Comments Add Comment

नारायणगढ–मुग्लिङ सडक विस्तारमा वर्ष दिन ढिलाइ

muglin_sadak (2)११ कात्तिक, काठमाडौं । १६ महिना (१० असार ०७२) अघि विस्तार-स्तरोन्नति थालिएको नारायणगढ–मुग्लिङ सडक आयोजना आउँदो वैशाखमा सम्पन्न गर्ने लक्ष थियो । गत वर्ष भारतले गरेको नाकाबन्दीका कारण इन्धन अभावले निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए । ‘यसबाहेक आयोजना विस्तारका लागि आवश्यक ढुंगा, गिट्टी, बालुवाको अभाव तथा समयमा जग्गा प्राप्ति नहुनुले पनि ढिलाइ भयो,’ उनले भने ।

देशको सबैभन्दा व्यस्त राजमार्ग समयमा सम्पन्न नहुँदा यात्रुहरूले आर्थिक वर्ष ०७४-७५ को चैतसम्म सास्ती भोग्नुपर्ने भएको छ ।

नारायणगढ–मुग्लिङ सडक योजनाले ०७४ साउनसम्मका लागि चार महिना म्याद थप गरिसकेको छ, अझै आठ महिना म्याद थप्ने तयारी भइरहेको व्यवस्थापन पक्षले जानकारी दिएको अाजको नयाँ पत्रिकामा समाचार छ ।

थपिएको अवधिमा आयोजना सम्पन्न गरेरै छाड्ने आयोजना व्यवस्थापनको दाबी छ । त्यस्तै, सरकारले चालू आर्थिक वर्षमा उच्च प्राथमिकता दिएर डेढ अर्ब रुपैयाँ विनियोजन गरेको छ । ‘प्राकृतिक र अन्य समस्या नभएमा यो विनियोजित बजेट खर्च गर्छौ,’ आयोजना प्रमुख यादवले भने ।

नारायणगढ–मुग्लिङ (स्तरोन्नति गरिने) सडकखण्डको कुल लम्बाइ ३३ किलोमिटर छ । उक्त सडकखण्डलाई तीन भागमा विभाजन गरेर विस्तार र स्तरोन्नति गरिँदै छ । पहिलो १० किलोमिटर सडकको विस्तारमा भारतको बिएलए र नेपालको श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडाले गरिरहेको छ । त्यस्तै, बीचको ११ किलोमिटरमा भारतको उडहिल कम्पनी र नेपालको लामा कन्स्ट्रक्सन कम्पनी संलग्न छन् । अन्तिम १२ किलोमिटर खण्डको निर्माण भने भारतको सुप्रिम कन्स्ट्रक्सन र नेपालको रौटाहा कम्पनीले निर्माण गरिरहेका छन् । तीनवटै खण्डमा भारत र नेपालका एक–एक निर्माण कम्पनीले संयुक्त उपक्रम गरी सडक स्तरोन्नतिको काम जिम्मा लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment