Comments Add Comment

सुशीललाई किन सम्झने ?

– राजु पौडेल

शाब्दिक समायोजनका दृष्टिले ‘सुशील’ शब्द ‘सु’ मुलसर्गमा’शील’ प्रत्यय जोडिएर वनेको हो । शाब्दिक अर्थमा ‘सु’ भनेको उच्च र ‘शील’ भनेको स्वभाव हुन्छ । तसर्थ नामले बोकेको अर्थ ‘उच्च स्वाभाव’ लाई सुशीलले आफ्नो वैयक्तिक जीवनमा प्रमाणित गरे वा गरेनन् उनको नीजि किचन क्याबिनेटमा हुनेले ब्याख्या गर्नेछन् तर राजनीतिक जीवनमा यो अर्थलाई उनले प्रमाणित गरेका छन् ।
susilविराटनगरस्थित आफ्नो स्वामित्वमा रहेको जग्गा जमिन बिक्री गरेर पूर्णकालीन समर्पित राजनीतिक जीवनमा होमिएका सुशीलले त्यसपछि राजनीतिवाट भौतिक वैभवको अपेक्षा गरेनन् । धन-सम्पती र विलासितालाई प्रतिष्ठा सम्झिने राजनीतिक कर्मीको भीडबाट उनी जीवन्त सुरक्षित रहे । सम्वत् ०७२ माघ २६ गते मंगलबारको भौतिक अवसानसम्म उनले बचाईराखेको यही सार्वजनीक छविले सुशीलको मृत्युलाई महाप्रस्थानको उपाधि दिलाएको छ ।

किन सम्झने सुशीललाई ?

देशका झण्डै तीन करोड नेपाली जनताको मुहारमा हाँसो भर्ने वा देशको नक्सा बदल्ने कार्यमा सुशीलको योगदान छ भन्ने आधार छैन । यद्यपि, मुलुकको कार्यकारी प्रमुखका हैसियतले अपेक्षित यी मुद्दालाई टुङ्गोमा पुर्‍याउने सैद्धान्तिक दस्तावेज देशको मूल कानुन संविधानको निर्माणमा उनको सादगी जीवन र धैर्यताले अतुलनीय भूमिका खेलेको छ । बाँकी व्यवस्थापन उनको उत्तराधिकार दाबी गर्नेको काँधमा आइपुगेको छ । सादगी सार्वजनिक छविका अतिरिक्त उनले सिकाएको धैर्यताको पाठ राजनीतिक क्षेत्रमा सबैलाई अनुकरणीय आर्दश हुनेछ ।

पदीय लाभको सम्मानित अवसरलाई आफूले दुरुपयोग नगरेपनि आफ्ना निकटका व्यक्तिलाई राज्य शक्तिका स्रोतमा सहज पहुँच उपलब्ध गराउने आफ्ना पूर्वजहरुको नजिरलाई यिनले सजिलै पन्छाइदिएका थिए । त्यो परम्परागत मान्यतालाई पन्छाउने अदम्य शाहसमा उनको दृढ र शंकालु स्वभाव जिम्मेवार मानिएपनि देशका साझा श्रोतलाई निहित ब्यत्तिको हालिमुहालीबाट रक्षा गरे । जीवनका काल खण्डमा नजिकका आश्रित सदस्यहरु नहुनुको सुविधा देश र जनतालाई सम्झिने राजनीतिज्ञको न्यूनतम गुणलाई स्थापित तुल्याए । सुशीललाई पढ्ने यो छोटो अवधिमा दिग्भ्रमित यदि उनी भएका भए शुन्य समयमा भएको मृत्युलाई दिने यो सम्मान खोसिने थियो ।

यी शब्द सुशीललाई नै किन ?

सुशीलसँग मेरो भावी पुस्ताको अनौठो लगाव जोडिएको छ । सुशील मुलुकको कार्यकारी प्रमुख भएको समयमा भृकुटीमण्डपमा आयोजित एउटा गाईजात्रे नाटक मञ्चन कार्यक्रममा मेरो सात वर्षीया छोरी दर्शक दीर्घामा थिइन् । मञ्चमा सुशीलको भेष धारण गरेका पात्रलाई अर्को पात्रले निर्ममतापूर्वक लात्ती प्रहार गर्‍यो ! सुशील ढले ! अवोध उमेरकी छोरीलाई लाग्यो सेतो दाह्री पालेका मान्छे अनाहकमा कुटिए ! प्रधानमन्त्री निवास वालुवाटार हुदै निवास फर्कनुपर्ने ! मैले भने छोरी अघि लड्ने मान्छे यही बस्छन् । सुशीलको जीवनी श्रृंखला उनले यहीबाट शुरु गरिन् । दुई दिन पहिला भन्दै थिइन् तपाईंलाई समयमा ‘वेड-टी’ भएन भने मम्मीसँग रिसाउनु हुन्छ । सुशील कोइरालाई ‘वेड-टी’ कस्ले ल्याईदिन्छ ? सुशील ढल्दा म कार्यालयको काम बिषेशले उपत्यका बाहिर थिएँ ।

नामले बोकेको अर्थ ‘उच्च स्वाभाव’ लाई सुशीलले आफ्नो वैयक्तिक जीवनमा प्रमाणित गरे वा गरेनन् उनको नीजि किचन क्याबिनेटमा हुनेले ब्याख्या गर्नेछन् तर राजनीतिक जीवनमा यो अर्थलाई उनले प्रमाणित गरेका छन् ।

प्रातकालीन इन्टरनेट भ्रमणमा सुशील मृत्युको सन्नसनीपूर्ण खबर फैलिएको रहेछ । मलाई अफसोच लाग्यो, छोरीले उनलाई प्रत्यक्ष भेट्ने धोको मैले टार्दै आएको थिएँ । म हो कि होइन दोधारमा परेँ । सँगैको बेडमा रहेका मित्र सागरलाई सोधेँ यस्तो समाचार आयो के भयो ? हावा कुरा ! म आश्चार्य चकित भएँ । मृत्यु नै भएको भन्ने ढुक्क नहुँदै तिनै छोरीले फोन गरिन् बाबा आज म स्कूल जान्न ल ! टीभी हेरेर वस्छु सुशील कोइरालाको फोटो हेर्छु । मैले लाचार स्वीकृति जनाइदिएँ !

हो, सुशीललाई बेडमा नै चिया ल्याइदिने मान्छेको अभाव थिएन होला । तर, जनतालाई रैतीबाट सार्वभौम नागरिक बनाउने लामो लडाइँमा उनले वी.पी. को अभियानदेखि नै सक्रिय भूमिका खेल्दै आए । अविबाहित कोइरालले पारिवारिक सामीप्यताको स्वाद कहिल्यै लिन पाएनन् । त्यो रिक्तताको अनुभुति देश र जनतामा समर्पित गर्ने प्रण अन्य राजनेताको तुलनामा उनमा उच्च थियो ।

कुनै नाटकको मन्चमा उनको भेष धारण गरेका पात्रले अन्याय भोगे अवोध बालिकाको मन मष्तिस्कमा उनी आदर्श ब्यक्ति ठहरिए यद्यपि बाँकी पृष्ठमूमिले उनको सादगी जीवनलाई प्रमाणित गर्न नसकेको भए त्यो सम्मान छिटो स्खलित हुने थियो ।

Raju Paudel
राजु पौडेल

मुलुकको ३७ औँ प्रधानमन्त्रीको सपथ लिंदै गर्दा कैयन चुनौती उनको काँधमा थमाईएको थियो । देश शताब्दीकै ठूलो प्राकृतिक भुकम्पीय विनासले आक्रान्त वन्यो । शान्ति, सहमति र सहकार्यको मुल मन्त्रलाई स्वच्छन्दपूर्वक अभ्यासमा ल्याएर ती चुनौती मध्यको मुख्य मुद्दा संविधान निर्माणको ज्वलन्त कामलाई टुङ्गोमा पुर्‍याए । चार-चार पूर्वज समकक्षीले टुङ्गयाउन नसकेको कामलाई सुशीलले सम्पादन गर्दा चुलिएको राष्ट्रिय सम्मानमा प्रधानमन्त्री पदको निर्वाचनमा दिएको उनको उम्मेदवारीले क्षति पुर्‍यायो ।

बजारमा उत्पन्न क्रिया प्रतिक्रियालाई छोटोमा प्रत्यूत्तर प्रदान गरे प्रजातन्त्रको सुन्दर पक्षलाई रोज्दा कसैलाई अतिसोयुक्ति लाग्नुपर्ने कारण छैन । भष्ट्राचारमा शून्य सहनशीलता जो नेपालजस्तो अल्पविकशित राष्ट्रमा अपरिहार्य मानिन्छ वहाँले पाटीको आन्तरिक राजनीति र राष्ट्रको कार्यकारी प्रमुख हुँदासमेत उच्चारण गरिरहनुभयो । राजनीतिमा निष्ठा, इमान्दारिता र दृढताको प्रतिमूर्ति कोइराला देशको शान्ति र राजनीतिक स्थायित्वका पक्षपाती हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय मञ्चमा उनले ब्यक्त गरेको विचारले बजारमा चर्चा नपाए पनि विश्वको टड्कारो आवश्यकतालाई सम्वोधन गरेकै हुन्थे । जाकर्तामा सम्पन्न सयूक्त राष्ट्रसंघको ६९ औं सम्मेलनमा उनले लोकतान्त्रिक विधिबाट विश्वमा शान्ति, सद्भाव र भाईचाराको सम्बन्धलाई अभिबृद्धि गर्नुपर्ने सुझाव पेश गरे ।

आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा पाटी र देशको मुख्य जिम्मेवारीमा देखिएका कोइरालाले आफ्नो राजनीतिक वजनलाई बढाउने काम गरे । श्रेय समय परिस्थिति वा बाध्यता जे लाई दिएपनि पाटीलाई पहिलो राजनीतिक शक्तिमा रुपान्तर गर्न जनताको अनुमोदनलाई ब्यालेटमार्फत् आकर्षित गरे । लामो संक्रमणले ग्रस्त संविधान निर्माणको पेचिलो मुद्दालाई संसदबाट जारी गराए । यी दुवै महत्वपूर्ण उपलब्धीले पारिवारिक कालकोटरीमा राजनीति गरेको भन्ने आरोप खेपेका कोइरालालाई एउटा क्षमतावान नेताको परिचय दिलायो ।

कहाँ चुके कोइराला ?

यी उपलब्धीका वीच आफ्ना दर्शनलाई राजनीतिमा स्थापित तुल्याउन सकेनन् । अस्पष्ट बोली एवम विचार र भावनालाई लिखितरुपमा सार्वजनिक नगर्ने बानीले उनका कैयन अनुकरणीय आदर्श ओझेलमा परेका छन् । त्यो रिक्ततालाई चिर्ने प्रयत्न गरेका भए नेपाली भावी पुस्तालाई जीवन्त लाग्ने काम यो छोटो समयमा सम्पादन गरेका छन् । आन्तरिक पार्टी राजनीतिक अभ्यासमा भागवण्डाको राजनीतिलाई हटाउन सकेनन् । आफुले आजीवन वकालत गर्दै आएको निष्ठाको राजनीतिमा देशभरका निष्ठावान काँग्रेस कार्यकर्तालाई त्यही निष्ठाको छहारी प्रदान गर्न सकेनन् ।

पारिवारिक कालकोटरीमा राजनीति गरेको भन्ने आरोप खेपेका कोइरालालाई एउटा क्षमतावान नेताको परिचय दिलायो ।

सुशीलको रिक्तता कहाँ हुन्छ ?

कोइराला निवास महाराजगञ्जले सेक्ने ताप्ने मान्छे पाउँछ, नेपाली काँग्रेसले अर्को सभापति पाउँछ । पार्टीको आन्तरिक राजनीतिक अभ्यासमा सुशीलको भौतिक उत्तराधिकार गाह्रो छैन । यद्यपि, उनकै प्रधानमन्त्रीत्व कालमा जारी भएको संविधान कार्यान्वयनको जटिल मुद्दामा उनको अनुपस्थिति खड्किने छ ।

कुटिल अन्तर्मुखी स्वाभावका कोइरालाको धेरै कुरा कसैलाई थाहा छैन । थोरै कुरा थोरैलाई मात्र थाहा छ । देशको ठूलो पार्टी नेपाली कांग्रेस यो विषयमा विचलित यदि भएमा संविधान कार्यान्वयनको मुद्दा अलपत्र पर्नेछ ।

नेपाली राजनीतिले निष्ठा र सदाचारमा आधारित राजनीति गर्ने एक नमूनायोग्य राजनीतिक कार्यकर्ता गुमाएको छ । पाटी-पाटी र अन्तरपाटी राजनीतिक अभ्यासले यस्तो सादगी चरित्रको विजारोेपण सायदै गरेको होला । गरेकै भएपनि उनको वजनमा प्रकट हुन लामै समयको प्रतिक्षा गर्नुपर्नेछ ।

लामो अस्थिर राजनीतिको प्रत्यक्ष पीडामा पिल्सीएका हामी मध्ये धेरैलाई उनीसँग प्रत्यक्ष भेट्ने उत्कण्ठ ईच्छा पलाएन होला । तर उनलाई आफ्नो आदर्श व्यक्ति सम्झिने मेरो छोरीको प्रत्यक्ष भेट्ने ईच्छामाथि कुठाराघात भएको छ । यमलोकको आहृवान कसैले वर्जित गर्न सक्दैन । रोग जितेँ, अब देशलाई निको पार्छु भन्ने कोइरालाको अभिव्यक्तिलाई सत्यमा रुपान्तरण गर्नु आजको आवश्यकता हो । उनको बैकुण्ठधाम मंगलमय रहोस् ।

ट्वीटरमा @ rajupaudel44

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment