+
+
Shares

सिरहा ५ ले चुन्दैन ‘कार्यकारी राष्ट्रपति’

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक ९ गते १८:२२

९ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शुक्रबार आफ्नो चुनाव क्षेत्र सिरहा-५ मा मत माग्ने क्रममा चुनाव जितेर आफू कार्यकारी राष्ट्रपति बन्ने सिरहावासी जनतालाई आश्वासन दिनुभएको छ । तर, कार्यकारी राष्ट्रपति एउटा चुनाव क्षेत्रका जनताले नभएर देशैभरिका मतदातामात्रै छान्न सक्छन् । अन्तरिम संविधानमा ‘कार्यकारी राष्ट्रपति’को प्रावधान कतै नभएकाले अर्को निर्वाचन नभई मंसिर ४ कै चुनावबाट कसैले कार्यकारी राष्ट्रपति बन्छु भन्छ भने त्यो असम्भव छ ।prachanda-rambaran

एमाओवादीको घोषणापत्रमा ‘भावी राष्ट्रपति’ नभनी ‘राष्ट्र नेता’ बताइए पनि प्रचण्डले चुनावपछि आफू ‘कार्यकारी राष्ट्रपति’ बन्ने बताउनुभएको समाचार बाहिर आएको हो । तर, मंसिरपछि प्रचण्ड कार्यकारी राष्ट्रपति नै बन्ने हो भने संवैधानिक राष्ट्रपति डा. रामवरण यादवलाई चाँहि कसरी हटाउने ?

राष्ट्रपति यादवको वैधानिकतामा प्रश्न

संविधानसभधाको विघटनपछि नैतिक वैधता गुमाए पनि व्यवहारिक वैधता कायम रहेका राष्ट्रपति डा. रामवरण यादवको भूमिका चुनावपछि के हुन्छ भन्नेबारे अहिलेसम्म प्रमुख दलका नेताहरुले चुँइक्क बोलेका छैनन् । चुनावपछि आफैं राष्ट्रपति हुने प्रचण्डको उद्घोषले संविधानसभाको चुनावपछि राष्ट्रपति फेरिन सक्ने संकेत गरेको छ ।

नेपालको अन्तरिम संविधानको धारा ३६ (ग) मा राष्ट्रपतिको कार्यकाल तोकिएको छ, जसमा राष्ट्रपतिको कार्यकाल संविधानसभाले संविधान नबनाएसम्म रहने बताइएको छ । अब राष्ट्रपति डा. रामवरण यादवको कार्यकाल नयाँ संविधानसभाले संविधान नबनाएसम्म रहने हो या पुरानो संविधानसभाले संविधान नबनाएको हुनाले चुनावपछि नयाँ सरकार गठन हुनासाथ राष्ट्रपति पद स्वतः खाली हुने हो ? यसबारे न संविधान बोल्छ, न बाधा अड्काऊले नै बोलेको छ, न त चुनावपछि राष्ट्रपति बन्ने घोषणा गरिरहेका नेताहरुले नै जनतासमक्ष स्पष्ट पारेका छन् । संविधानसभा विघटन भएपछि बाबुराम भट्टराई नेतृत्वको सरकार स्वतः अवैधानिक भएको बताउने नेता, बुद्धिजीवी र कानूनविद्हरु राष्ट्रपति यादवको कार्यकालबारे अहिलेसम्म मौन रहेका छन् ।

रामवरणका लागि तीन विकल्प

मंसिर ४ को चुनाव सकिएपछि राष्ट्रपति डा. रामवरण यादवको वैधानिकतामाथि स्वतः प्रश्न उठ्ने देखिन्छ । यो स्थितिमा तीनवटा विकल्पको खोजी हुन सक्छ । प्रथमतः पहिलो संविधानसभा नरहेको अवस्थामा लोकतान्त्रिक मूल्य मान्यताका आधारमा नयाँ संविधानसभाले प्रधानमन्त्री चयन गर्नासाथ राष्ट्रपति डा. रामवरण यादवले आफैं राजीनामा दिने र नयाँ राष्ट्रपति चयनका लागि मार्गप्रशस्त गर्ने । दोस्रो राजनीतिक दलहरुले एकवर्षसम्म नयाँ संविधान जारी नहुञ्जेल डा. रामवरणलाई नै संक्रमणकालीन राष्ट्रपतिको भूमिका दिने गरी संवैधानिक व्यवस्था गर्ने । तर, तेस्रो रामवरणले राजीनामा दिएको खण्डमा वा नदिए पनि नयाँ संसदले उहाँलाई हटाएर नयाँ राष्ट्रपति चयन गर्दै संविधान निर्माण प्रक्रियामा अगाडि बढ्ने ।

दोस्रो राष्ट्रपति को हुने ?

रामवरण यादवले निरन्तरता नपाएको अवस्थामा नेपालको दोस्रो राष्ट्रपति को बन्ने भन्ने विवादमा दलहरु फस्न सक्ने सम्भावना छ । त्यस्तो राष्ट्रपति नयाँ संविधान जारी भई अर्को आम निर्वाचन नहुञ्जेल छोटो अवधिका लागिमात्रै हुन सक्ने सम्भावना छ । तैपनि गरिमामय पद भएकाले त्यसमा दावा गर्नेहरु बढी हुने भएकाले राष्ट्रपतिको मुद्दामा केही महिना दलहरुवीच झगडा पर्‍यो भने त्यसलाई अनौठो नमान्दा हुन्छ ।

नेकपा एमालेभित्र पूर्वसभासद सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका लागि इच्छुक मानिनु हुन्छ । नेपाली कांग्रेसले सभापति सुशील कोइरालाकै नाम अघि सार्ने सम्भावना छ । एमाओवादीमा प्रचण्डले कार्यकारी राष्ट्रपति बन्छु भनेको हुनाले नयाँ संविधान बन्नुअघिको अल्पकालिक संवैधानिक राष्ट्रपतिमा प्रचण्ड अघि सर्ने/ नसर्ने अहिल्यै भन्न सकिन्न ।

प्रचण्ड कहिले बन्ने राष्ट्रपति ?

तर, एमाओवादी अध्यक्ष प्रचण्डले चुनावपछि कार्यकारी राष्ट्रपति बन्ने जुन कुरा गरिरहनुभएको छ, यही चुनावबाट गठन हुने व्यवस्थापिकाले नै उहाँले भनेजस्तो कार्यकारी राष्ट्रपति बनाउन सक्दैन । किनभने उहाँले घोषणापत्रमा उल्लेख गरेजस्तो कार्यकारी राष्ट्रपति त देशैभरिका जनताले प्रत्यक्ष मतदान गरेपछि मात्रै बन्ने हो, सिरहा-५ का जनताले मात्रै भोट हालेर कार्यकारी राष्ट्रपति चुनिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?