Comments Add Comment

अमेरिका र सिरिया आमने-सामने

११ भदौ, काठमाडौं । सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेको दाबी गर्दै आएको अमेरिकाले त्यहाँ सेना पठाएपछि सिरिया र अमेरिका युद्धका लागि आमने सामने भएका छन् । सिरियाले आफ्नो देशका आन्दोलनकारी विरुद्ध रासायनिक हतियार प्रयोग गरेको अमेरिकी विदेशमन्त्री जोन केरीले दाबी गरेका छन् ।

syria

विगतमा आणविक हतियारको भण्डारण गरेको भन्दै अमेरिकाले इराकमाथि हमला गरेको थियो । तर, इराकमा अमेरिकाले अहिलेसम्म त्यस्तो हतियार फेला पारेन । यतिबेला अमेरिकाको ध्यान सिरियामाथि परेको छ । र, उसले सिरिया सरकारले आन्दोलनकारीमाथि जैविक हतियार प्रयोग गरेको भन्दै अमेरिकाले हस्तक्षेपका लागि सोमबार सिरयामा आफ्ना सैनिक परिचालन गरेको छ । जैविक हतियार प्रयोग भए नभएको जाँचबुझका लागि संयुक्त राष्ट्रसंघीय टोलीसमेत यतिबेला सिरियामा छ ।

अगस्ट २१ मा सिरियाका विभिन्न स्थानमा भएका गोली प्रहारका घटनामा सयौंको ज्यान गएपछि त्यसको जाँचबुझका लागि भन्दै अमेरिकाले सेना तैनाथ गरेको हो । सिरिया सरकारले भन्ने राुसायनिक हतियार प्रयोग गरेको भन्ने अमेरिकी आरोपको खण्डन गरेको छ । उसले अगस्ट २१ को हिंसाको घटनामा विपक्षीको हात रहेको दाबी गरेको छ ।

उता रुसी विदेशमन्त्री सेर्गेई लवारोफले एक पत्रकार सम्मेलन आयोजना गरी सिरियामा जैविक हतियारको प्रमाण फेला नपरेको भन्दै अमेरिकी कदमप्रति विरोध जनाएका छन् । अमेरिकी विदेशमन्त्री केरीले भने जैविक हतियार रहेको ठोकुवा गरेका छन् ।

लामो समयदेखि गृहयुद्धमा फसिरहेको सिरियाको समस्यालाई लिएर संयुक्त राष्ट्रंघीय सुरक्षा परिषदमा मतभेद देखिएको छ । परिषदमा रहेका रुस र चीन सिरियामाथि सैनिक हस्तक्षेपको विपक्षमा छन् भने अमेरिका, बेलायत र फ्रान्स सैनिक हस्तक्षेप गर्नुपर्ने पक्षमा छन् । अमेरिकाले भूमध्यसागरमा आफ्ना सैन्य बेडा उतारेको छ ।

सिरियामाथि ओबामा प्रशासनले आक्रमण गरेमा त्यो इराकमा पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुशको जस्तै हुने विश्लेषकहरुले बताएका छन् ।  भूमध्यसागरीय तटमा अवस्थित मध्यएशियाको अरब गणतन्त्र सिरियामा पश्चिमाहरुको समर्थनमा सरकारविरोधी सशस्त्र प्रदर्शन हुँदै आए पनि त्यहाँको सरकारले बल प्रयोगमार्फत दबाउँदै आएको छ । सिरियाको पश्चिममा लेबनान, उत्तरमा टर्की, पूर्वमा इराक र दक्षिणमा जोर्डन र इजरायल रहेका छन् ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment