Comments Add Comment

निर्वाचनको काममा ‘अटेर गर्ने’ कर्मचारीहरुलाई आयोगले गर्‍यो कारबाही

३ जेठ, काठमाडौं । निर्वाचन आयोगले बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनमा असहयोग गर्ने सात कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ ।

आयोगले सो दिनको निर्वाचन कार्यको लागि खटिने क्रममा केही कर्मचारीले जिम्मेवारी पूरा गर्न अटेर गरेको भन्दै कारबाहीका लागि सम्बद्ध कार्यालयहरुलाई आग्रह गरेको छ । तोकिएको काम नगर्ने तथा दिएको नियुक्ति समेत नलिनेमा विभिन्न सरकारी कार्यालयमा कार्यरत सात कर्मचारी रहेका आयोगले उल्लेख गरेको छ ।

ती कर्मचारीमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरीमा कार्यरत उपसचिव जीवनराम पुरी, महालेखा नियन्त्रक कार्यालयका उपसचिव काशीनाथ भट्टराई, राष्ट्रपतिको कार्यालयका उपसचिव प्रह्लादप्रसाद पुडासैनी, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा कार्यरत उपसचिव खेमप्रसाद उपाध्याय रहेका छन् ।

कार्यसम्पादनमा अटेरी गर्ने अन्य कर्मचारीमा पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजनामा कार्यरत उपसचिव शिवराम भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद घिमिरे र नारायणहिटी दरबार संगह्रालयमा कार्यरत उपसचिव रोहितकुमार ढुंगाना छन् ।

यी कर्मचारीलाई सचेत गराई आयोगलाई १५ दिनभित्र जानकारी गराउन आयोगले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment