Comments Add Comment

पिताको शव नउठाउने नूरप्रसाद अधिकारीको घोषणा

६ असोज, काठमाडौं । अनशनका क्रममा वीर अस्पतालमा सोमबार साँझ निधन भएका नन्दप्रसाद अधिकारीको शव नउठाउने छोरा नूरप्रसाद अधिकारीले घोषणा गरेका छन् । पिताको निधनको खबर सुने पनि उनी अस्पतालमा गएका छैनन् ।

तस्वीरः सुबोधराज प्याकुरेल
नूरप्रसादका बाबु नन्दप्रसाद अधिकारी । तस्वीरः सुबोधराज प्याकुरेल

‘मलाई यस अघि पनि अस्पतालमा जान दिइएन, अब पनि जान्न,’ नूरप्रसादले अनलाइनखबरसँग भने- ‘हाम्रोतर्फबाट शव उठ्दैन, माओवादीलाई जेल नहालेर राज्यले मारेको हो, उसैले जे गर्छ गरोस् ।’ पिताको अनसन तोडाउन मानवअधिकारकर्मीले आग्रह गर्दासमेत नमानी सम्पर्कविहीन भएका नूरप्रसादले सोमबार पिताको निधनपछि भने, ‘शव कुनै हालतमा उठ्दैन, उठ्यो भने सुशील कोइराला, प्रचण्ड र बाबुराम तीनैजनाको एकैचोटि उठ्छ ।’

केही महिना पहिले आमाबुबाको अनशन तोडाउन आग्रह गर्ने मानवअधिकारकर्मीलाई नै पेस्तोल ताकेका नूरप्रसादले अनलाइनखबरसँग भने- ‘हामी अब हतियारको व्यवस्था गर्दैछौं ।’
अधिकारी परिवार निकटस्थ स्रोतका अनुसार छोरा नूरप्रसाद अधिकारी ७ महिनादेखि वीर अस्पतालमा आमाबुबालाई भेट्न गएका थिएनन् । सोमबार मोबाइलमा सम्पर्क गरी बोलाउँदा उनले कुनै हालतमा आउँदिन भन्ने जवाफ दिएका छन् ।
माओवादीद्वारा चितवनमा ०६१ सालमा मारिएका कान्छा छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै गोरखा फुजेलका अधिकारी दम्पत्ति लामो समयदेखि वीर अस्पतालमा अनशनरत थिए ।

पति नन्दप्रसादको निधन भए पनि पत्नी गंगामाया वीरअस्पतालमै चिन्ताजनक स्थितिमा अनसनरत छिन् ।
पछिल्लो समय मानवअधिकारकर्मीहरुको टोलीले अधिकारी दम्पत्तिलाई अनशन तोडाउन निकै जोड गरेको थियो । सरकारले पनि उनीहरुलाई पुनस्थापनाको प्रवन्ध गर्ने बताएको थियो । हत्याको अभियोग लागेका माओवादी कार्यकर्ताहरुलाई पक्राऊ गरी मुद्दासमेत चलाइएको थियो ।

तर, जेठा छोरा नूरप्रसाद अधिकारीले आमाबुबाको अनशन तोडाउन मानवअधिकारकर्मीले गरेको आग्रहलाई ठाडै अस्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment