्रमा बिद्यावारिधी, पि. एच. डी., गर्न आएयता नेपालमा बुवा-आमा भाइ-बहिनी लगायत आफन्तहरुसँग मिलेर दसैं मनाउने अवसर जुटेको थिएन । एक वर्षपछिको मंसिरमा बिवाह गर्न नेपाल त गइयो, तर त्यसयता नेपाल गएर परिवारसँग दसैं मनाउने मौका मिलिरहेको थिएन । यद्यपि अमेरिका आएकै वर्ष २०६१ को दसैंदेखि नै जमरा राखेर तथा केहि वर्ष पछिदेखि चण्डी पाठ  समेत गरेर मौलिक रुपमा दसैं मनाउने हरसम्भव प्रयाश भने निरन्तर जारी रह्यो । पछि सन २००६ को अगस्ट अर्थात २०६३ को भदौदेखि ओहायोकै टोलेडो विश्वविद्यालयमा आएर अलि ठुलो नेपाली समुदायसँग दसैं मनाउन थालियो । संयोगवस पि. एच. डी. सकेर सन २०११ देखि स्थानीय शीसा कम्पनीमा बरिष्ट बैज्ञानिकको रुपमा कार्यरत भइयो, र स्थानीय नेपाली समुदायसँग दसैं मनाउने कामले निरन्तरता पाइरह्यो । सन २०१२ अर्थात बि. सं. २०६९ को दसैं भने नेपालबाट आउनुभएका बुवा-आमा सहित टोलेडोका साथिभाइहरुसँग मनाइयो ।

Lili-Dahalबिगत एक दशकमा नेपाल गएर दसैं मनाउने प्रयाशको बाधकका रुपमा पढाइको ब्यस्तता, छोटो समयको अन्तरमा जन्मेका दुई छोराहरु तथा नेपाल गएर फेरि भिसा ईण्टरभ्यु दिनुपर्ने झण्झटहरु रहे । यो वर्ष करिब ती सबै झण्झटहरुबाट मुक्त भएपछि जसरिपनि साना २ छोराहरुलाई लिएर दसैं मनाउन नेपाल जाने योजना बन्यो र त्यहिअनुसाट टिकट लिइयो । टिकट त लिइयो, तर नयाँ संबिधान घोषणा अगावैदेखिको निरन्तरको मधेश बन्द र पछिल्ला दिनहरुको अघोषित भारतीय नाकाबन्दीले साना केटाकेटी सहितको यात्रा असहज हुने निश्चित थियो । आफ्नो घर मोरङको लेटाङमा भएकोले बिराटनगर बिमानस्थलबाट मधेश आन्दोलनको केन्द्र दुहबी हुँदै जानु पर्ने हुँदा घर तथा ससुराली दुबै तर्फ तनाव थियो । यद्यपि ससुरालीघर काठमाण्डौमैं भएकोले त्यता भने अवस्था केहि सहज थियो । भारतीय नाकावन्दी सुरु भएसँगै खाना पकाउने ग्याँस र गाढीको तेलको अभाव हुन थालेसँगै त्यो सहजता पनि कायम रहिरहन भने सकेन ।

सुरुमा फूलपातिको २ दिन अगाडि पुग्नेगरि टिकट काटेको भएपनि बिशेष कारणवस टिकट परिवर्तन भएर टीकाको अघिल्लो दिन मात्र नेपाल पुगिने अवस्था बन्यो र त्यसैअनुसार उक्त दिन ३ बजे नेपाल पुगियो । त्यसदिन बिमानस्थलबाट काकाको छोरा भाइको गाढीमा भक्तपुर ससुरालीघर पुगेर आराम गरियो । भोलिपल्ट टीकाको दिन काठमाण्डौमा ३-४ ठाउँमा टीका लगाएर साँझसम्म जसरि पनि लेटाङ घर पुग्ने योजना बन्यो र संयोगवस बिराटनगर जाने बिमानको ४:३० बजेको टिकट पनि पाइयो । बल्ल-बल्ल पाइएको ट्याक्सी र भाइको गाढीको सहयोगले काठमाण्डौमा हतार-हतारमा ससुराली, मावली ससुराली, र काकीहरुकहाँ टीका लगाइसकेर ४:३० बजेको बिमानबाट बिराटनगर हुँदै बेलुकि ठिक ८:०० बजे लेटाङको घरमा पुगियो । त्यसपछि बुवा-आमासँग टीका लगाउने तथा भाइ-बुहारी, बहिनी-ज्वाईं तथा केटाकेटीहरुलाई टीका लगाउने कार्यक्रम राति १०:०० बजेसम्म चल्यो । दुर्गा माताको कृपाले बिजया दशमीकै दिन घर पुगेर सपरिवार टीका लगाउन पाएकोमा खुशी महशुस भयो । यसरि १२ वर्षपछिको दसैं नेपालमा मान्यजनहरुसँग टीका लगाएर मनाउन सफल भइयो ।

Dashain-family-photo-2072

टीकापछिको ८-९ दिनको लेटाङ बसाइ भने केहि सहज रह्यो । त्यसबिचमा त्रयोदशीको दिन एउटा गाढी रिजर्भ गरेर झापा र मोरङमा मावली लगायत अरु आफन्तहरुकहाँ घुमघाम तथा टीकाटाला गरेर दसैं सम्पन्न गरियो ।

लेटाङमा हाम्रा छिमेकका प्राय सबैजसो घरहरुमा छोराहरु बिदेशमा भएपनि खेत-बारीका गर्हाहरु बाँझा थिएनन । कतै धान काटेर उठाईंदै थियो त कतै ट्याक्टरले जोताउने काम हुँदै थियो । बारीमा सागपातका अतिरिक्त सानै संख्यामा भएपनि बाख्रा तथा कुखुराहरु पालेर दैनिक गर्जो टार्ने प्रयत्न घर-घरमा भैरहेका प्रतीत हुन्थे । दसैंको समय भएकोले निधारभरि टीका र जमरा लगाएका मानिसहरु बाटामा पैदल तथा मोटरसाइकलमा हिंडिरहेका भेटिन्थे । मौसमपनि न धेरै गर्मी, न जाडोको स्थितीमा दसैंलाई स्वागत गरिरहेको आभास हुन्थ्यो । आहा ! हाम्रो संस्कार, हाम्रो परम्परा, जसले हाम्रो परिवार, समाज, र सिङ्गै राष्ट्रलाई एक सुत्रमा बाँधेको छ । हामी बिदेशमा बसेर जतिसुकै सम्पत्ति कमाऔं, जति नै सुखसयलमा बसेर आरामदायी जीवन बिताऔं, तर चाडपर्वको समयको त्यो माटोको सुगन्ध, त्यो सानिध्यता, पारिवारिक सद्भाव, भातृत्वप्रेम ! के हामी सम्पत्तिले किन्न सकौंला ? अहँ सकिन्न, कदापि सकिन्न । त्यसैले त बेलाबेलामा आफ्नो मातृभूमि फर्केर त्यो अमृत रसास्वादन गर्ने जिजिविशा हरेक नेपालीको मुटुको अन्तरकुन्तरमा सदा-सर्वदा रहिरहेको हुन्छ, र अवसर प्राप्त हुनेबित्तिकै प्रस्फुटित भैहाल्छ ।

अफिसमा धेरैदिन बिदा नमिल्ने भएकोले तिहार समेत मनाएर फर्कन मिल्ने अवस्था बनेन । त्यसैले ८ दिनको लेटाङ बसाईपछि अरु ६ दिन काठमाण्डौ बसेर अमेरिका फर्कनेगरि भद्रपुर बिमानस्थल हुँदै काठमाण्डौतिर लागियो । मधेश आन्दोलनको कारण बिराटनगर जान असहज भएकोले भद्रपुरहुँदै फर्कनु पर्यो । काठमाण्डौ आएपछि बाँकी रहेका दिनहरु उपत्यकाका बिभिन्न स्थानहरु घुमेर र किनमेल गरेर बिताइयो । त्यसबिचमा भुकम्पले क्षतिग्रस्त धरहरा, बसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्रहरु घुमियो । किर्तीपुरको त्रिभुवन विश्वविद्यालय लगायतका क्षेत्रहरु घुमेर पुराना सम्झनाहरुलाई पुनर्ताजगि गराउँदै अन्तिम दिन कार्तिक २० गते शुक्रवार सपरिवार भगवान श्रीपशुपतिनाथको दर्शन गरेर मनमनै चाँडै अर्कोपटक दर्शन गर्न आउने बाचा गर्दै बेलुकि ८:५५ को कतार एयरवेजको उडानमार्फत आफूमात्र कर्मथलो टोलेडो, ओहायो, अमेरिकाको लागि प्रस्थान गरियो । परिवारहरुचाहिं केहिसमय उतै बसेर पुष लागेपछि मात्र फर्कनेछन ।

एक दशकको लामो अन्तरालपछिको यो छोटो नेपाल यात्राको अनुभव पारिवारिक भेटघाटको दृष्टिले अत्यन्तै सकारात्मक रहेपनि देशको समग्र स्थितिमा भएको परिवर्तन तथा पुर्वाधार निर्माणको सन्दर्भमा निराशापूर्ण लाग्यो । केहि सकारात्मक परिवर्तनहरु देखिएपनि समग्रमा परिवर्तनको गति अत्यन्तै धिमा र कुनै-कुनै अवस्थामा त ऋणात्मक दिशातिर गएको प्रतीत भयो । सञ्चार लगायतका क्षेत्रमा स्पष्ट परिवर्तन भएको भएपनि देश बिकाशको मेरुदण्डको रुपमा रहेको सडक र बिद्युतको बिकाश आशातीत रुपमा भएको देखिएन । काठमाण्डौमा भक्तपुर जाने ६ लेनको बाटो र डा. बाबुराम भट्टराईको पालामा बिस्तार भएका केहि सडक खण्ड बाहेक समग्रमा सडकको अवस्था सुधार भएको लागेन । तर प्रत्येक वर्ष थपिएका गाढीले गर्दा गाढी र सडकको अनुपात बढ्न गै अहिलेको ईन्धन अभावको समयमा पनि जताततै ट्राफिक ब्यवस्था अस्तब्यस्त भैरहेको देखिन्थ्यो । यदि ईन्धन अभाव नभएर सामान्य अवस्था भएको भए कस्तो स्थिति हुन्छ होला ? अनुमान मात्र गर्न सकिन्छ ।

हाम्रो लेटाङतिर भने राजमार्ग जोड्ने नयाँ गुणस्तरीय पिच बाटो बनेको रहेछ । सबैभन्दा निराशा मुलुकको एकमात्र मेरुदण्ड मार्गको रुपमा रहेको पुर्व-पश्चिम राजमार्गको स्थिति देखेर लाग्यो । ईटहरीबाट बिर्तामोडसम्म जाँदा त्यो बाटो १० वर्ष अघिभन्दा खराब स्थितिमा पाएँ । धेरैजसो स्थानमा पिच आधा मात्र बाँकी छ भने बाटोमा २ तर्फि पनि राम्रोसँग गाडी कुदाउन मिल्ने छैन । गाढीको संख्या भने अत्याधिक बढेको छ । हुनत राज्यको ध्यान बाटो नभएका स्थानमा नयाँ बाटो निर्माण गर्नेतिर गएको हुनसक्छ, तर भैरहेका बाटोको, त्यसमा पनि पुर्व-पश्चिम राजमार्ग जस्तो मेरुदण्ड मार्गको स्तरउन्नति गरेर यथाशीघ्र कम्तीमा ४ लेनको बनाउन बिशेष ध्यान पुग्नु पर्थ्यो । ब्यक्तिगत रुपमा भन्नुपर्दा मलाई अमेरिकाको सबैभन्दा मनपर्ने कुरा भनेको यिनीहरुको सडक सञ्जाल हो, जसले यहाँको अर्थतन्त्र चलायमान बनाउन ठुलो भुमिका खेलेको छ । हाम्रोमा पनि पुर्व पश्चिम ३-४ वटा र उत्तर-दक्षिण ८-१० वटा पक्की सडक बनाउने हो भने जुम्लाको स्याउ एक दिनमैं झापा पुग्ने र झापाको खाद्यान्य सोहि दिन जुम्ला पुग्ने स्थिति बन्न कुनै गार्हो छैन । गुणस्तरीय सडकसँगै राज्यले उद्योग सञ्चालन गर्न पर्याप्त बिद्युत उपलब्ध गर्ने हो भने मलाई लाग्छ बाँकी काम निजी क्षेत्रले गर्छन र देशको आर्थिक बिकाशले छलाङ मार्न लामो समय लाग्दैन । त्यसैले कम्तीमा आगामि १० वर्ष सरकारको पूर्ण प्राथमिकतामा गुणस्तरीय सडक सञ्जाल र बिद्युत उत्पादन हुनुपर्छ । अर्को मुख्यकुरा हाम्रो जस्तो भौगोलिक बिकटता भएका पहाडि स्थानहरुमा सडक सञ्जाल बिस्तार गर्दा आवश्यकता अनुसार छोटा-छोटा सुरुङ निर्माणलाई प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ, जसले बाटोको लम्बाई मात्र घटाउँदैन, अपितु दुर्घटना न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्छ । अमेरिकाको पेन्सिलभेनिया लगायतका राज्यमा पहाड छिचोल्न उल्लेख्य मात्रामा त्यस्ता छोटा सुरुङहरु बनाइएका हुन्छन, र यो तरीका हाम्रोमा पनि उत्तिकै उपयुक्त हुनसक्छ ।

अन्त्यमा, संबिधान निर्माण भएसँगै देश आर्थिक बिकाशको युगमा प्रवेश गर्छ भन्ने सोचाइमा हाल चलिरहेको आन्दोलनले केहि समय ब्यवधान खडा गरेपनि समयक्रममा यसको समाधान आएर ढिलोचाँडो देश अगाडि बढ्ने नै छ । यद्यपि संबिधानसँगै मुलुकमा राजनितीक स्थिरता आउला भनेर सोच्ने हामीहरु जस्ताको लागि अहिले केहि निराशाको स्थिति छ । तरपनि यसको निकाशसँगै मुलुक आर्थिक बिकाशको युगमा प्रवेश गर्छ र गर्नुपर्छ । यो पटकको भ्रमणमा मैंले त्यस्ता उत्साही र भविष्यप्रति सकारात्मक युवावर्ग गाउँघरतिर साथै काठमाण्डौमा आफन्तभित्रै तथा छर-छिमेकमा प्रसस्त भेटें । यो भनेको राष्ट्रको पुँजि हो, जसलाई राज्यले हरसम्भव जोगाएर राख्न सक्नुपर्छ, र त्यसको प्रयोग गर्ने वातावरण बनाउन सक्नुपर्छ । बिदेशमा काम गरेर कमाएर पठाएको बिप्रेशषले मात्र राष्ट्र समृद्ध हुँदैन भन्ने कुरा राज्य सञ्चालकहरुले बुझ्नुपर्छ, र केहि समय बिदेशमा निर्माण लगायतका क्षेत्रमा काम गरेका दक्ष जनशक्तिलाई देशमा फर्काएर राष्ट्रनिर्माणमा लगाउन सक्नुपर्छ । यसो गर्नसके हाम्रो देशले आर्थिक बिकाश तथा पुर्वाधार निर्माणमा देखिनेगरि फड्को मार्न धेरै समय लाग्ने छैन । जय नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment