Comments Add Comment

पानी नपर्दा कृषकले धान रोप्न पाएनन्

Dahn-Ropai
ज्ञानेन्द्र खड्का

११ असार, काठमाडौं । असारको मध्यसम्म पनि राम्रोसँग वर्षात नभएपछि कृषकहरुले धान रोप्न पाएका छैनन् । देशको पूर्वी भागबाट ढिलो गरी मनसुन भित्रिए पनि पानी नपरेपछि आकाशे पानीको भरमा रहेका कृषकहरुले रोपाइँ गर्न नपाएका हुन् ।

मनसुन भित्रिएर पानी परेपछि धमाधम रोपाइँ थालेका कृषकहरुले तीन दिनयता पानी पर्न छाडेपछि रोपाइँ बन्द गरेका छन् । आकाशे पानीको भरमा रहेका कृषकहरुले पानी परेपछि भरेको खेत पनि सुकेपछि रोपाइँ गर्न समस्या भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले यो वर्ष मनसुन भित्रन केही ढिला हुने जनाउँदै पानी पनि कम पर्ने पूर्वानुमान गरेको छ । पहाडदेखि तराईसम्मका कृषकहरु आकाशे पानीमा भर पर्ने भएकाले धेरै स्थानमा रोपाइँ शुरु हुनै सकेको छैन ।

नेपालमा यो वर्ष मनसुन भित्रिएको नाका मोरङमा कृषकहरुले रोपाइँको तयारी गरिरहँदा पानी नपरेपछि चिन्तित भएका छन् । जिल्ला कृषि विकास कार्यालय मोरङका प्राविधिक सहायक गोविन्दप्रसाद आचार्यले मोरङमा अहिलेसम्म करिब ९ प्रतिशतमात्र रोपाइँ भएको बताए ।

‘मनसुन शुरु भएर चार दिन पानी पर्‍यो, अहिले पानी पर्न बन्द भएको छ’, प्रास आचार्यले भने, ‘सिचाइँयोग्य जमीनमा रोपाइँ गर्न समस्या छैन तर आकाशे पानीको भर पर्नेलाई भने अफ्ठेरो छ ।

पानी नपरेपछि खोलाखोल्सी समेत नरसाउँदा कृषकहरु समस्यामा परेको आचार्यको भनाइ छ । पूर्वी पहाडको धनकुटामा पनि मनसुन आएपछि शुरु रोपाइँ पानी नपरेपछि रोकिने अवस्थामा पुगेको छ ।

‘रोपाइँको सिजन शुरु भइसकेको छ, कृषकहरु खेतमा पसिसकेका छन्’, जिल्ला कृषि विकास कार्यालय धनकुटाकी प्राविधि सहायक उमादेवी श्रेष्ठले भनिन्, ‘अहिलेसम्म १२ प्रतिशत रोपाइँ भइसकेको छ, पानी परिदियो भने रोपाइँले तीब्रता पाउँथ्यो ।’

भित्री मधेसको जिल्ला उदयपुरमा रोपाइँ गर्न नपाएर कृषकहरु आत्तिएको जिल्ला कृषि विकास कार्यालय उदयपुरका प्राविधिक सहायक बासुदेव ढुंगानाले बताए । ‘यहाँको अधिकांश धानखेति आकाशेपानीको भरमा गर्नुपर्छ, पानी नपरे खेतै बझिँन्छ’, प्रास ढुंगानाले भने, ‘यहाँको १६ हजार ८ सय ८५ हेक्टर खेतियोग्य जमीनमा १४ सय हेक्टरमा मात्र सिचाइँ पुग्छ, पानी परेन यहाँका कृषकलाई समस्या पर्छ ।’

तराईका जिल्लामा असार मध्यबाट साउन अन्तिसम्म धान रोप्ने गरिन्छ । पहाडका जिल्लामा जेठ अन्तिमबाट शुरु गरेर असारमध्यसम्ममा रोपाइँ मैझारो गर्ने चलन छ । तर यो पटक पानी नपरेकाले कृषकहरुले अघिल्ला वर्षझैं समयमा धान रोप्न नपाउने अवस्था आएको हो ।

पानी पर्ने क्रम भर्खर शुरु भएकाले देशभरमा रोपाइँ भएको यकीन तथ्यांक आइनसकेको कृषि मन्त्रालय अन्तरगतको बाली संरक्षण विभागले जनाएको छ । ‘अहिलेसम्म कति प्रतिशत धान रोपियो भन्ने यकिन तथ्यांक आइसकेको छैन’, बाली संरक्षण विभागका बरिष्ठ बाली विकास अधिकृत भोलाराज सापकोटाले भने, ‘पानी कम पर्‍यो भने धान रोपाइँमा पनिन असर पर्छ, केही दिनभित्र रोपाइँको एकीन विवरण आउँछ ।’

जुम्लामा रोपाइँ सकियो

धान खेती हुने विश्वकै सबैभन्दा अग्लो स्थान कणर्ालीको जुम्लामा भने रोपाइँ सकिन लागेको छ । जुम्ली कृषकहरुले जेठबाट धान रोप्न थालेर मैझारो गर्ने अन्तिम तयारीमा रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

खोला खोल्समा पर्याप्त पानी भएकाले जुम्ली कृषकले रोपाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता नरहेको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए ।

जुम्लाको सात हजार फिट उचाइँमा काली मार्सी तथा चन्दनाथ १ र ३ जातिको धान रोपिने गरिएको छ । ‘यहाँ जेठ दोस्रो साताबाट धान रोप्न थालिन्छ, पानीको कुनै समस्या छैन’, बरिष्ठ कृषि विकास अधिकृत गैरेले भने, ‘माथिल्लो भेगमा रोपाइँ भइसकेको छ, तल्लो भेगमा कृषकहरु मैझारो गर्न ब्यस्त छन् ।’

अघिल्लो वर्षको रोपाइँ

सन् २०१३ मा मुलुकभर करिब ९७ प्रतिशत रोपाइँ भएको तथ्यांक कृषि विकास मन्त्रालयसँग रहेको छ । मन्त्रालयका अनुसार मुस्ताङ र मनाङबाहेक ७३ वटा जिल्लामा धान रोपाइँ हुन्छ ।

सन् २०१२ मा ९१ प्रतिशत मात्र रोपाइँ भएको थियो । नेपालका पहाडी भेगमा जेठ अन्तिम साताबाट धान रोपाइँ थालिन्छ । तराईमा भने असार दोस्रो सातादेखि थालेर भदौको तेस्रो सातासम्म रोपाइँ गर्न कृषकहरु ब्यस्त रहन्छन् ।

नेपालमा १५ लाख २६ हजार हेक्टरमा धान रोपिन्छ । तराईमा ७०, पहाडमा २६ र हिमाली भेगमा चार प्रतिशत जमीनमा रोपाइँ हुने गरेको छ । मकै, गहुँ, कोदो र फापरको खेति हुने गरेपनि नेपालको प्रमुख खाद्यबाली धान हो ।

धान दिवस मनाइँदै

कृषि मन्त्रालयले यो वर्ष पनि धान दिवस मनाउने तयारी गरेको छ । असार १५ गते दही चिउरा खाने दिन ललितपुरको लेले गाविस-९ मनेश्वरीमा ११ औं राष्ट्रिय धान दिवस मनाउन लागिएको बाली संरक्षण विभागका बरिष्ठ बाली विकास अधिकृत भोलाराज सापकोटाले बताए ।

यो वर्ष ‘धान खेतीमा आधुनिकीकरण, खाद्यान्न आयातमा न्यूनीकरण’ मूल नाराका साथ धान दिवस मनाउन लागिएको हो । ‘धान खेतिलाई आधुनिकीकरण गरेर विदेशबाट हुने धानको निर्यातलाई रोक्ने पहलका साथ यो वर्ष धान दिवस मनाउन लागेका हौ’, सापकोटाले भने, ‘परम्परागत खेति प्रणालीमा सुधार गर्न सके खाद्यान्नमा नेपाल आत्मनिर्भर हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment