Comments Add Comment

लामो दुरीको बसमा दुई चालक अनिवार्य, नराखे कारबाही

new buspark (14)

२५ भदौ, काठमाडौं । सरकारले दशैंमा उपत्यका बाहिर जाने यात्रुहरुको चापलाई ध्यानमा राखेर सवारी व्यवस्थापनमा विशेष ध्यान दिने भएको छ ।

सवारी साधन तथा हवाई सेवालाई भरपर्दो, व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन प्रधानमन्त्री कार्यालयका सचिव शान्ताराज सुवेदीले सम्बद्ध पक्षहरुलाई निर्देशन दिइसकेका छन् । यात्रुहरुलाई सहज रुपमा टिकट उपलब्ध गराउन, सुरक्षित यातयात गराउन एवं यातायातको प्रभावकारी अनुगमन गर्न उनले जोड दिएका छन् ।

सचिव सुवेदीले यातायात व्यवस्था मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक महाशाखा, यातायात व्यवसायी राष्ट्रिय महासंघ, वायुसेवा सञ्चालक संघ र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरुलाई बोलाएर आवतजावतलाई सहज बनाउन निर्देशन दिएका हुन् ।

यस्तो छ सचिव सुवेदीको निर्देशन
–    यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुबीच भएको सहमति अनुरुप भाद्र २५ गते विहान ७ बजेदेखि मात्र अग्रिम टिकट बुकिङ्ग खुला गर्ने।

–    सिट क्षमता भन्दा बढी टिकट नकाट्ने, एउटै सिटमा २ वटा टिकट बुकिङ्ग नगर्ने, यस्तो भएको भए पहिलो खरिदकर्तालाई सिट उपलब्ध गराउने र दोहोरो टिकट काट्नेलाई कारवाही गर्ने । महिला र अपाङ्गता भएका व्यक्तिहरुको लागि सुरक्षित सिटमा अन्यलाई यात्रा नगराउने ।

–    ६ घण्टा भन्दा लामो रुटमा चल्ने सवारी साधनमा अनिवार्य रुपमा २ जना चालकको व्यवस्था गर्ने । सबै यात्रुहरुको विवरण र २ जना चालकको नाम सहितको चलानी विवरण तीन प्रति बनाउने र एक प्रति ट्राफिक प्रहरीलाई उपलब्ध गराउने ।

–    टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउने, सबै टिकट काउन्टरबाटै विक्री गर्ने, विचौलियालाई प्रवेश नदिने एवं सिट क्षमताभन्दा बढी यात्रु नराख्ने ।

–    यात्रुहरुलाई टिकट खरिद, सवारी साधन आवागमन एवं सवारी छुट्ने स्थान र समयको जानकारी दिन उपत्यका भित्र र बाहिर यातायात व्यवस्था विभागले सहायता कक्ष ९ज्भउि म्भकप० स्थापना गरी यात्रुहरुलाई सहयोग पुर्याउने।

–    यात्रुहरुको बढ्दो संख्या अनुरुप थप सवारी साधनहरु समेत सञ्चालनमा ल्याउने ।

–    नेपाल प्रहरी र ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र पार्किङ्ग, जाम व्यवस्थापन एवं यात्रु चढ्ने, ओराल्ने लगायतका कार्यमा प्रत्यक्ष निगरानी राखी सवारीको व्यवस्थापन गर्ने । नागढुङ्गामा ट्राफिक प्रहरीले थप जनशक्ति परिचालन गरी सवारीको प्रभावकारी व्यवस्थापन गर्ने । यस बारे सञ्चार माध्यमहरुबाट समेत प्रचार प्रसार गर्ने ।

–    सवारी साधनको गति, चालकले मदिरा सेवन गरे नगरेको, २ वटा चालक राखे नराखेको, सिट क्षमता भन्दा बढी यात्रु राखे नराखेको जस्ता बिषयहरुको यातायात व्यवसायीहरुको प्रतिनिधि समेत समावेश गरी नियमित तथा छड्के अनुगमन गर्ने ।

–    सुरक्षित यातायातको लागि आवश्यक पर्ने सबै किसिमका उपायहरु अवलम्वन गरी दुर्घटना लगायतका कुनैपनि घट्ना हुन नदिने ।

–    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संभावित दुर्घटनामा घाइते हुनेहरुको तत्कालै उपचारको लागि अस्पताल र चौकीहरुकमा उच्च प्राथमिकताका साथ प्रवन्ध मिलाउने ।

–    हवाईयात्रातर्फ समेत यात्रुहरुले सहज रुपमा हवाई टिकट पाउने गरी टिकट विक्रीको व्यवस्था मिलाउने । दुर्गम तथा पहाडी जिल्लाहरुमा थप उडान सञ्चालन गर्ने ।

–    राष्ट्रिय राजमार्ग तथा मूल सडकहरुको नियमित मर्मत संभार गर्ने, सडकमा भएका खाल्डा तथा विग्रे भत्केका स्थानहरुको सडक विभागले दशैं अगावै उच्च प्राथमिकताका साथ मर्मतसंभार गर्ने ।

–    यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन र समन्वयकारी भूमिका निर्वाह गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वामा गठित समितिले यस बिषयमा आइपर्ने समस्याहरु समाधान गर्ने, बाधा अड्काउ फुकाउने लगायतका कार्यहरु गरी यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment