+
+

वैद्य संविधानसभामा नजाने, प्रचण्डले नछाड्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १४ गते १५:०२

mao 5 party  (1)

१४ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूहरु संविधानसभाबाट बाहिरिने र वैद्य माओवादी संविधानसभामा सहभागी हुने ढंगले कुरा नबुझिदिन पत्रकारहरुसँग आग्रह गरेका छन् ।

नयाँ बानेश्वरस्थित हिरा पार्टी प्यालेसमा शनिबार पाँचवटा कम्युनिष्ट पार्टीको कार्यगत एकताको घोषणा गर्दै प्रचण्डले संविधानसभा भित्र र बाहिर दुबै ठाउँबाट संघर्ष गर्ने सहमति भएको स्पष्ट पारेका छन् ।

‘यो कार्यगत एकता संविधानसभाभित्र भएकालाई बाहिर ल्याउनको निम्ति र संविधानसभा बाहिर भएकालाई भित्र ल्याउनका निम्ति भएको होइन’ प्रचण्डले भने-‘जो जहाँ भए पनि जनताको पक्षमा संविधान बनाउनका निम्ति, ऐतिहासिक आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्नका निम्ति गरिएको कार्यगत एकता हो, पत्रकार मित्रहरुले यसलाई त्यही रुपमा बुझ्न जरुरी छ ।’

विभाजित हुँदा हाम्रो हैसियत के भयो ?

एमाओवादी अध्यक्ष प्रचण्डले विगतमा पार्टी विभाजित हुँदा ‘प्रतिक्रियावादीहरु’ हावी भएको भन्दै त्यसको जिम्मेवारी आफूले लिने बताए । ‘पार्टी विभापिजत हुँदा कसरी प्रतिक्रियावादी र यथास्थितिवादी शक्ति हावी हुँदारहेछन् भन्ने कुरा गत कालका घटनाबाट हामीले भोग्यौं,’ प्रचण्डले भने- ‘हामी एकतावद्ध भएर निर्वाचनमा जाँदा हाम्रो हैसियत के थियो, र हामी विभाजित भएर जाँदा हाम्रो हैसियत के भयो ?’

प्रचण्डले अगाडि भने-मैले धेरैपटक भनेको छु, त्यतिबेलाको पार्टीको प्रमुख नेता हुनुको नाताले म त्यसको हिस्सेदारी लिन चाहन्छु ।

संविधान निर्माणमा जोड

तत्कालको आवश्यकता जनताको पक्षमा संविधान बनाउने हो भन्दै प्रचण्डले यसमा संविधानसभामा रहेका मधेसवादी दलहरु लगायत एजेन्डा मिल्नेसँग सहकार्य गरेर अघि बढ्ने बताए । सडकबाट पनि जनताको पक्षमा संविधान सुनिश्चित गर्न पहल गरिने बताए ।

संविधानसभा बाहिर रहेका दलहरुसँग सर्वपक्षीय सम्मेलन गर्नेबारे अमेरिका जानुअघि प्रधानमन्त्री सुशील कोइरालाले सहमति जनाएको भन्दै प्रचण्डले यसमा कांग्रेस र एमाले पनि सैद्धान्तिकरुपमा सहमति भइसकेको दाबी गरे ।

तत्काल पार्टी एकता हुँदैन : वैद्य

कार्यक्रममा सहभागी नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादीहरुवीच तत्काल पार्टी एकताको सम्भावना नरहेको बताए । तत्काल पार्टी एकता सम्भव नभए पनि मिल्न सक्ने विषयहरुमा कार्यगत एकता गरेर अघि बढ्ने बताए ।

प्रचण्डले जस्तै वैद्यले पनि संविधानसभाभित्र र बाहिर दुबै ठाउँबाट जनताको पक्षमा संविधान बनाउन संघर्ष गर्ने बताए ।

माओवादी कार्यकर्तामा उसाह

पाँच पार्टीहरुको कार्यगत एकता घोषणाका लागि आयोजना गरिएको पत्रिकार सम्मेलनमा कार्यकर्ताहरुको खचाखच उपस्थिति थियो । कार्यक्रममा डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द विप्लवलगायत दुबै माओवादीका शीर्षनेताहरुको सहभागिता थियो ।

कार्यक्रममा एमाओवादीका अध्यक्ष प्रचण्ड, माओवादीका अध्यक्ष मोहन वैद्य, अर्को माओवादीका अध्यक्ष मात्रिका यादव, क्रान्तिकारी कम्युनिष्ट पार्टीका मणि थापा र नेकपा एकीकृेतका महासचिव परि थापालद्वारा हस्ताक्षरित अवधारणापत्र सार्वजनिक गरिएको छ ।

कार्यगत एकता घोषणा कार्यक्रममा पाँचैजना शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?