८ असोज, काठमाडौं । गणतन्त्र नेपालका उपराष्ट्र्रपति जनवादी गणतन्त्र चीनको भ्रमणमा निस्कँदा बुधवार विहान करीव एक घण्टा अघोषित कर्फ्यूको दृष्य सडकमा देखियो ।
चीन भ्रमणमा निस्किएका उपराष्ट्रपति परमानन्द झाको ‘सवारी’ तत्कालिन राजा महाराजाको भन्दा कुनै पनि अर्थमा फरक थिएन । अझ उपराष्ट्रपतिलाई विदाई गरेर फर्किएका कार्यवाहक प्रधानमन्त्री बामदेव गौतम फर्किँदा समेत सडक खाली गराएपछि काठमाडौं उपत्यकाको कार्यालय समयको सवारी आवागमन अस्तव्यस्त बन्न पुग्यो ।
उपराष्ट्रपतिको सवारीका कारण लाजिम्पाटदेखि रातोपुल गौशाला क्षेत्रको सडक खाली गराउँदा चाबहिलदेखि पूरानो बानेश्वरसम्मको ट्राफिक अस्तव्यस्त थियो ।
उपराष्ट्रपतिलाई विदाई गरेर फर्किएका कार्यवाहक प्रधानन्त्री गौतम मन्त्री निवास पुल्चोक नपुन्जेल विमानस्थललदेखि सिनामंगल, तिनकुने, मीनभवन, बानेश्वर, माइतीघर सडक पूरै खाली गराइएको थियो ।
कार्यालय समयमा हजारौं सवारी साधन मूल सडक जोडिने सहायक सडकहरुमा रोकिएपछि राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त थियो । करीव आधा घण्टादेखिनै ट्राफिक प्रहरीले सडक क्लियर गर्न थालेपछि हजारौं सवारी साधन र यात्रु अलपत्र परेका थिए ।
प्रहरीले सर्वसाधारणलाई पैदल यात्रामा समेत अवरोध सिर्जना गरेपछि उनीहरु आक्रोशित बनेका थिए । एक घण्टा बढि सवारी जाम पारेर रोकिएपछि गन्तव्यमा जान नपाएका सवारी चालकहरुले हर्न बजाएर बिरोध जनाएका थिए । ट्राफिक प्रहरीले बिजुलीबजारमा हर्न बजाएर बिरोध जनाउने केही मोटरसाइकलको चाबी खोसेका थिए ।
माथिको आदेश होः ट्राफिक डीआइजी
यसैबीच महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले उपराष्ट्रपतिको औपचारिक चीन भ्रमण भएका कारण सरकारको नीति अनुसार नै सडक खाली गराइएको बताएका छन् ।
अधिकारीले अनलाइनखबरसँग भने-‘हामीले त माथिको आदेश अनुसार गर्ने हो, उपराष्ट्रपतिज्यूको औपचारिक भ्रमण भएकाले सडक खाली गराइएको हो । केहीबेर यातायात व्यवस्थापनमा समस्या भयो ।’ उनले कार्यवाहक प्रधानमन्त्री विमानस्थलबाट फर्किँदा पनि आदेश अनुसारनै सडक खाली गराइएको प्रतिक्रिया दिए ।
उनले केहीबेर मात्र ट्राफिक व्यवस्थामा समस्या आएको दावी गरे पनि चाबहिलदेखि पुल्चोकसम्मको सवारी आवागमन दुई घण्टा प्रभावित बन्यो ।
प्रतिक्रिया 4