६ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महेन्द्र मञ्जिलमा बिजुलीको लाइन जोडिदिएको छ । २०६८ सालदेखि हालसम्म ४७ लाख ६४ हजार रुपैयाँ बक्यौता पुग्दा पनि विद्युत महसुल नतिरेको भन्दै आइतबारमात्रै प्राधिकरणले महेन्द्र मञ्जिलको लाइन काटिदिएको थियो ।
नारायणहिटी दरवारभित्र रहेको महेन्द्र मञ्जिलमा पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएकी छन् । त्यहाँ लोडसेडिङको समयमा पनि बत्ती जाँदैनथ्यो । राप्रपा नेपालले महेन्द्र मञ्जिलमा लाइन काटिएको भन्दै विरोध जनाएको थियो ।
सँस्कृति तथा पर्यटन मन्त्रालयले विद्युत महसुल भुक्तानीका लागि अर्थ मन्त्रालयबाट रकम निकासाका क्रममा रहेको भन्दै लाइन जोडिदिन प्राधिकरणलाई पत्र पठाएको थियो । मन्त्रालयले केही समयभित्रै बक्यौता रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएकाले लाइन जोडिएको प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले बताए ।
[sam_list]
‘संस्कृति मन्त्रालयले आफूले तिर्ने ग्यारेन्टी दिँदै ऊर्जा मन्त्रालयमार्फत हामीलाई पत्र पठाएको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले भने, ‘दिउँसो साढे ४ बजेतिर महेन्द्र मञ्जिलमा लाइन जोडिदिएका छौं ।’
सरकारले नारायणहिटी संग्रहालय अन्तरगतका सबै संरचनामा बालिने बत्तिको महसुल आफैंले तिर्दै आएको छ । तर, पूर्व बिशिष्टको हैसियतले सरकारले उपलब्ध गराएको महेन्द्र मञ्जिलको महसुल पनि सरकारले तिर्ने प्रतिवद्धता जनाएको थियो ।
ऊर्जामन्त्री जनार्दन शर्मा (प्रभाकर)को निर्देशनअनुसार भदौ १ गतेदेखि आजसम्म प्राधिकरणले देशभर ५ करोड ६८ लाख रुपैयाँ बक्यौता भएका ४ सय ६४ ग्राहकको लाइन काटेको छ ।
महसुल तिर्न सातदिने अल्टिमेटम
प्राधिकरणले सरकारी निकाय र अस्पताललाई मंगलबार सार्वजनिक सूचना जारी गरी हप्तादिन भित्र बक्यौता तिर्न अपिल गर्ने काफ्लेले जानकारी दिए । ‘तोकिएको समयमा बक्यौता नतिर्ने सरकारी निकाय र अस्पताल सबैको लाइन काटिने छ,’ उनले भने ।
प्राधिकरणले विभिन्न ग्राहकहरुसँग ६ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । जसमा सडक बत्तिको हिस्सा मात्रै ३ अर्ब रुपैयाँको भएको काफ्लेले जानकारी दिए ।
‘सरकारी निकायले नै विद्युतको महशुल तिर्न अटेर गरिरहेका छन्,’ काफ्लेले भने, ‘अब हामी चुप लागेर बस्दैनौं । नतिर्नेको लाइन काटेरै छाड्छौं ।’

प्रतिक्रिया 4