Comments Add Comment

‘करिअर अष्ट्रेलिया’ बन्द, १५ हजार विद्यार्थी अलपत्र

१२ जेठ, क्यानबेरा । अष्ट्रेलियाको एउटा ठूलो तालिमप्रदायक कलेज ‘करिअर अष्ट्रेलिया’ बन्द भएको छ । यसबाट १५ हजार विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ भने एक हजार कर्मचारीहरु रोजगारविहिन बनेका छन् ।

कमजोर उत्तिर्ण दर र त्रुटीपूर्ण भर्ना शैलीका कारणले यस कलेजलाई दिइने संघीय अनुदान ६ हप्ताअघि खारेज गरिएको थियो । बिहिबार भने कलेजलाई स्वेच्छिक प्रशासन (कलेजको जिम्मेवारी स्वतन्त्र व्यक्तिलाई दिइनु) मा राखिएको छ ।

अष्ट्रेलियाभर रहेका सो कलेजका १४ वटा क्याम्पसहरुलाई निलम्बनमा राखिएको छ भने शिक्षकहरुलाई बिदा दिइएको छ । प्रशासनको जिम्मेवारी लिएको पिपिबी एडभाइजरबाट कर्मचारीहरुले एउटा पत्र प्राप्त गरेका छन् जसमा तलव तथा अन्य खर्चका लागि कम्पनीसँग कोष अपर्याप्त रहेको उल्लेख गरिएको छ ।

‘तपाईंहरुलाई अर्को सुचना प्राप्त नहुञ्जेलसम्मका लागि बिनापारिश्रमिक जागिरबाट हटाइएको छ,’ पत्रमा भनिएको छ ।

प्रशासकहरु डेभिड म्याकइभोइ र मार्टिन फोर्डले कलेजलाई विक्री वा पुनःसंरचना गर्न सकिने सम्भावनाबारे तत्काल निक्र्यौल गर्न व्यवस्थापनसँग काम गरिरहेको बताए ।

‘यस कम्पनीका सबै विकल्पहरु अध्ययन गर्दा हामीले दुखद निर्णय लिँदै सबै कक्षाहरु बन्द गर्नुपरेको छ र कर्मचारीहरु हटाउनुपरेको छ,’ उनीहरुले एक विज्ञप्तिमा भनेका छन् ।

यस कलेजले सन् २०१३ र २०१५ को बीचमा २६ करोड ४० लाख डलर कमाएको थियो । तर यस अवधिमा केवल १४.७ प्रतिशत विद्यार्थीहरु मात्र ग्राजुयट भएका थिए ।

बि्रस्बेनमा रहेको बोवेन हिल्स क्याम्पसका एक शिक्षकका अनुसार बिहिबार दिउँसो कर्मचारीहरुलाई एउटा मिटिङमा बोलाइएको थियो र भनिएको थियो कि ‘अब सबै सकियो’ ।

‘कर्मचारीहरु रोइरहेका थिए र आफ्नो डेस्क खाली गरिरहेका थिए,’ उनले भने ।

मिडियाका अनुसार कलेजले कमजोर पृष्ठभूमिका विद्यार्थीहरुलाई लक्ष्यित गरी निशुल्क ल्याप्टपको लोभ देखाउने लगायत त्रुटिपूर्ण भर्ना अभ्यासहरु गर्दै आएको थियो ।

करिअर अष्ट्रेलियासँग सम्झौता गरेको इलेक्टि्रसियन तालिम दिने देशको सबैभन्दा ठूलो संस्था ‘मास्टर इलेक्टि्रसियन’ले क्वीन्सल्यान्डमा सयौं सिकारु इलेक्टि्रसयनहरुको जागिरको सम्भावना धराशयी भएको जनाएको छ । यस संस्थाका कार्यकारी प्रमुख माल्कोम रिचार्ड्सले सिकारु युवा इलेक्टि्रसियनहरुलाई उनीहरुको तालिम पुरा गर्न सहयोगका लागि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment